आमा मार्ने छोराबुहारीलाई सर्वस्वसहित जन्मकैद

आमा मार्ने छोराबुहारीलाई सर्वस्वसहित जन्मकैद

जाजरकोटः जाजरकोटमा आमाको हत्या गर्ने एक दम्पतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ । सक्ला १ लैखमका बुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटले सर्वस्वसहित जन्मकैद सजाय गरेको हो । जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले मुलुकी ऐनअनुसार हत्यामा संलग्न दुवैजनालाई सर्वस्वसहित २० वर्ष ६ महिना जेलसजाय तोकेको हो ।

देउमीका श्रीमान् लगवीर खत्री र जेठा छोराबुहारीको मृत्यु भइसकेको छ । देउमी जेठा छोराका दुई छोराछोरी पालेर बस्दै आएकी थिइन् । उनीहरू अध्ययनका लागि जिल्लाबाहिर गएपछि एक्लै बस्दै आएकी थिइन् ।

नलसिंहगाड जलविद्युत् आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफ्नो नाउँमा नामसारी गराउन बुद्धिबहादुर र उनकी श्रीमतीले दबाब दिँदै आएका थिए ।

देउमीले जेठा छोराका छोराछोरीको सहमतिबिना जग्गा नामसारी गर्न नमानेपछि उनीहरू आमाको हत्या गर्ने योजनामा पुगेका थिए । जग्गा नामसारीका लागि श्रीमती शर्मिलाले कि आमालाई मार, नत्र म भीरबाट हामफालेर मर्छु भनेपछि आफूले आमाको हत्या गरेको बुद्धिबहादुरले अदालतको बयानमा स्वीकार गरेका थिए । आमाको हत्यापछि उनीहरूले घरनजिकैको बारीमा शव गाडेका थिए ।


प्रहरीका अनुसार सुतिरहेकी आमालाई बुद्धिबहादुरले बन्चरोले टाउकोमा हिर्काएका थिए । ‘एउटामात्र चोटले मरेकी छैनन् कि जस्तो छ’, बुद्धिबहादुरले अर्काेपटक हान्न खोज्दै भनेका थिए । फेरि घाँटीमा जोडले हिर्काएर आमालाई मारेपछि दुवै लोग्नेस्वास्नी मिलेर घिसार्दै नजिकैको मकैबारीमा एक दिनअघि खनेको खाल्डोमा गाडेका थिए ।

अरूले थाहा पाउलान् भनेर बुद्धिबहादुरका श्रीमान् श्रीमतीले शव गाडेको ठाउँमाथि पीपलको बेर्ना पनि रोपे । गत साउन २२ गते आमालाई मारेर मकैबारीमा गाडेका बुद्धिबहादुरले २३ गते बिहान गाउँभरि आमा घरबाट हराएको हल्ला चलाएका थिए । आमा खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन पनि दिएका थिए ।

देउमीका भतिजा हरिबहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटना भएको तीन सातापछि प्रहरीले दुवै श्रीमान् श्रीमतीलाई पक्राउ गरेको थियो । अहिले बुद्धिबहादुर जाजरकोट कारागारमा छन् भने शर्मिला साढे दुई वर्षको छोराको साथमा बर्दिया कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर बोहराले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.