'पृथ्वी' नचिन्नेहरू
पृथ्वीनारायण शाहको नाममा वर्षौंदेखि मनाइँदै आएको राष्ट्रिय एकता दिवस पुस २७ गते मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको पाइयो । नेपाल राष्ट्रका निर्माताको एकता दिवस मनाउन र त्यस दिन सदा झैं सार्वजनिक बिदा दिन जनताले गरेको आग्रह वा आवाज सरकारले सुनेन । गणतन्त्र प्रजातन्त्रिक व्यवस्था हो भने जनताको आवाज सरकारले सुन्नुपर्ने हो ।
हुन त नेपालमा भोटको राजनीतिमा जनतालाई निर्वाचनको दिन मात्र सम्झने सरकारले यसपटक पनि सुनेन । जनताको भावनाअनुसार सत्ता चलाउने प्रतिबद्धता गरेर सत्तामा आएको सरकारले जनताको भावना, जनताको माग र चाहनालाई सुनेन ।
०६२÷६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक घोषणापछि नै नेपाल एकीकरणका नायक पृथ्वीनारायणको सालिक भत्काउनेहरूबाट जनताले यो आशा गरेका पनि थिएनन् । आज त्यही सालिक भत्काउने दलका धेरै नेताले नै एकता दिवसको महत्त्वमाथि भाषण गर्दै पृथ्वीनारायणको प्रशंसा गरिरहे । सरकारले अवश्य सुन्नेछ भन्ने जनताको विश्वासमाथि यसपटक पनि कुठाराघात भयो ।
जनभावनाको कदर नगर्ने, इतिहासलाई र नेपालीको संस्कृति, धर्म नै मेट्न उद्यत् माओवादी र कांग्रेस सरकारबाट राष्ट्रिय भावनाको कदर नहुनु दुर्भाग्य मान्नुपर्छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टीको जलपान समारोह र सिंहदरबार ढोकाअगाडिको उहाँको सालिकमा सर्वसाधारणले मनाएको पृथ्वी जयन्ती रोचक र श्रद्धाले भरिपूर्ण थियो ।
जनताको त्यो सहभागिताले जनताको मुड पढ्न सकिन्थ्यो । जनताले आफ्नै किसिमले भव्यरूपमा पृथ्वी जयन्ती मनाएर सरकारलाई देखाइदिए । भरत बस्नेत, मोदनाथ प्रश्रित जस्ता अभियन्ताहरूलाई जनताले धन्यवाद दिए ।
यस वर्षको पृथ्वी जयन्ती व्यवस्थापिका-संसद्, मन्त्रिपरिषद्को बैठकदेखि सामाजिक सञ्जालमा समेत ठूलो चर्चाको विषय बन्यो ।
राष्ट्रपति विद्या भण्डारीले त पृथ्वीप्रति आफ्नो सम्मान भएको भावनासमेत प्रकट गर्नुभयो । संसद्मा कयौं राष्ट्रवादी सांसदले पृथ्वी जयन्ती मनाइनुपर्नेमा सरकारको ध्यानाकर्षणसमेत गराए । तर भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनतालाई ढाँट्न पल्केको सरकारले सुन्दै सुनेन । जनताको कुरा नसुन्ने पनि सरकार हो र ?
जनताको भावनाको कदर नगर्ने पनि सरकार हुन्छ र ? हुँदो रहेछ । अहिलेको सरकार त्यसको ज्वलन्त उदाहरण बनेको छ । हुन त प्रधानमन्त्री प्रचण्डले राप्रपाको चियापानमा बोलेको सुन्दा उनी पृथ्वी जयन्तीका विरोधी हुन् जस्तो लाग्दैनथ्यो, तर काम एउटा गर्ने र मनमा अर्कै कुरा राख्ने यी नेतालाई कसले पत्याउने ?
यो साता भ्रष्टाचार अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की चर्चाको शिखरमा पुगे । संसद्मा उनीविरुद्धको 'महाभियोग' प्रस्ताव पारित गर्न या भनौं छलफल गर्न नै सासंदहरू डराएको देखियो । प्रस्ताव प्रस्तुत भएपछि कैयन् दिन सदनमा बैठक नै बसेन । सांसदहरू विचारमा बाँडिए । निर्णय गर्न सकेनन् । आखिर सर्वोच्च अदालतले उनलाई पदमुक्त गर्ने निर्णय गर्यो ।
ठीक छ, लोकमानसिंह कार्कीको योग्यता र चरित्र पदअनुकूल नभएको बताइयो । उनलाई त मुक्ति दियो अदालतले ! तर उनको योग्यता नै नजाँची नियुक्ति दिएर गम्भीर गल्ती गर्नेहरूलाई भने के गर्छ अदालतले ? यो कहाँको न्याय हो ? उनको नाम सिफारिस गर्नेहरूको कुनै गल्ती थिएन त ?
यस कार्यमा रकमको ठूलो खेल भएको हुन सक्छ । ठूलै मान्छे यस्तो काम गर्छन् भने अरू सानालाई भ्रष्टाचारी भन्ने अधिकार सरकार र न्यायालयलाई छ त ? साँच्चै भन्ने हो भने नेपालमा प्रधानमन्त्रीदेखि पियनसम्म भ्रष्टाचारमा कुनै न कुनै रूपमा जोडिएका छन् । कोही छ भने उसले मौका नपाएकाले हो । गणतन्त्रात्मक नेपालको विशेषता भनेकै सरकारका मान्छेलाई पैसा खुवाएर आफ्नो काम पट्याउनु हो ।
अहिले पनि तपाईं सरकारमा पैसा नखुवाई केही गर्न सक्नु हुन्न । चाहे त्यो जागिर खाने होस्, चाहे कुनै काममा होस्, पैसा नभइ हुन्न । हामी सबैले भोगेको हो यो । आलिशान भवनमा बस्छन्, मर्सिडिज बेन्चमा सयर गर्छन्, रुघा लागे पनि सरकारी खर्चमा उपचार गर्न विदेश जान्छन् तर जनतालाई देखाउन तिनका सम्पत्ति तीनचार तोला सुन र तीन कट्ठा जमिन मात्र हुन्छ । यस्तो हास्यास्पद कुरा गर्नेबाट देशले कसरी विकास गर्ला ? कसरी र कहिले समृद्ध हुन्छ हाम्रो देश ? जनताले सोच्नुपर्ने बेला भएन र ?
जनभावनाको कदर नगर्ने, इतिहास र नेपालीको संस्कृति, धर्म मेट्न उद्यत् माओवादी र कांग्रेस सरकारबाट राष्ट्रिय भावनाको कदर नहुनु दुर्भाग्य मान्नुपर्छ ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्रले नेपाल नबच्ने अवस्था आयो भनेका थिए । उनले त्यसै भनेका होइनन् । केही न केही आधार पाएरै उनले बोलेका हुन् । उनले नेपालको वर्तमान अवस्था दयनीय, अस्थिर र कमजोर देखे । तीतो सत्य के हो भने राजनीतिक दलहरू कुराचाहिँ सहमतिको गर्छन्, तर कामचाहिँ असहमतिको । यो सहमति नेताहरूका लागि मागी खाने भाँडोसिवाय केही हुन सकेन । राज्यको अस्मितामाथि बाहिर र भित्रबाट सुनियोजित रूपमा प्रहार हुँदा र हाम्रो धार्मिक, सांस्कृतिक र नेपालीपनमाथि नै निरन्तर आक्रमण भइरहँदा पनि हामी मूकदर्शक बन्न बाध्य र विवश छौं, किन ?
हाम्रो राष्ट्र बनाउने देशभक्त, वीरवीरंगनाहरू जुन हाम्रा आदर्श हुन् । तिनलाई तथानाम गाली गर्ने र आफूलाई नयाँ नेपालको निर्माताको अभियानकर्ताका रूपमा चिनाउने प्रयत्नमा लागेका भुइँफुट्टा लोकतन्त्रवादी भुइँफुट्टा क्रान्तिकारी र प्रगतिशीलताको मुखुन्डो लगाई आत्मरतिमा रमाउनेहरूबाट हाम्रा विभूतिहरूप्रति आदर र श्रद्धा हुन्छ भनेर सोच्नु हाम्रै गल्ती हो ।
दुर्भाग्य आज हाम्रै राष्ट्र बनाएर हामीलाई विश्वमा वीर गोरखाली भनेर परिचित गराउने, न्याय नपाए, गोरखा जानू भन्ने र जाई नलाग्नु, आइलाग्नेलाई नछोड्नू भन्ने विदेशी होइन, स्वदेशी लुगा लगाउने सल्लाह दिने संस्कृति दिने पृथ्वीनारायण शाह, विराज बखती (मगर) बीसे नगर्ची, झामल गुरुङ, बहादुर शाह, भानुभक्त आचार्य, भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा आदिको संस्कृति, त्याग, तपस्या एवं विरोचित गुणहरूलाई मान र सम्मान गर्दै प्रेरणा लिनुको साटो सत्तोसराप गर्नमै आफ्नो समय खेर फालेका छौं । यथार्थ इतिहास आफैं बोलिरहेको छ ।
उनीहरूजस्ता देशभक्तकै रगत र पसिनाले यस देशलाई विश्वकै साम्राज्यवादको अधीनमा हुनबाट रोकेर हामीलाई यो मातृभूमि नासोका रूपमा सुम्पिएर गएका थिए । आज नेपालमा व्याप्त राजनीतिक अन्योल, असुरक्षा तथा अभावै अभाव देख्दा र देश नै विखण्डनको सँघारमा पुगेको अनुभव गर्दा राष्ट्रिय एकताको महत्त्व झनै बढेर गएको छ ।