संशोधन प्रस्ताव एमालेकै सहमतिमा पारित हुन्छः यादव
काठमाडौंः सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव सके एमालेको सहमतिमा नभए दुई तिहाइले पारित हुने दाबी गरेका छन्।
उनले संशोधन प्रस्ताव राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै यसलाई पारित गरेर संविधान कार्यान्वयनमा जानुपर्ने बताए। रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा यादवले संविधानलाई सर्वस्विकार्यताको लागि सरकारले संशोधन प्रस्ताव ल्याएको बताए। उनले भने,‘एमालेले ठूलो बबण्डर मच्चायो, लहैलहैमा लागेर मुलुकमा द्वन्द्व निम्त्याउने काम कसैले गर्नुहुँदैन।’
प्रदेशको सीमांकन हेरफेरलाई राष्ट्रियतासँग जोड्ने काम गर्न नहुने भन्दै यादवले भने,‘एमालेले राष्ट्रियतालाई विवादमा पारेको छ।’ उनले एमालेले संशोधन प्रस्तावको विपक्षमा आवाज उठाएर चुनावी प्रचार प्रसार गरिरहेको समेत आरोप लगाए।
उनले भारतलाई गाली गरेर आनन्द लिने लघुतावास नेपालमा देखिएको भन्दै राष्ट्रियताको सवालमा पहाड र मधेस भनेर गलत प्रचार गर्ने काम कसैले गर्न नहुने बताए।