नेता, बिरालो र रूख

नेता, बिरालो र रूख

चुचुरोबाट

राजनीतिले राष्ट्र, धर्म, भूगोल, समुदाय, जाति, जात र घरपरिवारसमेतलाई कसरी विभाजन गर्छ र बिथोल्छ भन्ने तथ्यबारे प्रजातन्त्रमा खुला बहस हुन्छ । र पनि राजनीतिलाई यी सबदेखि टाढा राख्ने विषयमा भने कोही पनि अगाडि आउन मान्दैन ।

भारतको सर्वोच्च न्यायालयले केही दिनअघि यसै विषयमा चर्चा-परिचर्चाको सिलसिलामा अब चुनावमा भोट माग्ने राजनीतिक दलले धर्म र जातिका कुरा उठाएर मतदान लिन सक्दैन भन्ने चुडान्त आदेश दियो ।

आगामी दुई-तीन महिनामा उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब र गोवामा हुने राज्य विधान सभाको चुनावमा हेरौं, दलहरूले यस आदेशलाई कतिसम्म मान्ने हो र नमानेको खण्डमा चुनाव आयोग र सर्वोच्च न्यायालयले के-कति कसरी गर्ने हुन्, सबैको चक्षु त्यतैतिर मोडिँदैछ ।

विद्यार्थी रहँदा एउटा परेवाको भाले-पोथीको कथा पढेको थिएँ । सायद कमलेश्वरले लेखेका, नत्र भने धर्मवीर भारती वा रखुवीर सहायका । घतलाग्ने यो कथालाई हाम्रा गाउँबस्तीमा ल्याउँदा अझै मीठो हुन्छ । एकजोडी परेवा बेनेकवोर्न चिया कमानका एकजना श्रमिकका घरमा गुँड बनाएर बस्थे ।

ती एकअर्कालाई अगाध माया गर्थे । सँगै उडेर आहार खोज्थे । झरीमा भिज्दै कहाँकहाँ पुग्थे । भालेपोथीको जीवन खुसी, शान्ति र मज्जाको दैनिक जीवनमा लट्पटिएको थियो । यसरी नै युगयुग बाँच्ने प्रण गरेका थिए ।

एक दिन यसरी मायाको माला गुथिरहँदा शरीरभरि चोटैचोट लागेको अर्को परेवा कहाँबाट उडेर त्यहाँ पुग्यो । भालेपोथी त्यो घाइते परेवाको करुणामय अवस्था देखेर विचलित भए । भालेपोथी घाइते परेवालाई ठीक गर्न ओखतीमूलो खोज्न गए । भालेपोथीले गरेको सेवाले एक दिन घाइते परेवा ठीक भयो । त्यो उडेर मधेसतिर लाग्यो ।

धेरै दिनपछि पोथीले भालेसँग भनी, हामी दुई मिलेर यत्रो जीवन बितायौं तर आजभोलि हामी किन झगडा गर्छौं ? एकअर्कालाई किन चिथोर्छौं ? ठुङ्छौं र भुल्याउँछौं ? हामी एकअर्कालाई मन पराउन र हेर्नसमेत छोड्यौं । भालेले पनि निकै सोचेर त्यही कुरो दोहोर्‍यायो । दुवैजना सोचमा डुबे-

किन यस्तो भयो ? नभन्दै भोलिपल्ट मिरमिरे उज्यालोमा गौंथली चिरबिर गर्न थाल्यो । पहाड मुसुक्क हाँस्दा भालेले पोथीलाई सुम्सुम्याउँदै भन्यो, जुन दिनदेखि त्यो घाइते परेवा हामीकहाँ आयो र निको भएर गयो, त्यसपछि हामीबीच झगडा सुरु भयो । हामी लाक्पा खेल्न लाग्यौं र एकअर्कालाई नीच देखाउन थाल्यौं । पोथीले हो त हो, साँच्चै हो भनी ।

त्यसो भए त्यो घाइते परेवा कहाँबाट आएको रहेछ खोजौं भनेर भालेपोथी नै लागिपरे । भालेपोथी उड्दै भीर, पाखापखेरा, देउराली डाँडा काट्दै टिस्टा, रंगीत, वालसनको भेल हेर्दै मधेसको गल्लीको गरम सहँदै गंगानदी काटेर कलकत्ता महानगरी पुगे ।

नभन्दै भालेपोथीले घाइते परेवालाई बंगाल विधानसभाको धुरीमा रमाइरमाई घाम तापेको देखे । छेउमा गई त्यो परेवालाई सोधे- तिम्रो आमाबाबु कहाँ छन् ? घाइते परेवाले मुस्कुराउँदै जवाफ दियो- दिल्लीको संसद्को धुरीमा गुँड लगाएर बसेका छन् । राजनीतिले भालेपोथीलाई समेत छोडेन । झन्डै छुटानाम भएछ परेवा परिवारको पनि ।

राजनीतिमा धेरै नेताहरू अति नै जागरुक, देशप्रेमी, जनताको भलो चाहने हुन्छन् र नाम कमाएरै स्वर्गवास हुन्छन् । किताबैकिताब लेखिन्छ, प्रखर सोच्ने र समाज र राष्ट्रको निम्ति धेरै गरेर जाने नेताहरूबारेमा । अर्कोतिर उति नै धेरै नेताहरू अश्लील सोच, स्वार्थ भावना र कुकर्तव्यको डोको बोकेर हिँड्छन् ।

अरूको आँसु, पसिना र रगत चुसेर अनि पाप, द्वेष, हिंसा र मात्सर्यले कमाएको डोकाका डोका पैसा, सुन बोकेर राजनीति गर्छन् । पैसावाल नेताहरू भन्छन्- सबैलाई किन्छु । संस्था पनि किन्छु ।

भगवान् किन्छु । यस्ता नेताहरू गरिबको नाममा सरकार चलाएर धनीको संगत गर्छन् । निर्धाका गीत गाएर व्यापारिक कम्पनी र जमिनदारलाई नचाउँछन् । यस्ता नेताले के गर्दा रहेछन् भने सबै जनतालाई रुखको छहारीमा निम्त्याउँदा रहेछन् र सबै जनताका काँधमा टेकेर रूख चढ्दा रहेछन् ।

अब कोही पनि रूख चढ्न नसकून् भनेर नेताहरू जुन हाँगोमा टेकेर रूख चढ्छन्, सो भाँचिदिँदा रहेछन् । यसरी एकपछि अर्को हाँगामा चढ्दै काट्दै नेता रूखको टुप्पोमा पुग्दा रहेछन् र मनमनै भन्दा रहेछन्- अब म चढेको रूखमा कोही चढ्न सक्दैन । अब ममात्रै नेता भएर बाँचिरहन सक्छु । म कसैलाई नेता हुन दिन्न । अब म मेरा पितापुर्खाले नदेखेको पैसा र धन कमाउँछु ।

पुस्तौंपुस्ता छोरानातिलाई पुग्ने गरी कमाएर राखिदिनेछु । रुखको फेदमा बसेका जनतामा पनि खुल्दुली हुँदोरहेछ । हाम्रो नेता रूख त चढ्नुभयो । सबै हाँगो पनि काट्नुभयो । तर अब कसरी झर्छन् ? टेक्ने हाँगो छैन । रूखमा चढेका नेताको आरिस गर्दै एकजना नेता बन्ने क्षमता भएको व्यक्तिले भन्यो, ‘तपाईं कसरी झर्नुहुन्छ, ओर्लने सबै हाँगा काटेर ? ' यो कुरा सुनेपछि रूखमा चढेको नेता झसंग हुन्छ ।

ऊ अत्तालिन्छ, रूखबाट खस्छ र भुईंमा पछारिन्छ । जनता भन्छन्, ‘नेता यसरी झर्दा रहेछन् र त एकपटक झरेको नेता कहिल्यै पनि उठ्न सक्दैन रहेछ ।' नेताको मनोवृत्ति नै यस्तै हुन्छ, तातै खाऊँ जली मरूँ ।

नेताहरू आफूभन्दा अलिक बढी जान्नेलाई आरिस गर्दा रहेछन् । पढेलेखेका नेता भने आफूवरिपरि आफूभन्दा बढ्ता जान्ने व्यक्ति राख्दो रहेछ । तर घिनलाग्दा सोच भएका नेताहरू पढेलेखेकाहरूलाई हेर्नै नचाहँदा रहेछन् । यस्ता नेताहरूलाई खिसिट्युरी रोगले खाँदो रहेछ । ऊ मन सानो बनाएर बाँच्दो रहेछ ।

पढेलेखेकाहरूले केही राम्रा-राम्रा सरसल्लाह दिएको खण्डमा सोच्दो रहेछ- मलाई स्वाहा पार्ने सरसल्लाह पो दिँदैछ यो ? यस्ता धेरै नेताहरूमाथि ठेलीका ठेली पुस्तकहरू लेखिएका छन् । कुनाकुनामा यस्ता नेता पाइन्छन्, मनिसिपलिटी र पञ्चायत चलाउनेदेखि लिएर मन्त्री र मुख्यमन्त्रीसम्म ।

अचम्मको कुरा, यस्ता नेताहरू जुनै राम्रा व्यक्तिलाई पनि शंकाको दृष्टिकोणले हेर्दा रहेछन् । भेटेर जानासाथ त्यस्ता मान्छेको बारेमा आलोचना गर्ने क्रम सुरु हुँदो रहेछ । भनिन्छ- बिरालो मात्रै हो, तर बाघ जातिको । एउटा प्राणी जसले आफ्नो नंग्रा लुकाएर राख्न सक्छ । दुस्मन वा आफूले मन नपराएको वस्तु देखेपछि मात्रै पन्जाबाट नंग्रा निकालेर हमला गर्छन् र चितोर्छन् ।

आजभोलिका नेताको पनि व्यवहार लगभग बिरालोको जस्तै हुन्छ । यस्ता नेताहरू सुतेको जस्तो गर्छन्, तर सबैथोक चाल पाउँछन् । अरू बिराला र अन्य प्राणीलाई छेउमा आउनै दिँदैनन् । उतापट्टि फेरि थिचोमिचो गर्न सक्ने स्थिति छ भने कुकुरदेखि स्याल, फ्याउरोदेखि दुम्सीसँग पनि मित्रता गाँस्छन् ।

नेता र बिरालोमा ठूलै अन्तर हुँदो रहेछ । नेताहरू आफ्ना नंग्राहरू पन्जाभित्र लुकाइराखे पनि बिरालोले जस्तो खास वा असल सिकार देख्दा मात्रै ननिकालेर जथाभावी प्रयोग गर्दा रहेछन् । झिँगा, भ्यागुता, भुसुना, छुचुन्द्रो, कुकुर, भैंसी, गाडी, हात्ती, हवाईजहाज, माछा सबै देख्नासाथ नेताहरू मेरो भाग खोस्न आयो भनेर आफ्ना नंग्रा प्रयोग गर्दा रहेछन् । नेताहरू कहिलेकाहीं राति अर्धनिद्रामा पनि सिरानीले बिझाउँदासमेत रिस, डर, लोभ, ईष्र्या, घमण्ड र क्रोधले आफ्नो नंग्रा चलाउँदा रहेछन् ।

एक दिन नेतालाई साँच्चै पछार्न सक्ने क्षमतावान् अर्को नेता अगाडि आएछ । कुर्सीमा बसेको नेताले मेरो पक्का दुस्मन यही हो र यो सिकारचाहिँ जसरी भए पनि उम्काउनु हुँदैन भनेछ । आँखा नमिची हेरेपछि सिकारलाई झन् जिस्काएजस्तो लागेछ नेतालाई ।

र्‍याल, थुक चुहाउँदै कुर्सीमा बसेको नेता रिसले रन्थनिएछ र अबचाहिँ यसको प्राण नै लिन्छु भनी हुत्तिएछ । बिरालाको जस्तो नंग्रा भएको नेता सिकारका हरेक अंग नै चिथोर्न र तिखार्नपट्टि लागेछ । अनुहार नै चिथोर्न गएछ ।

पूरा बल लगाउँदै नेताले आफ्नो बिरालोपनको नांगो प्रदर्शन गरेछ । चिया, चमेना प्रदान गर्ने नोकर-चाकरहरू नेतालाई होस्टेमा हैंसे पनि गर्दा रहेछन् । उनीहरू मनमनै भन्दा रहेछन्, अब हाम्रा बिराला नेताले आफ्ना नंग्राको खेल देखाउन सकेनन् भने कुर्सी नै छोड्नुपर्छ ।

अभाग्यवश क्षमातावान् नेतालाई केही पनि भएनछ । ऊ त शरीरमा काउकुती लाग्यो भन्दै मरीमरी हाँस्न लागेछ । शरीर मुसार्न थालेछ बिरालो नेताले मसाज गरिदियो भनी । सबै अवाक भए, बिरालो नेताको सबैलाई चिथोर्ने नंग्राले आज काम किन गरेन भनी ।

नेताहरू आफूभन्दा अलिक बढी जान्नेलाई आरिस गर्दा रहेछन् । पढेलेखेका नेता भने आफूवरिपरि आफूभन्दा बढ्ता जान्ने व्यक्ति राख्दो रहेछ । तर घिनलाग्दा सोच भएका नेताहरू पढेलेखेकाहरूलाई हेर्नै नचाहँदा रहेछन् । यस्ता नेताहरूलाई खिसिट्युरी रोगले खाँदो रहेछ । ऊ मन सानो बनाएर बाँच्दो रहेछ ।

क्षमतावान् नेता हाँस्दै भनेछ, अरे साथी हो यो बिरालो नेताले नंग्रा छ भनेर जसमाथि पनि र जसलाई देखे पनि झम्टिन्थ्यो । झम्टिँदा-झम्टिँदा सबै नंग्रा खिइएछ र बोधे भएछ । आज मलाई बोधा नंग्रा प्रहार गर्दा त काउकुती पो लाग्यो । नेता यस्तै हुँदा रहेछन् । बिराला नेता नंग्रा खियाएरै आफू पनि खिइए ।

न उसले जनताको लागि केही गर्‍यो न आफैं खुसी बस्यो । बिहान उठ्नासाथ उसकहाँ रिपोर्ट आउँथ्यो, कसले उसको विरोधमा गफ गर्‍यो, कसले उसको कोठेबारीमा मलमूत्र त्याग गर्‍यो र कसले उसको नाफा-मुनाफाको बोरामा छेड हान्यो ।

अनि बिरालो नेताको दिनभरिको काम नै नंग्रा निकाल्ने र चिथोर्ने हुन्थ्यो । तर खास दुस्मन आउँदा र चिथोर्नुपर्ने समयमा गाँज्नुपर्ने क्षणमा बिरालो नेताको नंग्रा नै खिइसकेको थियो । नेताहरूका हालत यस्तै हुन्छ रे, समयको मात्रै खेल रे । तर राम्रो सोचविचार गरी कार्य गर्ने नेताहरू सदैव पन्जाभित्र नंग्रा लुकाएर राख्छन् रे । दुस्मन र सिकारलाई पनि आफ्नो नंग्राको रङसमेत देखाउँदैन रे !

अचम्मै प्रकारका नेता पनि हुन्छन् । एउटा नेताले क्रान्ति ल्याउँछु भन्दै चारैतिर ढोल पिट्छ, इष्ट देवता, विश्वका क्रान्तिकारी नेताहरू र इतिहास, भूगोल, संस्कृति सबैलाई पुकारेर पनि । मानिसहरू पनि हो न हो, क्रान्ति आउँदैछ भनेर तयार-तत्पर हुन्छन् । नेताले क्रान्तिको नाममा महामारी ल्याउँछ । सबै नासिन्छ, क्रान्ति टुंगिन्छ । नेताले जनताकहाँ पुगेर भनेछ- क्रान्ति भनेको परिवर्तन होइन, रूपान्तर हो ।

अर्थात् रूप नै अलग हुनु भनेको हो । उदाहरणको लागि गहुँलाई पिठो बनाउनु । हिजो गहुँ थियो तर रोटी खान सक्तैनथे । पिठो भएपछि सबैले रोटी पकाएर खान सक्छन् । बाठो नेताले भनेछ- गहुँलाई धुन्छु, सफा बनाउँछु र पिँधेर पिठो बनाउँछु । अभाग्यवश, कहिल्यै गहुँ नधोएको नेताले यसलाई कति धोएछ भने कुनै घट्ट र मेसिनले त्यो गहुँलाई पिस्न नै सकेन । जनताले क्रान्तिले ल्याएको गहुँको रोटी खान फेरि पाएनन् ।

अर्को नेता अझ तम्सेर आयो । अब महाक्रान्ति हुन्छ भन्ने उद्घोषण गर्‍यो । फेरि जनता तम्सिए । कोही आक्रोशित भए, कोही लजाए । अझै भयानक सर्वनाश भयो । महाक्रान्ति अलिक शीतल भएपछि नेताले पहिलाको नेताले गहुँ धोएर भूल गरेको दोहोर्‍याए, हेर जनता, तिमीहरू सर्वमान्य हौ, मेरो निम्ति भगवान् हौ । अब महाक्रान्तिले ल्याएको रोटी खानुपर्छ ।

म गहुँ धुने नेता होइन । त्यस्तो भूल गर्दिनँ । म एक्काईसौं शताब्दीले ल्याएको नेता हुँ, आधुनिक सोच्छु । अब म गहुँको बदला गहुँ नै धोएर सफा महाक्रान्तिको रोटी खुवाउँछु सबैलाई । जनताले रोटी नपाए पनि ताली बजाए ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.