‘जनताको भावना लत्याएर संविधान संशोधन गरिए सशक्त आन्दोलन गर्छौं’
काठमाडौंः नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानु उत्तम हुने बताएका छन्। उनले अहिले उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्न संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर मुलुकलाई निर्वाचनतर्फ लैजानु पर्ने बताएका हुन्।
आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाको दिनमा सपथ खाएको कुरालाई बिर्सेको आरोप लगाए। उनले भने,‘उहाँले भन्नु भएको थियो, म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर प्रधानमन्त्री बनेको पछिल्ले दिन देखि संविधान संशोधन गर्न तर्फ अग्रसर हुनुभयो, सात दशक देखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन।’
नेता पौडेलले भने,‘अधिकांश सांसदहरूको असहमतिकाबीच सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउनु भनेको असफल सावित हुनु हो। संविधानको कार्यन्वयन नै अहिलेको मुख्य आवश्यकता हो।’ उनले पाँच नम्बर प्रदेशका जनताको भावनालाई लत्याएर संशोधन प्रस्ताव अघि बढाइए एमालले संसदमा कडा प्रतिवाद गर्ने र प्रस्ताव पारित हुन नदिन जुनसुकै कदम चाल्न तयार रहेको बताए।
पौडेलले भने,‘ संविधान संशोधन होइन संविधान कार्यान्वयनमा जानुको विकल्प छैन। एमाले चुनावको लागि तयार छ, सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरोस्, २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक जटिलतालाई सरकार र राजनीतिक दलहरूले मध्यनजर गर्नुपर्छ।’