‘ट्रम्पको विजयीले नेपाललाई नकारात्मक असर गर्दैन’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे चासो राखेका छन्। नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिससँग सोमबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो चासो राखेका हुन्।
जवाफमा राजदूत टेप्लिसले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने बताएकी थिइन्। उनले अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकाले गर्दै आएको सहयोग जारी राख्ने बताएकी थिइन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको बताएका थिए। प्रधानमन्त्री प्रचण्डले सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने समेत विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताएको उनको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री र राजदूत टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय र व्यवस्थापनबारे कुराकानी भएको थियो।