पर्यटन प्रवर्धन गर्न 'धरानमा इलाम'
धरानः इलामका पर्यटकीय गन्तव्य र इलामका उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले शनिबार देखि 'धरानमा इलाम' कार्यक्रम शुरु भएको छ ।
इलामेली समाज धरानको आयोजनामा इलामका कृषि उपज अलैची, अदुवा, दुग्ध, किवीसहितका स्टल राखिएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेको कार्यक्रममा काङ्ग्रेस नेता कुल बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एमाले उपनेता सुवास नेम्बाङले आफ्ना मित्रहरुलाई इलाम नघुमेसम्म जीवन अपुरो बन्ने बताउने गरेको सुनाए । नेताहरुले इलाम आउन निम्तो पनि गरेका थिए । एक्लो प्रयासले केही नहुने भन्दै सामुहिक प्रयासबाट इलामका सम्भावनाको प्रचार गर्नुपर्ने उनीहरको भनाई थियो ।
स्टलमा राखिएको चियामा सुनसरी, मोरङका उपभोक्ताले चासो राखेको साखेजुङका चिया उद्यमी गोपाल दहालले जानकारी दिए । उनले भने 'बिक्रीपनि राम्रै भएको छ ।'
स्टलमा इलामका होटलहरको तस्विर, दुग्ध परिकार, चिया, अलैची, अदुवा, किवीका परिकारसमेत राखेको आयोजक समिति अध्यक्ष कृष्ण शाहले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत आइतबार साहित्यिक र व्यापारिक कार्यक्रम हुनेछन् ।
कार्यक्रममा इलामका कलाकार यम बराल, गणेश पराजुली, यसोदा पराजुली, कुवेर राई, डेनी निरौलालगायतका कलाकारको प्रस्तुती रहेको थियो ।