बढ्दो पार्लर क्रेज

बढ्दो पार्लर क्रेज

गल्कोपाखा सामाखुसी बस्ने अनिता सिंह (२५)लाई जाडोयाम निकै मनपर्छ । तर, उनलाई मौसमले रमाउने अवसरचाहिँ कमै दिन्छ । जाडो सुरु हुनेबित्तिकै उनको अनुहारको छाला एकदमै सुख्खा हुने, एलर्जी देखिने, विस्तारै उप्किएर निकै कुरूप हुनथाल्छ ।चिसोको एलर्जी सुरु भएपछि गहुँगोरो वर्णको उनको छाला कालो हुँदै जान्छ । भन्छिन्, ‘डाक्टरले भित्री रोगका कारण नभई जाडोको एलर्जी हो भनी औषधी दिएपछि केही राहत मिल्यो । त्यसपछि छालाको नियमित स्याहार गराउन ब्युटिपार्लर जान थालें । पहिलेभन्दा अहिले निकै कम हुँदै गएको छ ।’ उनी अहिले गल्कोपाखास्थित रोज ब्युटिपार्लरमा नियमित फेसियललगायत सौन्दर्य उपचार गराउँछिन् ।

बानेश्वर संगमचोकस्थित एन्जल ब्युटिपार्लरमा फेसियल गराइरहेकी गृहिणी सरिता शर्मा (३४) पनि जाडोमा हातखुट्टा र अनुहार फुट्ने समस्याले हैरान हुन्छिन् । कोल्ड क्रिमहरूको प्रयोग गर्दागर्दै पनि उनका हातखुट्टा चिरिन छाड्दैनन् । मनतातो पानीले हातखुट्टा नियमित सफा गर्दै ग्लिसिरिन र कोल्ड क्रिम लगाउन थालेपछि भने समस्याबाट निकै राहत मिल्ने गरेको उनी बताउँछिन् ।

अरूबेला सानो खटिरासम्म देखा नपर्ने उनको अनुहारमा पनि जाडो सुरु हुनेबित्तिकै अनुहार सुख्खा हुने समस्याले दुःखी बनाउँछ । भन्छिन्, ‘सर्वप्रथम सौन्दर्य आफ्ना लागि हो । आफू सुन्दर हुनुको अनुभूतिले मन आनन्दित हुन्छ । त्यसैले अचेल कम्तीमा महिनामा एकपटक अनुहारको स्याहारका लागि पार्लर जान्छु ।’ भक्तपुर लोकन्थली बस्ने उमेश लामा (२३)लाई जाडो मौसम मनै पर्दैन । जब जाडो सुरु हुन्छ, उनको मुलायम अनुहारमा एलर्जीले सताउने गर्छ । अनुहार तात्ने, पोल्ने र विस्तारै खटिरा बन्ने समस्याले उनलाई केही वर्षदेखि सताउन थालेको हो ।

सुरुका दिनमा त उनले कोल्ड क्रिम लगाउने प्रयास गरे । तर, क्रिमले पनि उनको समस्यामा खासै सकारात्मक प्रभाव देखाएन । चिकित्सक र एक जना अग्रजको सल्लाहले उनले जाडोमा पनि मनतातो पानी प्रशस्त पिउन थाले । छालाको हेरचाहका लागि गत वर्षदेखि उनी नियमितजसो सौन्दर्य सैलुन जान थाले । यस वर्ष आफ्नो समस्या ८० प्रतिशत कम भएको उनले महशुस गरेका छन् ।

जाडोका कारण छालामा समस्या भोग्ने यी केही पीडितका कुरा हुन् । चर्को घाम र खल्खली पसिना काढ्ने गर्मीभन्दा धेरैलाई जाडो मौसम मन पर्छ । तर, जाडोका कारण छाला तथा स्वास्थ्यमै असर गर्ने समस्याले हैरान भएका मानिस पनि कम छैनन् । नेपाल स्किन हस्पिटलका डा. ललन खतिवडाका अनुसार जाडोयाममा बाहिरको तापक्रम चिसिने, मानिसको शरीरको तापक्रम तातो रहनुपर्ने हुन्छ ।

यसले गर्दा मानिसको शरीरमा पानीको मात्रा कम हुन गई छाला सुक्खा हुन्छ । यस्तो बेला छालाको रक्षात्मक क्षमता कम हुन्छ । त्यसले गर्दा हावा, धुलो धुवाँलगायत बाहिरी वातावरणको प्रभाव छिटो पर्छ । चिसोमा खासगरी बालबालिका र वृद्धवृद्धामा बढी प्रभाव पर्छ । मधुमेह, थाइराइडका पीडितमा जाडोका कारण छालामा समस्या देखिन सक्छ । त्यस्तै, छालासम्बन्धी इप्थाइलोसिस (कत्ले रोग) समस्या जाडोमा झनै बढ्छ ।

जाडोमा छालाको दाद पनि बढी देखापर्छ । यो मौसममा छाला सुक्खा भएर जाने, कत्ला हुने, चिलाउने समस्याका पीडित अस्पतालमा बढ्ने गर्छन् । जाडोमा धेरै मानिस समयमा नुहाउन अल्छी गर्ने हुनाले फोहोरका कारण पनि छालामा समस्या देखापर्ने डा. खतिवडा बताउँछन् । कपालमा चाया पनि जाडोमा बढी देखापर्छ । यो मौसममा हातखुट्टाका औंला सुन्निने, निलो हुने, घाउ हुने र पाक्ने समस्याले पनि सताउँछ ।

पानी बढी प्रयोग गरिरहने हुनाले जाडो याममा महिलामा यो समस्या बढी देखिने गर्छ । अर्को, चिसोमा निस्क“दा वा नुहाउँदा शरीरमा रातो लोला वा जाबे देखापर्छ, त्यसलाई ‘कोल्ड अटिकारिया’ भनिन्छ । जाडोमा सरसफाइमा ध्यान नदिनाले छालासम्बन्धी धेरै समस्या निम्तिने चिकित्सकहरू बताउँछन् । यसै पनि हाम्रो वरपरको वातावरण धूलो, धुवाँयुक्त र निकै प्रदूषित छ । यसको प्रभाव सिधा छालामा पर्न जान्छ ।

त्यसले गर्दा कम्तीमा पनि साताको एक वा दुई पटक मनतातो पानीले नुहाउनुपर्छ । नुहाइसकेपछि भ्यास्लिन वा बडी लोसन लगाउनुपर्छ । जाडोको मौसममा शरीरलाई न्यानो राख्न तातो कपडा लगाइराख्नुपर्छ । छालामा छुने गरी सुतीको कपडा लगाएर मात्र ऊनीको कपडा प्रयोग गर्नुपर्छ । दैनिक कार्यमा तातोपानीको प्रयोग गर्ने, सकेसम्म हिटर तापिराख्ने, तातो सुप वा झोल बढी पिउनु लाभदायक हुन्छ ।

‘भिटामिन सी’ उपलब्ध हुने सुन्तला, मौसमलगायत मौसमी फलफूल प्रशस्त मात्रामा खानुपर्छ । सबैभन्दा राम्रो बिहान उठेर पसिना निस्कने गरी हिँड्नु वा व्यायाम गर्नु उत्तम हुने डा. खतिवडा बताउँछन् । जाडोमा घामको न्यानो प्रिय लाग्नु स्वाभाविकै हो । त्यसले गर्दा घामबाट हुने एलर्जी बढेको थाहै हुँदैन । जाडो मौसममा धेरै मान्छेको अनुहारमा पोतो र कतिपयको डन्डिफोर पनि बढ्छ ।

त्यसकारण यस याममा घाम ताप्दा, छालालाई छोपेर, सनब्लक लोसनहरू लगाएर वा कम्तीमा मुख घाममा नपर्ने गरी ताप्दा नकारात्मक असर नगर्ने डा. खतिवडाको सुझाव छ । जाडोमा मौसमी प्रतिक्रिया जनाउने क्षमता ‘मेटाबोलिक रेट’ उच्च हुन्छ । यो दरका कारण जाडोमा शरीरलाई गर्मी मौसमको तुलनामा जिंक, आइरन र प्रोटिनको उच्च आवश्यकता पर्छ ।

त्यस्ता खानाको मात्रा नपुगेमा कपाल झर्नेलगायत समस्या देखापर्छ । त्यसकारण जाडोमा शरीरमा यी तत्वको सन्तुलन राख्न ‘मल्टी भिटामिन’ पनि खान सकिने डा. खतिवडा सुझाउँछन् । जाडोमा कडा प्रकृतिको साबुनको प्रयोग गर्नुको सट्टा नरम प्रकृतिको साबुन प्रयोग गर्नु उचित हुन्छ । सावर जेल प्रयोग गर्नुपर्छ । डन्डिफोरको समस्या भएकाहरूले डन्डिफोर प्रतिरोधी मोस्चराइजर लगाउनु उचित हुन्छ । मुख धोएपछि मोस्चराइजर वा कोल्ड क्रिम लगाएर मात्र सनब्लक लगाउँदा राम्रो हुन्छ ।

यो मौसममा कम्तीमा दिनमा दुई पटक सनब्लक लगाउनै पर्छ । डा. खतिवडा भन्छन्, ‘शरीरका आन्तरिक प्रणाली चुस्त राख्न सके मात्र बाहिरी सौन्दर्य जोगाउन सकिन्छ । त्यसकारण स्वस्थ जीवनशैली अपनाउन हरदम प्रयास गर्नुपर्छ ।’पछिल्लो समय मानिसहरू आफ्नो सौन्दर्यप्रति सचेत बन्दै गएका छन् । खासगरी महिला बढी सचेत देखिन्छन् । तर, आजकल पुरुष पनि यसप्रति त्यत्तिकै सचेत हुँदै गएको नयाँबानेश्वरस्थित अनानेक ब्युटी सैलुन एन्ड स्पाका सञ्चालक सुरविन राई बताउँछन् ।

जाडोमा छाला सुक्खा हुने हुँदा अरू बेलाभन्दा बढी स्याहारको खाँचो पर्ने अनानेककी ब्युटिसियन विमला खाम्चा बताउँछिन् । उनका अनुसार शतप्रतिशत पार्लरको उपचारले मात्र छालाको सौन्दर्य बढ्छ भन्ने सोच गलत हो । छालामा चमक ल्याउन सर्वप्रथम भित्री स्वास्थ्य ठीक हुनुपर्छ । त्यसपछि यस्ता उपचारले त्यसमा थप चमक भर्ने काम मात्र गर्ने हो । साथै, घरेलु उपचार पनि छालाको चमक बढाउन प्रभावकारी हुने उनको भनाइ छ ।

छालाकाे स्याहार

parlor

jeeban shaili


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.