मणिपुरमा कर्फ्यु इन्टरनेट सेवा बन्द
![मणिपुरमा कर्फ्यु इन्टरनेट सेवा बन्द](https://annapurnapost.prixacdn.net/media/albums/manipur-violence_-5857624a213de8.22848003_lzCQaRowXW.jpg)
इम्फाल भारतः पूर्वोत्तर भारतका विभिन्न ठाउँमा कफ्र्यु लगाइएको छ । प्रदर्शनकारीले राज्यमा आर्थिक अवरोध र सुरक्षाकर्मी मारिएपछि यस्तो निषेधाज्ञा जारी गर्नुपरेको सरकारले जानकारी दिएको छ ।
नागा क्षेत्रबाट इम्फालतर्फ आइरहेको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
उनीहरूले कैयौं गाडी जलाइदिएका छन् भने एउटा बस नदीमा धकेलिदएका छन् । शुक्रबार पनि इम्फालमा तीनवटा विस्फोट भएका थिए । सरकारले प्रभावित क्षेत्रमा सरकारले इन्टरनेट बन्द गर्ने निर्णय गरेको थियो ।
नोभेम्बर महिनादेखि नागा आदिवासी संगठनले नाकाबन्दी लगाउँदै आएका छन् । यसबाट मणिपुरमा अत्यावश्यक सामग्रीको अभाव भएको छ । औषधि, इन्धन र दैनिक उपभोग्य सामानको भाउ बढेको छ । सरकारले ७ वटा नयाँ जिल्ला बनाउने निर्णय गरेपछि नागाहरू आक्रोशित भएका छन् । सरकारी कदमको विरोधमा उनीहरूले यस्ता गतिविधि गर्दै आएका छन् ।
सरकारले आफूहरूको थलोमा नयाँ जिल्ला बनाएर आफूहरूलाई अप्ठेरोमा पार्न खोजेको नागा आदिवासीको भनाइ छ । मणिपुरका मुख्यमन्त्री ओकराम इबोबी सिंहको सरकारले नागा क्षेत्रमा सातवटा नयाँ जिल्ला बनाउने घोषणा गरेको थियो ।
यसैगरी सरकारले भारतीय रुपैयाँ ५०० र १ हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि उनीहरू आक्रामक भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शनिवार मणिपुरको नाने जिल्लामा भारतीय सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सरकारले पूर्वी इम्फालमा कफ्र्यु आदेश दिएको छ ।
यसअघि लामलोङ बजारदेखि येङ्गांगकपोकपीसम्म लगाइएको कफ्र्यु शनिबारदेखि थप क्षेत्रमा बढाइएको हो । मणिपुरका विभिन्न ठाउँमा विद्रोहीले सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका थिए । आक्रमणमा तीन सुरक्षाकर्मी मारिएका छन् भने १४ जना घाइते भएका छन् । उनीहरूले सुरक्षाकर्मीबाट कैयौं हतियार पनि लुटेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)