बारपाकदेखि बाजुरासम्म

बारपाकदेखि बाजुरासम्म

काठमाडौं: वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकको आफ्नै उमेरका साथीहरूको अनुभव सुन्दा बाजुराका बालबालिकाका लागि पनि एउटा ठूलो सिकाइ भयो । मंसिर ११ गते युनिसेफको आयोजनामा भएको भिडियो कन्फ्रेन्स 'बारपाकदेखि बाजुरासम्म'ले करिब हजार किलोमिटरको दूरीमा रहेका बाजुराका बालबालिकाले भूकम्पसम्बन्धी धेरै जीवनोपयोगी जानकारी पाए ।

आफ्नो गाउँठाउँको परिचयपछि उनीहरूबीच भएको कुराकानीले भविष्यमा कुनै ठूलो भूकम्प आइहाले यसबाट कसरी सुरक्षित हुने र विपत्तिपछिको अवस्थामा जीवनलाई कसरी सहज बनाउने भन्नेबारेमा बालबालिकाले ज्ञान बटुले ।

'भूकम्पपछि बारपाकका बालिकाले के कस्तो समस्या भोग्नु पर्‌यो ? ' बाजुराबाट प्रियंका तिमिल्सेनाले सोधेकी प्रश्नमा बारपाकबाट उनकै हाराहारीको उमेरकी सपना घलेले यस्तो जवाफ दिइन्, 'भूकम्पपछि सबैजना एकै पालमुनि बस्नुपर्ने भएकाले समस्या आएको थियो । विशेषगरी महिनावारी भएको बेला र कपडा फेर्नुपर्ने बेलामा गाह्रो भयो । महिनावारीको बेलामा प्रयोग गर्ने सेनेटरी प्याडको व्यवस्थापन गर्न पनि धेरै समस्या भयो ।'

भूकम्पलगत्तै बारपाकमा बस्ने ठाउँ र खानेकुराको अवस्था कस्तो थियो भन्ने जान्न मन लागेको थियो बाजुराका धेरै बालबालिकालाई । बारपाककी सपना गुरुङले सबैका ती जिज्ञासालाई यसरी मेटाउने प्रयास गरिन्, 'यहाँका धेरै घर ढुंगा र माटोले बनेकाले भूकम्पमा परी ती सबै भत्किए । यसले गर्दा यहाँका मानिस अस्थायी पालमा वा घरमा बस्नु पर्‌यो । धेरै बालबालिकालाई यस्तो वातावरणमा निदाउन पनि डर लाग्थ्यो । भूकम्पपछि हामीलाई चाउचाउ, बिस्कुटजस्ता जंक फुड राहतका रूपमा दिइयो । यो खाएर हामीहरूमध्ये धेरैजना बिरामी पनि पर्‌यौं ।'

आफूहरूले त्यति बेला भोगेका पीडालाई अझै खुलाउँदै उनले भनिन्, 'परिवारसँगै एउटै कोठाभित्र बस्दा आफ्नो बुवा र दाजुभाइका अगाडि कपडा फेर्न पनि समस्या त भयो नै, पढाइमा पनि त्यति ध्यान दिन सकिएन । बिजुलीको समस्याका कारण विद्यालय खुलेपछि पनि होमवर्क गर्न गाह्रो भयो ।'

भूकम्पका बेला बारपाकमा घरसहित विभिन्न संरचना भत्किए । धेरैले ज्यान पनि गुमाए र बारपाकीहरूको दैनिकी पूर्ण रूपमा खल्बलियो । यस्तो भयावह अवस्थाबाट आफूले सिकेका कुरा बारपाककी जस्मिना घलेले बाजुराका साथीहरूलाई यसरी सुनाइन् ,'भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ । आपत्कालीन अवस्थाका लागि आवश्यक खानेकुरा, टर्च, पाललगायतका सामान भएको झटपटे झोला राख्नुपर्छ । भूकम्प जानासाथ खुला स्थानमा जानुपर्छ । एक्लै बसेमा चिन्ता र पिर पर्नसक्छ । त्यसैले परिवारसँगै बस्नुपर्छ । जंक फुड सकेसम्म खानु हुँदैन । बिरामी पर्न सकिने हुनाले खानासँगै पिउने पानीमा पनि ध्यान दिनुपर्छ ।'

भूकम्पका बारेमा बाजुराका साथीहरूलाई धेरै कुरा बताइसकेका बारपाकका बालबालिकाले भने कुनै न कुनै माध्यमबाट छाउपडीका बारेमा सुनेका थिए । बारपाकका साथीहरूको त्यो जिज्ञासा मेटाउँदै बाजुराबाट सन्तोषी रावलले भनिन्, 'छाउपडी महिलालाई महिनावारीको बेलामा घरबाट टाढा राख्ने चलन हो । महिनावारी भएको बेला घरमा बसेमा देवीदेउता रिसाउने डरले घरभन्दा बाहिर राख्ने चलन चलेको थियो । उनीहरूलाई घर, मन्दिर, विद्यालय, पानीको धारामा जान दिइँदैनथ्यो । अहिले बालक्लब, सरकारी निकाय र विभिन्न संस्थाले ल्याएको सचेतना कार्यक्रमले छाउपडी प्रथा हट्दै गइरहेको छ ।'
बालबालिकाका संवादले कार्यक्रममा उपस्थित अन्य व्यक्तित्व पनि निकै प्रभावित भएका थिए । गोर्खाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यस्ता खालका छलफल विद्यालय विद्यालयबीच र जिल्ला जिल्लाबीच नै गराउँदा अझै बढी प्रभावकारी हुने सुझाव दिए ।

त्यसैगरी बाजुराकै कार्यक्रममा सहभागी त्यहाँको जिल्ला शिक्षा कार्यालयका उपप्रमुख धर्मराज जैसीले बालबालिकाले आफूले सिकेका कुरा अन्य साथीहरू र परिवारमा पनि बाँड्ने भएकाले निकै लाभदायक हुने प्रतिक्रिया दिए । सबै बालबालिकालाई एकै ठाउँमा भेला गर्न गाह्रो हुने भएकाले एकातिरको सिकाइ अर्कोतिर सजिलो तरिकाबाट बुझाउने र उनीहरूमार्फत विद्यालय र परिवारसम्म पुर्‌याउने कार्यक्रमको उद्देश्य रहेको युनिसेफकी सञ्चार व्यवस्थापक रूपा जोशीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.