गरिब जनताका अर्बपति गृहमन्त्रीः सुनमात्र ६० तोला
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका गृहमन्त्री बिमलेन्द्र निधि अर्बपति भएको खुलासा भएको छ । सरकार गठनको ३५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि चार महिनापछि सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री निधिको सम्पत्ति अबौँ देखिएको छ।
निधिसँग ६० तोला सुन र एक सय ५० तोला चाँदी छ । उक्त सम्पत्ति दाइजोबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । निधिले नगद रुपैयाँ १० लाख ९६ हजार आठ सय २५ रुपैयाँ रहेको उल्लेख गरेका छन् ।
जग्गाको विवरणमा भने निधिको भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा खरिद गरेको एक रोपनी, सोही स्थानमा १३ लाख ५० हजारमा खरिद गरेको ६ आना जग्गा भ्रमणपत्ता, पारिश्रमिकलगायतको आर्थिक स्रोतबाट किनिएको उल्लेख गरिएको छ ।
सँगै निधिको कटुञ्जेमै ३ लाख ८० हजारमा खरिद भएको तीन आना र अर्को चार आना जग्गा सम्पत्ति विवरणमा खुलाइएको छ । यसमध्ये पछिल्लो चार आनाको मूल्य भने उल्लेख छैन् ।
निधिको सम्पत्तिमा सबैभन्दा धेरै जग्गा देखिन्छ । धनुषा जिल्लाका विभिन्न स्थानमा गरेर उनको १९ विघा जग्गा रहेको उल्लेख छ । उनको बैंकमा भने २९ लाख रहेको उल्लेख छ ।
निधिले आफ्नो ऋण विवरण समेत दिएका छन् । जसमा १३ लाख रुपैयाँ उठाउन बाँकी छ । उनको नाममा खरिद भएको एउटा गाडीको मूल्य सात लाख उल्लेख गरिएको छ भने उपप्रधानमन्त्री निधिको शेयर दुई हजार एक सय ६० कित्ता भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।