लघुजलविद्युतले गाउँ झिलिमिली
फिदिमः जिल्लाको उत्तरी गाविस सिदिनमा मात्रै सातवटा लघुजलविद्युत् आयोजना सञ्चालन भएका छन् । विभिन्न संघ/संस्थाको अनुदान सहयोग र स्थानीयको लगानीबाट सञ्चालन गरिएका लघुजलविद्युत्को विकासले सिदिन गाविस झिलिमिली भएको छ ।
टुकिको उज्यालोमा जीवन जिउने मानिसको घरमा बिजुली बलेको सिद्धदेवी मावि सिदिनका प्रधानाध्यापक सुरेन्द्र केरुङ बताउँछन् । लघुजलविद्युत्को विकासले गाविसका सबै वडामा बत्ती बलेको उनले बताए ।
जिल्लाका ३८ मध्ये एक दर्जन गाविसका वस्तिमा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ । बाँकी सबैजस्तो गाविस लघुजलविद्युत्को विकासले झिलिमिली बनेका छन् । स्थानीयकै सक्रियताले ग्रामीण क्षेत्रमा जताततै जलविद्युत्को विकास भएको हो ।
‘नजिकैको गाविसमा झिलिमिली बिजुली बलेपछि अर्को गाविसका स्थानीयले पनि विद्युतीकरणको पहल सुरु गर्छन्’, प्राङबुङका स्थानीय भरत खपाङ्गीले भने, ‘प्राङबुङमा चारवटा लघुजलविद्युत् सञ्चालनमा छन्,यसले पूरै गाविस उज्यालो बनेको छ ।’
जिल्लामा सञ्चालन गरिएका लघुजलविद्युत् विश्व बैंक, जिविसको वातावरण र ऊर्जा शाखाको सहयोग र स्थानीय उपभोक्ताकै लगानीबाट सञ्चालन गरिएको हो । जिल्लामा कुनै पनि निकायसँग लघुलविद्युत्को आधिकारिक तथ्यांक नभए पनि विभिन्न गाविसमा गरी ३० वटा आयोजना सञ्चालमा छन् । यसमध्ये दर्जनभन्दा बढी आयोजना स्थानीयकै लागनीबाट मात्र सञ्चालनमा ल्याइएको हो ।
फिदिम नगरपालिका बाहेक अन्य ३८ गाविसमा प्रतिगाविस अधिकतमा तीन हजार घरधुरी मानिसको बसोबास छ । ग्रामीण क्षेत्रका सबै गाविसमा लघु जलविद्युत्को विकास गरिएको छ । एउटै गाविसमा एकै खोलाबाट अधिकतम् सातवटासम्म लघुजलविद्युत् आयोजना सञ्चालन गरिएको छ ।
लेकगाँउको एकै वडामा छवटा लघुजलविद्युत् सञ्चालनमा ल्याइएको स्थानीयको भनाइ छ । पाँच सय ९४ जनसंख्या रहेको यो गाउँमा सँधैभरि बिजुली बल्छ ।
जिल्ला विकास समिति र विश्व बैंकको आर्थिक सहयोगमा १५ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । विश्व बैंक ऊर्जा शाखा र उपभोक्ताको संयुक्त लागानीबाट सञ्चालन गरिएका १५ आयोजना नौ करोड ४९ लाख ५१ हजार रुपैयाँको लागतमा सञ्चालन गरिएको हो ।
यो आयोजनाबाट उत्पादित तीन सय ३५ किलोवाट विद्युत्बाट ग्रामीण क्षेत्रका करिब चार हजार घरधुरीमा उज्यालो छाएको छ । बाँकी घरधुरीमा स्थानीयकै मात्र लगानीबाट सञ्चालन गरिएका आयोजनाबाट उज्यालो छाएको हो ।
यस स्थानमा साना तथा मझौला उद्योग खोलिएका छन् । लघुजलविद्युत् सञ्चालन गर्न स्थानीयकै सहभागितामा कार्य समूह विद्युत् उपाभोक्ता समिति गठन गरिएको छ । समितिमार्फत आयोजना सञ्चालन गरिएकाले प्राविधिक समस्या पनि कम हुने गरेको छ ।
दसवर्ष यता जिल्लाका ग्रामीण क्षेत्रमा लघुजलविद्युत्बाट विद्युत् उत्पादन गर्न थालिएको हो । चिलिङदिनमा निर्मित हामसाम्भे निबुखोला दोस्रो जलविद्युत् आयोजनाबाट १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । निबुखोलाबाट मात्रै छवटा लघुजलविद्युत् सञ्चालन गरिएको छ ।
यस्तै जिल्लाका अधिकांश खोलाबाट लघुजलविद्युत् सञ्चालन गरिएको छ । ओयाम, थर्पू, नागी, फलैंचा, एकतीन, मेमेङ, सिदिन, प्राङबुङलगायतका गाविसमा उल्लेख्य मात्रामा लघुजलविद्युत् आयोजनाको विकास गरिएको हो ।
प्रतिक्रिया दिनुहोस !