सर्भे भएको १८ वर्षमा पनि बनेन पुल
बैतडीः बैतडीको भारतसँग सीमा जोडिएको झुलाघाटमा महाकाली नदीमाथि पक्की पुल नबन्दा यो क्षेत्रको धार्मिक, पर्यटन, आर्थिक गतिविधि बिस्तारमा बाधा पुगेको छ । बेलाबेलामा मन्त्री र उच्च अधिकारीले झुलाघाटमा पुल निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन ।
करिब डेढ सय वर्षअघि इस्ट इन्डिया कम्पनीले नेपाल–भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो ।
कर्णालीमा यातायातको सुविधा नपुगेको समयमा सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका सर्वसाधारणको राजधानी काठमाडौं र भारत पस्ने प्रमुख नाका यही थियो । अहिले पनि यही नाका भएर दैनिक सयौं स्थानीय रोजगारीका लागि भारतका विभिन्न सहर पस्ने गरेका छन् ।
झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि तदारुकता नदेखाउँदा भारतको उत्तराखण्ड राज्यका नागरिकसमेत पीडित बनेको भारतको झुलाघाट व्यापार संघका अध्यक्ष सञ्जीव जोशीले बताए । उनले भने, ‘झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चहाना हो ।'
‘यो पुल निर्माण भए नेपालसँगको मित्रता अझ प्रगाढ हुन्छ र उत्तराखण्डको नेपालसँगको व्यापार पनि बढ्छ', उनले भने । पुल निर्माणका लागि आफूहरूले उत्तराखण्ड सरकारलाई दबाब दिएको र केन्द्रीय सरकारबाटै रोकिएको उनले बताए ।
झुलाघाट नाकामा पुल निर्माण गर्न २०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन । सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ । २०५६ सालमा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि साढे ६ करोड लाग्ने अनुमान गरिएको थियो ।
भारतसँगको सीमानाका झुलाघाटमा मोटरेबल पुल नहुँदा नेपालको सुदूर र मध्यपश्चिमको आर्थिक क्षेत्रमा बाधा पुगेको उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए । ‘सुदूरका पहाडी जिल्लामा धेरैजसो दैनिक उपभोग्य सामान झुलाघाट नाका भएर आउने गरेको छ तर यहाँ पुल नहुँदा महंगो पर्छ', उनले भने, ‘सीमानाका झुलाघाटमा पक्की पुल निर्माण भए यो क्षेत्रको आर्थिक समृद्धि हुन्छ ।'
सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय धार्मिक स्थलमा भारतको उत्तराखण्ड राज्यबाट हजारौं पर्यटक आउने गरे पनि पुल नहुँदा सास्ती खेप्नु परेको अध्यक्ष चन्दले बताए । उनले भने, ‘प्रत्येक सरकारलाई पटकपटक झुलाघाटमा महाकाली नदीमाथि मोटरेबल पुलको माग गर्न थालेको दशकौं बितिसक्यो । सबैले आश्वासन मात्र दिने गरेका छन् । पुल बन्ने छाँटकाँट अझै देखिएको छैन ।'
‘सुदूरपश्चिमको बैतडीमा मात्रै सातवटा भगवतीका । सातवटा केदारका मन्दिर छन् । ती सबै मन्दिरमा दर्शन गर्ने आउने धेरैजसो भारतीय छन् तर सीमानाका झुलाघाटमा पक्की पुल नहुँदा सबै दर्शनार्थी आउन समस्या छ', दशरथचन्द नगरपालिका त्रिपुराका स्थानीय गणेश थापाले भने, ‘भारतको सीमासँग हाम्रो रोटीबेटीको सम्बन्ध छ । त्यो सम्बन्धलाई बलियो बनाउन झुलाघाटमा मोटरेबल पुल आवश्यक छ ।'
सीमा बजार झुलाघाटसम्म सडक सुविधा पुगेको १७ वर्ष भइसके पनि मोटरेबल पक्की पुल नहुँदा आवतजावत गर्न सास्ती खेप्नु परेको छ । पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा सुदूरका बैतडी, दार्चुला, डँडेल्धुरा, बझाङलगायतका सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारतीय सहर जाने गरेका छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाकामा मोटरेबल पक्की पुल नहुँदा बिरामी लैजान समस्या हुने गरेको स्थानीयले गुनासो गरे ।
सीमानाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नुपर्ने भएपछि सामान आयात निर्यात पनि महंगोमा हुने गरेको व्यापारी बताउँछन् । प्रतिकिलो सात रुपैयाँ भाडा तिरेर भरियाबाट सामान बोक्ने गरेकाले उपभोक्तालाई बढी मूल्य पर्ने गरेको देहीमाडांैका व्यापारी मोहनबहादुर क्षेत्रीले बताए ।
पुल बनाउन भारत सरकारले पटकपटक प्रतिबद्धता जनाए पनि नेपालबाट चासो नदेखाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टको गुनासो छ । नौ वर्षअघि उद्योग वाणिज्य संघ बैतडीले पुलको माग गर्दै १० हजार हस्ताक्षर संकलन गरेर नेपाल सरकार र भारतीय राजदूतावासमा ज्ञापनपत्र दिइएको थियो । ‘भारतीय राजदूतसँग पनि यो विषयमा कुराकानी भएको र नेपालको तर्फबाट कूटनीतिक पहल भए पुल बन्ने बताएकाले यस विषयमा हाम्रै सरकारको कमजोरी छ', उनले भने ।
बैतडी आउने हरेक नेतृत्व तहका नेतालाई सीमा पुलको बारेमा गुनासो राखे पनि आश्वासन मात्रै पाइने गरेको स्थानीयको गुनासो छ । ‘आश्वासन कैयौं पटक पाइयो तर प्रक्रिया अघि बढेको छैन', गोठालापानीका व्यापारी जनकराज जोशीले भने, ‘आश्वासन मात्रै कति सुन्ने ? '
पुल निर्माणको ज्ञापनपत्र लिएर केही वर्षअघि भारतको प्रदेशीय राजधानी देहरादुन पुगेको बैतडी उद्योग वाणिज्य संघको टोलीलाई उत्तराखण्ड सरकारले पुल निर्माणका लागि ६ करोड विनियोजन गरिसकेको आश्वासन दिएको थियो तर नेपालका तर्फबाट प्रक्रिया अगाडि नबढाएको भारतीय अधिकारीले गुनासो गरेको संघका अध्यक्ष चन्दले बताए ।
सीमानाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको स्थानीय उत्पादनको बजार बिस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने स्थानीय बताउँछन् । झुलाघाटमा मोटरेबल पक्की पुल बने बैतडी भित्रिने पर्यटकको संख्या वृद्धिसँगै छिमेकी डँडेल्धुरा, डोटी, दार्चुला, बझाङलगायतका जिल्लाको पर्यटन विकासको मुख्य पूर्वाधार झुलाघाट पुल बन्न सक्ने स्थानीयको ठहर छ । झुलाघाटमा पक्की पुल बनेमा बैतडीका मन्दिर, दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, डँडेल्धुराको प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्ने भारतीय पर्यटक भित्र्याउन सकिने पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए ।
झुलाघाटमा पक्की पुल सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक विकाससँग जोडिएको विषय हो । मध्यपहाडी लोकमार्गअन्तर्गतको अन्तिम बिन्दु झुलाघाटमा पक्की पुल निर्माण गर्न सके भारतीय बजारमा थुपै्र नेपाली उत्पादन निर्यात गर्न सकिने व्यापारी चक्रदेव पाण्डेय बताउँछन् ।
पुल बनेमा बैतडीमा उत्पादित तरकारी, मह ,घिउ र चिउरीको घिउले भारतीय बजार पाउने उद्यमी इन्द्रदेव शरण भट्टले बताए । ‘यताको घिउ, तरकारी र मह भारतीय बजारमा पठाउन सके यहाँका किसानको आर्थिक अवस्थामा सुधार आउँछ । धनगढी महेन्द्रनगर पुर्याउनुभन्दा नजिकै भारतीय बजारमा बढी मूल्य पाइन्छ तर मोटरेबल पुलको अभावमा स्थानीय उत्पादन निर्यात गर्न सकिएको छैन ।'
सरकारले महाकाली नदीमाथि पुल बनाउने कुरा धेरै पहिलेदेखि बताउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले झुलाघाटमा मात्रै नभएर महाकाली नदीमाथि दार्चुलाको खलंगा र डँडेल्धुराको शीर्षमासमेत पक्की पुल निर्माणका लागि भारतसँग सैद्धान्तिक सहमति भइसकेको दाबी गरे । उनले भने, ‘झुलाघाटमा पुल निर्माणको कार्य नेपाल सरकारले मात्र चाहेर हुँदैन । यो दुई देशको सीमासँग जोडिएको पुल भएकाले भारतीय सरकारको पनि चासो छ । त्यसैले दुवै देशका बीचमा सैद्धान्तिक सहमति भएको छ । अब कार्यान्वयन हुन्छ । भनेकै समयमा नबन्ला तर बन्न चाँहि बन्छ ।'
मन्त्री लेखकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पनि झुलाघाटसहित महाकाली नदीमाथि तीन ठाउँमा पुल निर्माण गर्ने कुराले ठाउँ पाएको छ । त्यसैले अब झुलाघाटमा पुल निर्माण हुने कुरामा विश्वास गर्न उनले आग्रह गरे ।
इस्ट इन्डिया कम्पनीले डेढ सय वर्षअघि निर्माण गरेको नेपाल–भारत सिमानाका झुलाघाटको झुलुगें पुल ।अन्नपूर्ण
हाइलाइट
पुल निर्माणको ज्ञापनपत्र लिएर केही वर्षअघि भारतको प्रदेशीय राजधानी देहरादुन पुगेको बैतडी उद्योग वाणिज्य संघको टोलीलाई उत्तराखण्ड सरकारले पुल निर्माणका लागि ६ करोड विनियोजन गरिसकेको आश्वासन दिएको थियो तर नेपालका तर्फबाट प्रक्रिया अगाडि नबढाएको भारतीय अधिकारीले गुनासो गरे ।