१६ किलोको माला लगाएर प्रधानमन्त्री प्रचण्डले भनेः संशोधन प्रस्ताव फिर्ता हुँदैन
धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संशोधन विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि बुधबार धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले उद्घाटन गरेपछि ११ औँ सुदूरपश्चिम महोत्सव बुधबारदेखी धनगढीमा सुरु भएको छ । महोत्सव उद्घाटनपछि प्रचण्डलाई आयोजकले १६ मागसहित १६ किलोको माला लगाइदिएका छन् । केही वर्ष अघि महोत्सवको उद्घाटन गर्दा उनलाई २२ मागसहितको २२ किलोको मालाको भारी बोकाइएको थियो । उनले १६ किलोको माला लगाउँदै अबको एक वर्ष आफू प्रधानमन्त्री भए सुदूरपश्चिमका सबै माग पूरा गर्ने दाबी गरे ।
महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले संविधान संशोधन विरुद्ध सडक तताइरहेको एमालेविरुद्ध आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे, ‘केपी ओलीले गरेको त्यही प्रस्ताव राष्ट्रवादी हुने तर, हामीले दर्ता गर्दा कसरी राष्ट्रघात भयो ?’ प्रधानमन्त्रीले आफू मधेसी, जनजाती, थारु सबैलाई मिलाएर लैजाने र सबैलाई संविधानको अपनत्व ग्रहण गराउने संकल्पमा लागेको दाबी गरे । ‘नेपाली कांग्रेस र एमालेले हिजोका दिनमा जे प्रस्ताव गरेको थियो, मैले त्यसैको वरिपरि रहेर संसोधन प्रस्ताव दर्ता गरेको हुँ त्यसमा केही हेरफेर गर्न सकिन्छ तर फिर्ता भने हुँदैन’, उनले भने ।
उनले सबैलाई संविधानको स्वामित्व ग्रहण गराउँदै तीन वटै निर्वाचन गरेर संविधान कार्यान्वयमा जानुपर्ने समय भएको बताउदै भने, ‘सडकमा उर्लेर जनतालाई दुख दिनुभन्दा हातेमालो गरेर अघी बढ्न सबैलाई आग्रह गर्दछु ।’
सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै दाहालले भने, ‘अब विकासको सुरुवात सुदूरपश्चिमबाट हुन्छ ।’ बजेट भाषण गरेजस्तै सुदूरपश्चिममा औद्योगिक क्षेत्रका लागि करमा छुट दिने, सहुलीयत दरको विजुली दिने, कैलालीको हरैयामा विषेश औद्योगिक क्षेत्र बनाउने, भारतसँगको गौरीफन्टा नाकाको स्तरोन्नती गर्ने आश्वासन दिएका छन् ।
कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको काम अघि बढाउने, चमेलीयाको निर्माण निर्धारित समयमै सक्ने, जडिबुडी प्रशोधन केन्द्र तथा खप्तड रामारोसनको पर्यटकीय विकास गर्ने पनि दाबी गरे । पश्चिम सेतीका लागि चीनको एक कम्पनीसँग कुराकानी अघि बढिरहेको बताउदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती बनेमा सुदूरपश्चिम मात्रै नभएर देश नै लोडसेडिङ मुक्त हुने बताए ।
प्रधानमन्त्री धनगढी पुग्दा विरोध प्रदर्शन
प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो दुई बजे धनगढी नजिकै रहेको नेपाली सेनाको बोराडाँडी ब्यारेकमा पुग्दा धनगढी बजार बन्द थियो । प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलले प्रधानमन्त्रीले दर्ता गराएको संसोधन प्रस्तावको विरोधमा बुधबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म धनगढी बजार बन्दको घोषणा गरेका हुन् ।
एमाले, जनमोर्चासहितका दलले गरेको बन्दका कारण धनगढीको मुख्य बजारमा पसल बन्द थिए भने बजार क्षेत्रमा सवारी साधन समेत चलेका थिएनन् । यसरी बन्द गराउदै हिडेका एमाले र जनमोर्चाका ३६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
टायर बालेर प्रधानमन्त्रीलाई सुदूरपश्चिम महोत्सवस्थलमा जान रोक्ने क्रमममा प्रदर्शनकारीलाई बल प्रयोग गर्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी, जिल्ला सचिव रणबहादुर चन्द, जिल्ला सचिवालय सदस्य यज्ञराज बास्तोला, युवासंघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मी, अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणी भट्टसहितका ३६ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रकाउ परेका नेता तथा कार्यकर्तालाई प्रहरीले बुधबार साँझ रिहा गरेको छ ।