धुर्मुस सुन्तलीलाई पहिरोको पिरलो
रसुवाः बालमैत्री देश निर्माणको अभियान लिएर देश दौडाहामा रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई रसुवास्थित हाकुको पहिरोले पिरलेको छ । बालमैत्री चलचित्र ‘ज्योति' प्रदर्शनका लागि रसुवाको धुन्चे पुगेका उनीहरूलाई स्थानीय पत्रकारले हाकु र डाँडागाउँवासीको पहिरो पीडाबारे बताएपछि विस्थापित परिवारसँग भेटे । धुन्चे पुगेका धुर्मुस सुन्तलीले हाकुबाट विस्थापित भएकालाई प्रत्यक्ष रूपमा भेटेर उनीहरूको पीडाका बारे बुझेका छन् ।
भूकम्पपछि पहिरोका कारण विस्थापित सात सय बढी परिवारको अहिलेसम्म पुनस्र्थापना हुन नसकेको स्थानीयवासीले बताए । गुठीको जग्गा भएले लालपुर्जासमेत नभएकाले भूकम्पपीडितले राहत रकम पाउन मुस्किल परेको गुनासो हाकुवासीले गरे । एक वर्षसम्म विभिन्न संघसंस्थाले खाद्यान्न उपलब्ध गराएकाले सजिलो भए पनि अहिले समस्या भएको छ ।
सरकारले निर्धक्कसाथ टाउको लुकाउने बासको व्यवस्था गर्न जग्गा उपलब्ध गराएमा परि श्रम गरेर जीविका चलाउने भूकम्प एवं पहिरो प्रभावित दोर्जे विन्जोको योजना छ । ‘घर छ, जग्गा छ हेर्दा माया लाग्छ तर पहिरोको डरले धुन्चेको डाँडाबाट घरबारी हेरेर बस्नुपर्ने बाध्यता छ', भावुक हुँदै दोर्जेले धुर्मुसलाई सुनाए ।
जीविकोपार्जनका बारेमा धुर्मुसले जिज्ञासा राख्दा पहिरो प्रभावित दोर्जेले ज्याला मजदुरी गरेर परिवार पालिरहेको दुखेसो पोखे । ‘खान त दैनिक काम गरेर पनि जोहो गरिरहेका छौं, सुरक्षित ठाउँमा जग्गा नहुँदा सुकुमबासी बन्नु परेको छ', नले भने ।
हाकुवासीको समस्या सुनेपछि धुर्मुसले समस्यालाई सरोकारवाला निकायसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् । कुञ्जना घिमिरेले हाकु र डाडाँगाउँका भूकम्प र पहिरोबाट विस्थापित भएकालाई कुनै सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर राख्न सकिने सम्भावना औंल्याएकी छन् । धुर्मुस सुन्तली फाउन्डेसन पीडितको पीडामा मल्हम लगाउने कार्यमा सम्बन्धित निकायलाई घच्घचाएर अघि बढ्ने आश्वासन उनीहरूले दिए ।