अनलाइन सेवाले सजिलो बन्दै सरकारी काम

अनलाइन सेवाले सजिलो बन्दै  सरकारी काम

काठमाडौं: सवारी चालक अनुमति पत्रको फाराम भर्न मध्यरातमै लाइन बस्नु पथ्र्यो । यसरी लाइन बसेपनि सबै फारम बुझाउनेले लाइसेन्स पाउने निश्चित हुन्थेन । दुइदिन सम्म लाइनमा बस्दापनि लाइसेन्सको फाराम भर्न नपाउने कति हुन्थे कति । त्यहाँको माहोलले कार्यालयका कर्मचारीलाई कामगर्न असहज थियो । यातायात व्यवस्था विभागले अनलाइनमार्फत दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रको फाराम भर्न सकिने सुविधा दिएसँगै समस्या हल भएको बताउँछन सवारी चालक अनुमतिपत्र कार्यलय वागमती अञ्चलका प्रमुख तेज नारायण यादव ।

सेवालाई सहज र प्रभावकारी बनाउँने क्रममा पछिल्लो समय कतिपय सरकारी सेवा अनलाइनबाटै सुरु भएका छन् । अनलाइनमार्फत सवारी चालक अनुमति पत्रको फाराम भर्न सकिने व्यवस्था यसको एउटा उदाहरण हो ।

अनलाइनमार्फत दिइने सेवाले एकातिर समयको बचत गरेको छ भने अर्कोतर्फ लाइन बस्नुपर्ने झन्झट कम गरिदिएको छ । यादवका अनुसार यातायात विभागले सुरुगरेको अनलाइन सेवाले रातको समयमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ ।

अहिले पनि अनलाइनमार्फत फाराम भर्न नजान्ने र इन्टरनेटमा पहुँच नभएका सेवाग्राही लाईनमा उभिएका हुन्छन् । यो सङ्ख्या न्युन छ । अनलाइनमा रातको १२ बजेबाट पाँच सयको लागि फाराम खुलाइन्छ । त्यो बिहान नहुँदै प्याक भइसकेको हुन्छ । 'नजान्ने÷इन्टरनेटमा पहुँच नभएका सेवाग्राहीलाई दैनिक तीनसय फाराम उपलब्ध गराउँने गरिएको छ,' यादव भन्छन ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार विभागले एकान्तकुनाका साथै जगाती कार्यलयबाट पनि यस्तो सेवा सुरु गरिसकेको छ र विस्तारै अन्य कार्यालयमा विस्तार हुँदै जानेछ । सबै सेवा क्रमशः प्रविधिमा आधारित भइरहँदा नेपालले पनि यसको आत्मासात गर्नु स्वभाविक भएको बताउँछन् क्यानका अध्यक्ष बिनोद ढकाल । उनका अनुसार नेपालको परिवेशमा अहिलेसम्म भएको कामलाई हेर्र्ने हो भने अनलाइन सेवा सुरुको चरणमा रहेको छ । अनलाइनमार्फत उपलब्ध सेवा हेर्ने हो भने सरकारी सेवाको एक प्रतिशत पनि ओगटेको छैन् ।

अनलाईनमार्फत श्रम स्वीकृति दिइने सुविधाले सेवाग्राहीको सास्ती स्वाट्टै घटाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि सरकारले श्रम इजाजत जारी गर्न लाइनमा बस्नु नपर्ने व्यवस्था गरिसेकेको छ । वैदेशिक रोजगार विभागले पहिलो चरणमा संस्थागत श्रम स्वीकृतिको प्रक्रियालाई अनलाइन सिस्टममा लगेको हो । पूर्व श्रम स्वीकृति अनलाइनबाट भएपनि अन्तिम श्रम स्वीकृतिको कामभने अनलाइन बाट हुन सकेको छैन् ।

तर अन्तिम श्रम स्वीकृतिलाई पनि छिट्टै अनलाइनमा नै लगिने मन्त्रालका प्रवक्ता रमा भट्टराइ बताउछिन् । उनका अनुसार पूर्व श्रम स्वीकृतिको काम अनलाइनबाट भएपछि मेनपावर कम्पनीले आफ्नै 'युजर नेम' र 'पासवर्ड' खोलेर वैदेशिक रोजगार विभागलाई युजरनेमको जानकारी गर्दा हुने भएको छ । सोही आधारमा युजरनेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्दै आएको छ ।

यो सेवाको सूरुले सेवालीन लाइनमा बस्नुपर्ने बाध्यतालाई कम गरिदिएको छ । प्रवक्ता भट्ट्राइका अनुसार अहिले स्थागत तर्फ लाइनबस्ने मानिसको सङ्ख्या न्युन रहेको छ । कसैको अनलाइन मार्फत फाइल अपलोड नभएको खण्डमा कार्यलय आउँछन् । नभए अहिले अनलाइनबाटै संस्थागत श्रम स्वीकृतिको सम्पुर्ण काम भइरहेको छ । साथै विभागले व्यक्तिगत श्रम स्वीकृति पनि चाडैनै सुरुगर्ने जनाएको छ ।

सेवाग्राहीकै सहजताका लागि राहदानी विभागले पनि अनलाइनमाध्यमबाट घरैमा बसेर पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइसकेको छ । विभागले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइबाटै गर्न सक्ने व्यवस्था मिलाएको छ । यो सँगै अनलाइनबाट फर्म भर्दा आउँने बारकोड नम्बर लिएर जाँदा हुने भएको छ ।

त्यहाँ विभाग गएपछी आफैंले तपाईको फोटो खिच्छ, विवरण रुजू गर्छ र काम अघि बढाउँछ । यसो गर्दा राहदानीका लागि बाहेक सेवाग्राहीले पैसा तिर्नुनपर्ने भएको छ । यसका साथै राहदानी विभागले एपको निमार्ण गरि एप्स स्टोरमा उपलब्ध गाराइसकेको छ । जहाँबाट प्रयोगकर्ताले राहादानीको लागि आवश्यक सामाग्री, आफ्नो राहादानी बने नबनेको समेत जानकारी लिन सकिने छ ।

त्यस्तै सरकाले निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने सकिने व्यवस्था गरिसकेको छ । यसले कर्मचारीलाई जिल्लाबाट आफ्नो सरुवाका लागि काठमाडौं नै धाउनु पर्ने समस्याको सामाधान गरिदिएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि एकातर्फ कर्मचारीलाई सजिलो भएको छ । भने अर्कोतर्फ सरुवालाई व्यवस्थित बनाउन सहयोग पुर्‍याएको छ ।

त्यसका साथै सरकाले सार्वजनिक निकायको ठेक्कापट्टाको अनलाइनबाटै बोलपत्र आह्वान र घोषणा गर्ने सकिने बनाईसकेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीको थालनी गरेसँगै सडक विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, खानेपानी तथा ढल विकास, सिँचाइ विभाग र जल उत्पन्न प्रकोप नियन्त्रण प्रकोप विभागका बोलपत्र आह्वान र घोषणा अनलाइनबाटै भइरहेको छ ।

अनलाईबाटै अहिले नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने भइसकेको छ । यो सेवा काठमाडौं, भक्तपुर, ललितपुर लगाएत सिमित स्थानमामात्र लागु भएता पनि यसले नक्सापास गर्ने पक्रियालाई सहज बनाएको छ । सरकाले परम्परागत नक्सा पाससम्बन्धी व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरेको हो ।

यो सँगै घरमै बसेर नक्सा पासको प्रक्रिया कहाँ पुग्यो, कति दिनमा तपाइले स्वीकृति पाउनुहुन्छ, के कति राजस्व तिर्नुपर्छ, के कति कागजात आवश्यक पर्छ भन्ने पनि अनलाइनमार्फत नै जानकारी प्राप्त गर्न सकिने भएको छ । नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउनका लागि यसले सहयोग पुर्‍याइरहेको छ ।

अनलाई सेवाको सँगै कतिपय सरकारी कार्यलयले एपको निमार्ण गरि आफ्नो सेवा र सुविधाको बारेमा जनाकारी गराउँने काम पनि गरिरहेका छन् । अहिले आन्तरिक राजस्व विभागले आफ्नै एपको निमार्ण गरेको छ । जसमा राजस्व सम्बन्धीत आम मानिसलाई आवश्यक सम्पुर्ण जानकारीका समावेस गरिएको छ । त्यस्तै पाठ्यक्रम विकास केन्द्रले पनि एप निमार्ण गरि एप स्टोरमा उपलब्ध गाराएको छ ।

एपमा नेपालका विभिन्न तहका पाठ्यक्रम, किताबका साथै आवश्यक जानकारि त्यसमा उपलब्ध छ । यसका साथै अन्य विभाग तथा कार्यलयले पनि विस्तारै आफ्नो सेवालाई अनलाइनमा लैजाने तयारी गरि रहेका छन् । यसरी अनलाइनबाट सेवा विस्तार हुँदा पहिलो अपारदर्शीतालाई निरुत्साहित गर्ने सहयोग पुर्‍याउने बताउँछन् यातायात व्यवस्था विभागका महानिर्देशक श्रेष्ठ । दोस्रो यसले आम सेवाग्रहिलाई सहज बनाएको छ । सेवादिन सेवा प्रदायलाई पनि अनलाइन सेवाको सुरुवातले व्यवस्थापन गर्न समेत सहज भएको उनले थपे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.