इटालीका नयाँ प्रधानमन्त्रीले तल्लो सदनमा विश्वासको मत जिते
रोमः इटालीको नयाँ सरकारका प्रधानमन्त्री पाओलो जेन्टिलोनीले मंगलबार संसद्को तल्लो सदनको विश्वासको मत जितेका छन् । मंगलबार भएको उक्त मतदानमा उनको पक्षमा ३ सय ६८ र विपक्षमा १ सय ५ मत परेको थियो ।
इटालीका नवनियुक्त प्रधानमन्त्री पाओलो जेन्टिलोनीले सोमबार मन्त्रिपरिषद् गठन गरेको र नवनियुक्त मन्त्रिमण्डलका सबै सदस्यहरूले सोमबार साँझ नै औपचारिक शपथ ग्रहण गसिकेका थिए । अब यस मन्त्रिमण्डलले सिनेटमा दोस्रो चरणको विश्वासको मत लिनुपर्ने र त्यसका लागि बुधबार मतदान भएको बताइएको छ ।
आफूलाई समर्थन गर्न सांसदहरू समक्ष याचना गर्दै मतदान अगाडि जेन्टिलोनीले गरेको एक सम्बोधनमा इटालीले कडा दबाव खेप्नुपरेका प्रमुख मुद्दाहरूमा इटालीको तेस्रो ठूलो ऋणदाता – मोन्टे डे पास्चि डि साइना (एमपिएस) ले सामना गर्नुपरेको आर्थिक संकट, आप्रवासी समस्या र निर्वाचन प्रणालीमा सुधार जस्ता विषयमा नयाँ सरकार केन्द्रित भई इमानदारीपूर्वक काम गर्ने बताएका थिए ।
यसका साथै कमजोर राष्ट्रिय अर्थतन्त्रको पुनः सुदृढीकरण, उच्च बेरोजगारी दरमाथि नियन्त्रण र भूकम्प प्रभावित देशके मध्यवर्ती क्षेत्रमा पुनःनिर्माणजस्ता विषयहरू पनि सरकारको प्राथमिकतामा परेको उनले बताएका छन् ।
पूर्वप्रधानमन्त्री म्याटेओ रेन्जीले राजीनामा दिएपछि जेन्टिलोनीलाई गत ७ डिसेम्बरका दिन इटालीका राष्ट्रपति म्यटारेलाले प्रधानमन्त्रीमा नियुक्त गरी नयाँ मन्त्रिमण्डल गठन गर्न लगाएका हुन् ।
नवनियुक्त ६२ वर्षीय प्रधानमन्त्री जेन्टिलोनीलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्दै सन् २०१८ को फेब्रुअरीमा संसद्ीय निर्वाचन गर्ने जिम्मेवारी समेत थपिएको छ । यसअघि उनले इटालीको परराष्ट्र मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएका थिए ।
इटालीमा संवैधानिक सुधार विषयमा गत डिसेम्बर ४ मा सम्पन्न भएको जनमत संग्रहमा रेन्जीको विपक्षमा मत परिणाम आएपछि उनले राजीनामा दिएका थिए । जेन्टिलोनीलाई निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट सहयोगीका रूपमा लिइन्छ । रेन्जी र जेन्टिलोनी दुबैजना एउटै दल (सेन्टर लेफ्ट डेमोक्र्याटिक पार्टी)का सदस्य हुन् र यस पार्टी संसद्काे सबभन्दा ठूलो पार्टीको रूपमा कार्यरत छ ।
निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट रहेका कारण रेन्जीको राजनीतिक कार्ययोजनालाई नवनियुक्त प्रधानमन्त्रीले पनि अगाडि बढाउने विश्लेषकहरूले विश्लेषण गरेका छन् । —रासस/सिन्ह्वा