रेगिस्तानका पात्रहरूसित

रेगिस्तानका पात्रहरूसित

यात्रा 

साढे चार घन्टाको यात्रा । जानु छ, मध्यरातमा आकाशको बाटो भएर । म हिँड्ने समय मेरो देशका अधिकांश मानिस सपनामा हिँडिरहेका हुन सक्छन् वा घरमा मेरो स्यानो छोरो निद्राबाट ब्युँझेर आमासित झगडा गरिहेको हुन सक्छ । म भने उत्साहको पखेँटा हालेर उडिरहेको छु– अञ्जान भूगोल र देशमा बहने हावासित स्वास फेर्नलाई ।

हिमालय एयरलाइन्सको उडान नं एच ९५५५ को हवाईजहाजबाट कतारका लागि उड्दा रातको ११ बज्नै लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको आकाशमा ताराहरूको टिलपिलबाहेक केही देखिएको छैन । एक त इमिग्रेसनको ज्यादै झन्झटिलो प्रक्रियाले अघिसम्मको उत्साहको एउटा पखेटा भने गुमाइसकेको छु ।

विमानस्थल कर्मचारीका अस्वाभाविक व्यवहारले मेरो अहम्मा ठेस लागेर मध्यरातको आकाशजस्तै धमिलो बनेको छ मनको आकाश पनि । तर, जानु त छँदैछ । क्षुद्र कर्मचारीका व्यवहार छातीको दायाँ र कतारमा कविता गरिरहेका प्रियजनको आग्रह–पे्रमलाई छातीको बायाँपट्टि बोकेर बच्चु कैलाशको गीतसँगै जहाजले काठमाडौंको भुइँ छोडिसकेको छ– ‘टाढा–टाढा जानु छ साथी एकफेर हाँसिदेऊ ।’
०००
मध्यरातमा काठमाडौं आकाशबाट उडेर साढे चार घन्टापछि मध्यरातमै दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा कतारको घडीले पौने १ बजेको संकेत गरिरहेको छ । जहाजले हमदको भुइँ छुनुअघिको रात्रिकालीन कतारको दृश्य कम रोचक देखिएको होइन । आकाशबाट देखिएको झिल्मिल कतार, सडकको छेउछाउ देखिएका ठूल्ठूला गुलुबहरूमा सडकको चौडा आयतन, सडकले लिएको घुम्ती र चौबाटा जोडिँदै, छुटिँदै परपरसम्म भागिहिँडेको दृश्यले मनलाई तृप्तिमात्रै नदिएर आफ्नो देशसँग प्रश्नसमेत गर्न लगाउँदोरहेछ– मेरो देशको प्रत्येक सहर र सहरका बीचबीचमा सुतेका सडक यो देशको आकाशबाट देखिएको दृश्यजस्तै कहिले देखुँ ?

कतार समृद्धिको इतिहास खोज्ने हो भने धेरै परसम्म पुग्नै पर्दैन । ५५ वर्षसम्म ब्रिटिस उपनिवेशवादको सिकार बनेको कतार १९७१ मा मात्रै स्वतन्त्र भएको मुलुक हो । यही ७१ यता प्रत्येक वर्षको डिसेम्बर १८ लाई कतार सरकारले इन्डिपेन्डेन्ट– डे मनाउँदै आइरहेको छ । त्यसयता छिमेकी देशसित सामान्य टेरिटोरियल विवादबाहेक उसले पछाडि फकेर हेर्नुपरेको छैन ।

उपलब्ध स्रोत, साधनको ठीक ढंगको प्रयोगले एउटा देश बन्नका लागि लामो समय कुर्नु पर्दैन भन्ने उदाहरण हो– कतार । आज विश्वमै नम्बर एक प्रतिव्यक्ति आय भएको देशको सूचीमा छ यो देश । १९९० देखि वैदेशिक रोगजारीका लागि छिट्फुट कतार प्रवेश गर्न सुरु गरेका नेपालीको संख्या कतारको कुल जनसंख्याभन्दा झन्डै डेढ गुणा बढी छ । वैधानिक रूपमा कतारमा कार्यरत नेपालीको संख्या साँढे चार लाख हाराहारीमा छ भने, अवैधानिक रूपमा बसोबास गर्नेहरू पनि हजारौंको संख्यामा छन् । कतारको आकाशबाट मैले देखेको यो रहरलाग्दो दृश्यमा नेपालीहरूको पनि प्रत्यक्ष रगत पसिना बगेको छ भन्न केही हिच्किचाइरहनु पर्दैन । आज तिनै कतार बनाउनेमध्ये केही हात जसको आग्रहमा म यहाँ आइपुगेको छु– कैयौं डाँडा, कैयैं नदी नाघेर यो मुलुकमा ।

तीर्थ, अराजक र संयोजन

‘रेगिस्तानी कवि’ उपनामले चर्चित तीर्थसंगम राई निक्कै स्मार्ट बनेर हिँड्दा रहेछन् कतारमा । विमानस्थलको यात्रु प्रतीक्षालयमा भेटिँदा त्यस्तै देखेँ । सेतो रङको सर्टमा नीलो टाई, नीलै पाइन्ट र नीलै कोटको संयोजनमा कसो–कसो किराँती अनुहार गुमाइसकेजस्तो देखिने । उचाइले अलि धोका दिएरमात्रै, नत्र त पूरा पश्चिमाजस्तै देखिँदो हो । मनमनले यस्तै भनिरह्यो ।

सीताराम थापा, ईश्वर शाही, माइला लामा, दिलीप पराजुलीहरू छेवैमा भएरमात्रै, नत्र त खोलिसकेको थिएँ दुईधर्को ओठले ताल्चा मारेको मुखको दैलो । तर, विमानस्थलबाट नज्मा पुग्दा–नपुग्दै अघिसम्म मैले बनाएको रेगिस्तानी कविप्रतिको धारणा भत्किसकेको छ । खासमा कम्पनीले आफ्ना कर्मचारीलाई अनिवार्य पोसाकको व्यवस्था गरेपछि यो लफडामा अल्झिनु परेको रैछ तीर्थले ।

उहिले बोर्डिङ स्कुल पढ्न नपाएको क्षतिपूर्ति अहिले कम्पनीले पूरा गरिदिएको भनेर तीर्थ आफैंले भनेपछि पत्याउनै पर्‍यो । नभन्दै कोठामा पुग्दा–नपुग्दै तीर्थले घाँटीमा बाँधेको दाम्लो खोले, कपडा फुकाले र पक्का आदिम मनुवाको शैलीमा घुर्दै निदाए । मेरो भने नेपाली समयअनुसार ब्युँझने समय भइसकेको हुनाले निदाउँ कि जागै बसुँको अलमलमा अल्झिरहेँ । केही समय दोधार मनोदशाबीच परदेश सकुशल आइपुगेको खबर घरतिर पुर्‍याएपछि तीर्थकै शैलीमा रेगिस्तानी भूमिलाई मैले पनि आफ्नो पहिलो निँद समर्पण गर्नु उचित ठानेँ ।
०००

विमल निभाको जुत्ता कतारको सडकमा फाटेको आठ वर्षपछि मैले उस्तै नियति भोग्नुपर्‍यो । नयाँसडकको एउटा सुज सेन्टरमा ४८ सय रुपैयाँमा किनेको जुत्ता कतार पुगेको पहिलो दिन नै खडेरीमा धाँजा फाटेको खेतजस्तो चर्चरी फुटेको देखेर मनै फुट्लाझैं भएको थियो ।

कवि विमल निभाको एउटा चर्चित कविता छ– जुत्ता । कार्यक्रमकै सिलसिलामा केही वर्षअघि कतार पुगेका निभाले लगाएको जुत्ता फाटेपछि नयाँ जुत्ता छान्दै गरेको दृश्य पत्रकार देवेन्द्र भट्टराईले ‘विमल निभाको जुत्ता’ शीर्षकको क्याप्सन राखेर अखबारमा छपाएका थिए । निभाको आफ्नै कविताको सम्झना गराइदिने त्यो तस्बिरको खुबै चर्चा भएको थियो नेपाली साहित्य बजारमा । संयोग पनि कस्तो, आज सात–आठ वर्षपछि निभाकै जुत्ताको नियति भोग्नुपर्‍यो मैले ।

त्यो पनि कतारकै सडकमा । कतार उड्नु दुईदिनअघि मात्रै नयाँसडकको एउटा सुज सेन्टरमा ४८ सय रुपैयाँ हालेर लिएको जुत्ता, कतार पुगेको पहिलो दिन नै खँडेरीमा धाँजा फाटेको खेतजस्तो चर्चरी फुटेको देखेर मनै फुट्लाझैं भएको थियो । मेरो बिरामी जुत्ता र जुत्ताको मूल्य तोक्दै गिज्याइरहने तीर्थको हाँसोको जवाफ दिन केही थिएन मसित ।

कोठाबाट निस्कनुअघि जुत्ता लाउने क्रममै एकअर्काको जुत्ताको मूल्य बताइसकेको थियौं हामीले । मैले गर्वका साथ जसरी मेरो जुत्ताको मूल्य सुनाएको थिएँ त्यसको केही घन्टामै तीर्थले मेरो जुत्ता र जुत्ताको मूल्य तोक्दै गिज्याइरहेको छ । जवाफमा मसित एउटा मात्रै विकल्प बाँकी छ– नेपाल फर्केर पसलेलाई थर्काउने र अर्को नयाँ जुत्ता लिने । तर, तीर्थको गिज्याइअघि यो मेरो तर्क पनि त्यति गतिलो थिएन । बरु लाग्दैछ, नेपाली कविले लगाउने जुत्ता र कतारको सडकबीच दुश्मनी भएको हुनुपर्छ पूर्वजन्ममा ।

घरिघरि पैतालाको बिरामी जुत्ता हेर्‍यो, जुत्ता पसले सम्झ्यो । रिस त उठेकै छ । तर, त्यही बिरामी जुत्ताले रिस कुल्चँदै कतार–सडक नाप्दै हिँडिरहेका छौँ । साँझपख अधिकांश श्रमिकको बसोबास रहेको सनैयाँ भन्ने ठाउँ पुगेका छौं । तीर्थले अहिलेसम्म बाँचेको आयुको आधा जिन्दगी परदेशमै बिताइसकेका छन् ।

कतारै बसेको पनि झन्डै एक दशक पुगिसकेछ । सनैयाँको पुरानो बजार अलअत्तिया पुगेर एकैछिन् अतीततिर फर्किए उनी । अलअत्तिया ठाउँ नै त्यस्तो जसको अनुहार आजको आधुनिक कतारजस्तो नभएर नेपालकै तराईको कुनै एउटा सिमान्त भू–भागको झल्को दिने प्रकृतिको छ । केही वर्षअघि कवि श्रवण मुकारुङसँग यस ठाउँमा आएका रहेछन् तीर्थ । ‘त्यसयता कमै आएको छु यो ठाउँ’, तीर्थ सुनाउँछन्, ‘उतिबेला मेरो आम्दानी पनि यही बजारको पाको अनुहारजस्तै थियो ।’ भर्खरै त हो, उनी प्रोफेसनल हुँदै गएका ।

कतारमा बसेर पेट पाल्ने काम मात्रै गर्दैनन् तीर्थ । कतारको नेपाली समाज र साहित्यको एक्टिभिस्ट पनि हुन् उनी । सन् २००८ देखि निरन्तर नेपाली साहित्यको विकास र योगदानका लागि घोत्लिइरहेका छन् । कतारमा बसेर नेपाली साहित्य गर्नेहरूमा फस्ट जेनेरेसनको लिस्टमा छ– तीर्थको नाम । साहित्य लेखनमात्रै नभएर साहित्यलाई सांगठानिक आकार दिएर कसरी काम गर्न सकिन्छ भन्ने उदाहरण पनि हुन् उनी । ‘अनेसास’को दुई कार्यकालमा आफ्नो नेतृत्व–क्षमतामा प्रश्न उठ्ने कुनै अलोकप्रिय निर्णय गरेनन् उनले ।

विशेषत कतारमा पछिल्लो समय कविता कर्म गरिरहेका धेरैका मेन्टर हुन् उनी । ‘दुई कार्यकाल संस्था चलाएँ । साहित्यको पचासौं इभेन्ट सफलतापूर्वक सम्पन्न गरिसक्यौं । कुनै समय कतारमा साहित्य गर्नेहरू पनि विभाजित थिए, अहिले सबै एकै ठाउँ जम्मा भएका छौं । अब नेतृत्व हस्तान्तरण गर्छु ।’ ढल्नै लागेको दिन भए पनि तीर्थका कुरा उदाउँदै गरेको घामजस्ता थिए । रोजीरोटीका लागि देश छाडेर, परदेशमा तीर्थ र उनको टिमले गर्दै गरेको कामको समीक्षा भोलि नेपाली साहित्यले गर्ने नै छ ।

धीरज, राजनीति र रेडहर्स

झन्डै एक दशकदेखि कतारमा कार्यरत धीरज यहाँको नेपाली राजनीतिसँग जोडिएर आउने एउटा महत्वपूर्ण नाम हो । राजनीतिमा डेमोक्र्याट धारलाई आदर्श मान्ने उनी नेपालमै पनि विद्यार्थी राजनीतिमा सक्रिय थिए । कतारमा धीरजको सक्रियता त्यसैको निरन्तरता हो भने हुन्छ । सनैयाँ पुगेदेखि नै तीर्थले सम्पर्क गरिरहेका थिए धीरजलाई । कतारको जुसले विरक्त बनिसकेका हामीले जुसको विकल्पको लागि पनि धीरजलाई खोजी गरिरहेका हौं ।

तर, हामीले सोचेझैं सहजता देखिएन धीरजको उपस्थितिले पनि । राज्यले नै सञ्चालन गरेको एक मात्र कतारको मदिरालयमा मदिरा किन्न सामान्य तलब–भत्ता बुझ्ने मानिसको पहँचले नभ्याउने रहेछ । कम्तीमा साढे सात हजार कतारी रियलभन्दा माथि मासिक आम्दानी गर्नेका लागि भने सरकार आफैंले मदिरा पिउन सक्षम भनेर प्रमाणपत्र उपलब्ध गराउने रहेछ ।

लाखौं नेपालीमध्ये केही सय वा हजारको मात्र त्यहाँसम्म पुग्ने हैसियत छ कतारमा । तर, नपिई सुख भए पो ! अनेक जुक्ति लगाएर भए पनि आ–आफ्नै गच्छेअनुसार मदिरा सेवन गर्नैपर्ने । नत्र त रक्स्याहा करियर नै धरापमा परिजाने पीर ।

यहाँका भुक्तभोगी तीर्थ र धीरज दुईतिर फर्किएर फोन घुमाउन थाले । निक्कै मेहनतपछि एक ठाउँमा मदिराको भाँज भेटिएको खबर कतारको तात्तातो हावासँगै सुनेछन् दुईले । लाग्थ्यो, स–स्यानो युद्ध नै जितेका हुन् उनीहरूले । धीरज र तीर्थले यो खुसीको खबर सुनाए मलाई । मैले दुःखी हुनुपर्ने कुनै कारण नै थिएन । कतारमा पहिलोपटक मापसे गर्न पाइने उत्साहले खुसी नै देखिएको हुँला । ढिला नगरी धीरज चढ्ने टोयटा कम्पनीको पिक–अपमा बसेर तीन भाइ हुइकियौं । सनैयाँको एक अनाम ठाउँतिर । करिब १५ मिनेटको दुरी छिचोली सकेपछि हाम्रो गाडीले सडकको एउटा किनार ताक्यो बिस्तारै... ।

गाडीबाट ओर्लिएर एउटा बैंस सकिइसकेको भवनको पहिलो तला उक्लियौं । कोठामा छिरेको केही मिनेटमै खबरकागजमा बेरिएर आइपुग्यो ‘रेडहर्स’ नाम गरेको फिलिपिनो क्यान बियर । हामीले रेडहर्स चढ्न सुरु गर्‍यौँ । रेडहर्सकै रेसमा हामीले चढिरहेको यो दुर्लभ हर्सको तस्करीबारे बुझ्दैछु । मदिरा–लाइसेन्स भएकाहरूले सरकारी डिलरबाट सस्तो दरमा खरिद गर्दा रहेछन् मदिरा र दोस्रो व्यक्तिलाई बेच्दा रहेछन् । दोस्रोले तेस्रो गर्दै अवैधानिक ढंगले एउटा मदिराको प्याक पाँचौंपटकसम्म बिक्री हुन्छ भन्ने अनौठो रक्स्याहा तथ्य फेला प¥यो ।

कतिऔँ पटक बिक्री भएर हामीकहाँ आइपुगेको ‘रेडहर्स’ चढेपछि बल्ल यति कुरा बुझ्दैछु । यही रातो घोडाको करिब एकघन्टे रेसले टाउको रन्थनिएर आँखा तिरमिर हुँदै गएको छ । घोडाको प्रेसरले तीर्थको असली अराजक छवि देखिन सुरु भइसकेको छ । वरिष्ठताको आधारमा धीरज र मैले मानिदिनुपर्ने उनको उर्दी नै छ । नमाने हातपातै गर्लान्जस्तो । तीर्थको डाङ्डुङ्गे व्यवहारबाट आजित धीरज, ‘हजुर ! दाजु, नमस्कार दाजु’कै शैलीमा बस्न उचित मान्छन् ।

धीरजलाई पुरानो अनुभवले सिकाएको पाठ हुनुपर्छ । म भने तीथैसँग जोरी खोजुँ भन्ने लाइनमा छु । किन टेर्नु तीर्थले, बरु ज्यान जाला हच्किए पो ! रात निक्कै हिँडुन्जेलसम्म पनि तीर्थ र मेरो ताल उस्तै देखेपखि धीरजले समन्वयकारी भूमिका अपनाउन खोजे । तीर्थले टेरे पो ! केही नलागेपछि धीरजले मलाई आफ्नै कोठामा लगेर सुताए । उता तीर्थ बसेको ठाउँबाट उठ्नै नसक्ने गरी ढलेछन् । वर्षौंदेखि रेगिस्तानका कविले बगाएका पसिना र आँसुले मात्तिएर होसमा फर्कंदा, अघिल्लो दिनका सबै घटना सपनाजस्तै लागिरहेको छ मलाई ।

माया केसी र १८ नेभेम्बर

‘तपाईंले मञ्चमा उभिएर कागजका पाना पल्टाउँदै कवितावाचन गरिरहँदा, मलाई लागेन कि– तपाईंले अक्षरमात्रै पढिरहनुभएको छ । तपाईंले त दूरदराज गाउँका मानिसलाई हाम्रै अघि उभ्याएर उनीहरूको दुःखसुख, मुस्कान, आँसु र अनेकौं संघर्षका कथा पनि सुनाइरहनुभएको छ । उनीहरूको सास्ती, ऐठन, र चोटहरूका बारे हामीलाई बताइरहनुभएको छ ।

पहिलोपटक यस्तो परिस्थितिमा अल्झिइरहेँ कि, म आफू बसेको स्थान र समय म आफैंसँग रहेन– दुई घन्टाको अवधि । मैले तपाईंका कविता सुन्न छुटाएको थिएँ भने जीवनमा कविता भन्ने चिज नै छुट्ने रहेछ ।’ चितवन निवासी मित्र उदय अधिकारी कविताले मानिसलाई विचलित बनाउनुपर्छ भनिरहन्छन् । तर, म त आफ्नै कविताको प्रतिक्रिया सुनेर विचलित बनिरहेको छु । उदयजीलाई मेरो जिज्ञासा– के पाठकको प्रतिक्रियाले यसरी विचलित हुन पाई कि नपाई ?

आठ वर्षदेखि कतारमा बसेर व्यापार र समाजसेवामा क्रियाशील माया केसीको प्रतिक्रिया हो माथिको । अंग्रेजी साहित्यकै विद्यार्थी माया कार्यक्रममा विशिष्ट श्रोताका रूपमा आमन्त्रित पाहुना थिइन् । एउटा कविका लागि लेखन करियरमा सबैभन्दा महŒवको पाटो भनेको पाठकीय प्रतिक्रिया हो । असल पाठक सधैं मौन बसेर पढिरहन्छन्, सुनिरहन्छन् र उनीहरूको पठन– श्रवणले दिएको असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसरी नै व्यक्त गर्छन् । पाठकको यही प्रतिक्रियाले एउटा कविको बाँकी लेखनयात्रा तय गर्ने आधार तयार गर्न मद्दत गर्दोरहेछ । १८ नोभेम्बरको दिन कवितावाचन पछिको एउटा पाठकको प्रिय प्रतिक्रियाले मन त्यसैत्यसै विचलित बनिरहेको छ अहिले पनि ।

०००

१८ नोभेम्बर । मेरा कविताको दुईघन्टे वाचनपछि कतारमै कार्यरत कवि, गजलकारको सिर्जनासमेत सुन्न भ्याएको छु । के र कस्ता लेखिरहेका छन् यहाँका कवि लेखकहरू ? जिज्ञासा हुने नै भयो । सीताराम थापा, दीप मिलन, राजन राई, राजन इनोसेन्ट, टीका खड्का, रूप रसाइलीहरूको शब्दमा चोट महसुस गरिरहेको छु । कुनै पनि सिर्जना शक्तिशाली हुनका लागि शब्दमा चोट हुनु पहिलो सर्त हो भन्ने बुझेको हुँ मैले ।

माइला लामा, गणेश क्षेत्री, ईश्वर शाही, वीरेन्द्रकुमार याक्थुम्बा, नीराजन प्रभात, केबी लिम्बू, भानु सुनवार, उमेश बस्नेतहरू आजको समसामयिक चेतलाई छोएर लेख्दारहेछन् । दिलीप पराजुली, मणि पौडेल, श्यामराज रानाभाट, थर्चा लामा, चक्र कार्की, सुरेश भेटवाल, नेत्र बस्नेत, ईश्वर राई, बिन्देश्वर ठाकुरहरू सिर्जनामा प्रणयका कुरा लेख्न माहिर रहेछन् ।

प्रेमप्रसाद भट्टराई, अशोक तामाङ, राजन लामा, बेचन महतो, हरिविनोद अधिकारी, सुरेशमान तामाङ, उमेश बस्नेत, छत्रबहादुर खत्री, विजय फोम्बो, नेत्र बस्नेत, केबी लिम्बू, कुँवर सुशील, दिलीप अविरल, तेज कटुवालहरू परदेशबाट देशपे्रमका कुरा गरिरहेका छन् । उनीहरूको सिर्जनामा कहीँ न कहीँ परदेशी भएकोमा लघुताभास र असन्तुष्टिको झल्को देखिन्छ । सिर्जनामा संख्याभन्दा गुणको महत्व हुन्छ भन्ने कुरा कतारका सिर्जनशीलहरूले महसुस गरेका रहेछन् । यी मेरा बुझाइ भोलिका दिनहरूमा गलत साबित हुँदैन भन्नेमा विश्वस्त रहुँ ?



चानक पोखरेल र किस्सा

रक्सी पिउनु परे तीर्थसँग सबैभन्दा पहिले चानक पोखरेलकोमा आउँदा रहेछन् । कहिलेकाहीँ त मध्यरातमा पनि हमला गर्दा रहेछन् तीर्थ चानकको मोबाइल स्क्रिनमा पुगेर । १८ वर्षदेखि कतारमा कार्यरत चानक कतारी पोलिटिक्समा एक हर्ताकर्ता क्यारेकटरको रूपमा चिनिन्छन् ।

एमालेको खरो राजनीति गर्ने चानकको बाक्लो सम्पर्क हुन्छ पार्टीका उच्च ओहोदाका नेताहरूसित । छुट्टी मनाउन नेपाल आउँदासमेत पार्टीगत भेटघाटमै व्यस्त रहन्छन् । कतारको टुरिज्म एरिया कर्नेक्स र आसपास उनकै पछिपछि हिँडिरहँदा उनीबारे यति बुझेको हुँ । फर्साइलो स्वभावका चानकको अनुपस्थितिमा समेत नजिकका हितैषीहरू रमाइलो गरिरहेका हुन्छन् । चानकका रमाइला किस्सामध्ये चर्चित दुई किस्सा यस्ता छन्–
किस्सा नं. १ः

एमालेको कुनै एउटा सम्मेल

नताका चानकले कतारबाटै प्रभास पार्टी इन्चार्ज भीम रावललाई फोन गरेर सोधेछन्– कामरेड, ल रिर्पोट गर्नोस् के भइरहेको छ नेपालमा ? नेपालका कामरेडले सातो लिने गरी कतारका कामरेडलाई थर्काउँदै भनेछन्– मैले रिपोर्ट गर्नुपर्ने तिमी को हौ ? आफ्नो हैसियतबारे नेपाली कामरेड रावलले प्रश्न गरेपछि चानक चुप भएछन् ।
किस्सा नं. २ः

कतारकै साथीहरूसँगको एक भेटमा उनीहरूको औपचारिक अध्ययनको कुरा उठेछ । चानकले विश्वविद्यालयको राम्रै डिग्री लिएको हुँ भनेपछि, साथीहरूले सोधेछन्– तपाइँले कुन फ्याकल्टीबाट अध्ययन गर्नु भो ? धेरै अघि अध्ययन गरेकोले मैले पढेको फ्याकल्टी नै भुलेछु भनेपछि, सोध्ने साथीहरू पनि तैँ चुप मै चुप ।

दीपक भेटवाल र ऊँट

कतारमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि आवाज उठाउने नेपाली पत्रकार देवेन्द्र भट्टराईसँग जोडिएर आउने अर्को नाम हो– दीपक भेटवाल । तत्कालीन कतारका राजदूत सूर्यनाथ मिश्रको कार्यकालमा श्रमिकका हकहितका लागि दूतावासले गरेको सकारात्मक पहलमा भट्टराई, भेटवाल, शिवराज गौतम र गणेश बन्जाडेहरू जोडिइरहे । उनीहरूको निरन्तरको पहलले धेरै नेपाली श्रमिकको उद्दार पनि भएको रहेछ ।

तुलनात्मक रूपमा दस वर्षअघि र अहिलेका श्रमिकको हकमा धेरै सुधार भएको देखिन्छ । यस कामको केही जस यिनै भेटवालहरूलाई पनि जान्छ । कतारको संस्थागत साहित्यको प्रारम्भिक दिनमा भेटवालले संस्थामा सक्रिय रूपमा काम गरेको भए पनि अहिले उनी निष्क्रिय रहेछन् ।

कार्यक्रममा निम्तालु भएर जानेबाहेक उनी आफ्नै व्यापार–व्यवसायमा इन्जोय गरिरहेका छन् । दीपकको समूहले केही वर्षअघि प्रोफेसर अभि सुवेदी कतार पुग्दा होमसाइड लगेर ऊँट सवार गराएका थिए । अभि सरको जाइफल जोगाउन मुस्किल भएको कुरा पनि यिनै भेटवाल र देवेन्द्रहरूले अखबारमा लेखेका थिए ।

बिन्देश्वर ठाकुर र गाउँ

अखबारमा प्रशस्तै सुनिएको ठाउँ हो जमेलिया । खास नेपालीको दुःख हेर्ने हो भने जमेलिया पुग्नुपर्छ भन्ने पनि सुनिएकै हो । कतारको त्यही रिमोट एरिया जमेलिया पुग्ने मेरो रहर व्यवसायी उमेश अधिकारीले सम्हालिदिएका छन् आज । मान्छे पूर्बेली भए पनि उमेशले गाउने पश्चिमे गीतहरूको भाका, गीत गुनगुनाउनै नजान्ने तीर्थ र चानकको गुन्गुन् । गुन्गुनाउन रहर गर्ने मेरो रहरे स्वरले डेढ घन्टाको लामो बाटो सकिएको पत्तै भएन । जमेलियामै भेटिए कवि विन्देश्वर ठाकुर । उनैको नेतृत्वमा गाउँको पनि गाउँ मजरा घुम्न निस्कियौं हामी ।

अखबारमा पढेजस्तो त केही देखिएन यहाँ । वरिपरि हरिया रूखको गीत हावामा सुनिन्छ नबुझिने गरी । मध्यदिनको पारिलो घाममा तरकारी गोडिरहेका छन् किसान । नजिकै छ भेडीगोठ । नोभेम्बरको जाडोमा घाम ताप्न बाहिर निस्किएका छन् भेडाको बथान । हामी पुगेको देखेर लाजले गुरुरु भित्रै दैडिए भेडाका बथान । मैले सुनेजस्तो नेपाल र उनीहरूको दुःख केही छैन यहाँ । नेपाली भन्नु अहिलेलाई हामीमात्रै छौं ।

अरू त केही इन्डियन, केही बंगालीहरूमात्रै छन् बारीमा काम गरिरहेका । ‘एकाध नेपालीहरू केही अघिसम्म यहीँ बारीमा काम गरिरहेकै थिए । तर, अहिले रहेनछन् । दुई वर्षअघि राजन मुकारुङले पहिचानको पाठ पढाएका थिए यहाँका नेपालीलाई । अहिले तिनै नेपाली कामदारहरू समेत पहिचानको खोजीमा निस्किए होलान्,’ नेपाली कामदारप्रतिको मेरो जिज्ञासामा तीर्थको ठट्यौली जवाफले ओठभरिको हाँसो मात्रै भेटियो । बारीबाट फर्केर विन्देश्वरको कोठा पुग्यौं हामी । मैथिली भाषामा राम्रा कविता, गजलहरू सुन्यौं । साँझ पर्नै लागेको हुनाले जमेलियालाई, जमेलियामै छोडेर दोहा रिर्टन् भयौं, उही उमेशको पश्चिमे लोकभाका, चानक र तीर्थको बेसुरे सुरमा ।

राजन राई र थप्पड

पछिल्लो समय कतारमा बसेर राम्रा कविता लेखिरहेका दुई राजनहरू छन्– राजन इनेसेन्ट र राजन राई । उनीहरू तीर्थसंगमकै संगतबाट कवितामा आएका हुन् । कतारमा ज्येष्ठताका आधारमा कहिलेकाहीँ भाइहरूलाई तीर्थ हातपात नै गर्दा रहेछन् । तीर्थको हात्पात् भाइहरूले केही नभनी सहिदिनुपर्ने । कविता काण्डमा राजन इनोसेन्टले भेटेको थप्पड नसेलाउँदै कतारको एक मध्यरात अर्को राजनले पनि थप्पड भेटिइहाल्यो ।

खै कुन काण्डले हो, नेपालबाट तीर्थलाई भाउजूले फेसबुकमा ब्लक नै गरेकी रहिछन् । पछि राजनहरूकै सिफारिसमा भाउजूले फुकुवा गरिदिएकी थिइन् । राजनले यस्तै केही प्रसंग उठाएका मात्रै के थिए, रेडहर्सकै रन्कोमा एउटा आवाज मिसिन आइपुग्यो हामीसँग ‘प्याट–प्याट ।’

रातको सन्नाटामाथि अर्को सन्नाटा थपियो हामीसँग । राजनको पाहुना बनेर गएका धीरज र मलाई असहज भयो । चार भाइले रित्याएको खाली क्यान चारतिर देखिरहेको छ जूनको उज्यालोमा । हामीलाई हेर्ने अरू कोही नभए पनि आकाशको जूनले चियाइरहेको छ । त्यही जूनसँग पनि लजायौं हामी । हात हालेर आफैं साँढे भई टोपल्ने तीर्थलाई सम्झाउने कोही माइकलाल छैन यहाँ । बरु मध्यरातमा तीर्थ आफैंले चड्काएको राजनको गालालाई आम माफी दिएर हिँडे त्यहाँबाट ।

मनि पौडेल, गाडी र बिदाइ

बाह्रदिने कतार बसाइका यी र यस्तै झल्को बोकेर २६ नोभेम्बरको बिहान झोलीतुम्बी बोकेर तीर्थसंगमको कोठाबाट बाहिरिँदैछु । एयरपोर्टसम्म तीर्थसँगै जाँदैछन् । मनि पौडेल गाडी लिएर आइसकेका छन् । तीर्थ र म मनिको गाडीमा बस्छौं । विस्तारै गाडीले आफ्नो लय समात्छ । बाटामा हामीले गर्नुपर्ने खास कुरा केही नै थिएन । जे–जे गर्नुपथ्र्यो बाह्रदिने कतारको बसाइमा सके जति गरिसकेका थियौं । नगर्नुपर्ने त खास केही गरेनौं हामीले ।

कतारको पहिलो दिन रेडहर्सले मातेर झगडा गरेका थियौं तीर्थ र मैले । पालैपालो गर्दै दुवै रोएका पनि थियौं । धीरज, एकराज र अमृत दाइहरू हामीले खसाएका आँसुका साक्षी हुनुहुन्थ्यो । यायोक्खा कतार शाखाको सम्मान कार्यक्रमको अघिल्लो रात छतमा बसेरै रात छर्लंगै बनाएको अनिँदो रात कसरी बिर्सनु ?

त्यसरात कविहरू श्रवण मुकारुङ, भूपाल राई, मनु मञ्जिल, चन्द्रवीर, स्वप्नीललगायत चिनेजानेका लेखक कविका कुरा काट्दै हाँसेका थियौँ । हामीले हाम्रै कुरा काटेर आनन्द मानेका थियौं । मजरा, कर्नेक्स, तरवार गेट, होमसाइट, मुन्तजा पार्कजस्ता सुन्दर ठाउँका चित्र पनि आँखैमा छन् ।

१८ नोभेम्बर साँझ कार्यक्रमपछि मनिजीले डल्लै कतार घुमाएको क्षण, कतारको कुनाकुनाका साथीहरूलाई पुर्‍याउनु कम सास्ती परेको होइन । कतिखेर घर पुगेर आराम गरौं नलागेको कहाँ हो र ? मनिजीको डिउटी छोटिनुको साटो अझ लम्बिरह्यो । सायद गाडी कुदाउन जान्नु पनि कहिलेकाहीँ दिक्दारै लाग्दो हो कि मनिजी ?

बाह्र दिनसम्म यहाँका सहर, सडक र गल्ली आफ्नाजस्ता लाग्दालाग्दै कतार छोडिरहेको यो क्षण कतारको आकाश पनि पूरापूरा धुम्मिएको छ । छिट्फुट आकाशबाट खस्दै गरेको पानीको थोप्लासँगै हमद अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका रहेछौं हामी । कतार एयरलाइन्सको उडानबाट देश फर्किनुअघि मनिजीले तीन भाइको सेल्फी खिचेर फेसबुकको भित्तामा टाँसेर बिदाइ गरे । सिमसिम पर्दै गरेको झरीमा जहाजले रेगिस्तानको भुइँ छाड्यो । झरीसँगै छोडियो रेगिस्तान, छोडिए रेगिस्तानका पात्रहरू ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.