यूएईबाट सिक्नुपर्ने पाठ

यूएईबाट सिक्नुपर्ने पाठ

संयुक्त अरब एमिरेट्सको अबुधावीमा बन्दै गरेको भविष्यको सहर ‘मस्दार सिटी' मा अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा एजेन्सीको केन्द्रीय कार्यालय छ । उक्त सहर विश्वभर प्रख्यात हुनुको एउटै कारण हो, जसले शून्य कार्बन उत्सर्जन गर्दछ ।

सन् २०२५ सम्म निर्माण पूरा हुने लक्ष्य राखिएको उक्त ‘भविष्यको सहर' मा खपत हुने सम्पूर्ण ऊर्जा नविकरणीय ऊर्जा हुनेछ, यसको अर्थ हाल ऊर्जाको प्रमुख स्रोत रहेको जैविक इन्धनको प्रयोगबाट मस्दार सिटीलाई टाढा राखिनेछ ।

हरेक वर्ष संयुक्त अरब एमिरेट्सले नविकरणीय ऊर्जासम्बन्धी नयाँ एजेन्डा तयार गरेर शिखर बैठकको आयोजना गर्ने गर्छ र विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई आमन्त्रण गर्ने गर्छ । सन् २०१७ को जनवरी १६ देखि १९ सम्म चलेको ऊर्जा सम्मेलनमा प्रमुख वक्ताका रूपमा निम्त्याइएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनलाई सम्बोधन गरेर नेपाल फर्किसकेका छन् । यो शिखर सम्मेलनको नारा ‘नविकरणीय ऊर्जाको भविष्यको बारेमा विश्वव्यापी बहस' रहेको थियो ।

यूएईले व्यावहारिक रूपमै नविकरणीय ऊर्जा प्रयोग हुने गरेर अर्बौं डलर रकम खर्च गर्दै भविष्यको सुन्दर सहर बनाउने कोशिस गरेको सन्दर्भमा नेपालको लागि यो शिखर सम्मेलन ऊर्जासम्बन्धी ज्ञान प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेल्ने आधार प्रशस्त छन् । उक्त शिखर सम्मेलनमा ३२ वटा देशबाट करिब छ सय ऊर्जासम्बन्धी काम गर्ने कम्पनी र एक सय ५० देशबाट करिब तीस हजारजना सहभागी भएका थिए ।

शून्य कार्बन उत्सर्जन गर्ने सहर ‘मस्दार सिटी' निर्माणको सुरुवात सन् २००६ बाट भएको थियो । सन् २०१५ सम्ममा दस लाख वर्गमिटरको क्षेत्रफलमा यो सहर विस्तार गरिसकिएको छ र सन् २०२५ सम्ममा यसको निर्माण पूरा गरेर करिब चालीस हजार जनसंख्याका लागि आवास क्षेत्र उपलब्ध गराउन संयुक्त अरब एमिरेट्स प्रतिबद्ध छ ।

सहरको निर्माण सुरु नहुँदै यहाँ एउटा ‘रिसर्च इन्स्टिच्युट' बनाइएको थियो, जसले ऊर्जासम्बन्धी सिद्धान्तलाई व्यावहारिक प्रयोग गरेर आएको निश्कर्ष र त्यसको सहायताले बनेको ‘अप्टिमाइज्ड इन्जिनियरिङ' प्रयोग गरेर सहर निर्माण गर्ने लक्ष्य राखेको थियो ।

सहरको निर्माण क्रममा आवश्यक पर्ने ऊर्जाको मागलाई पनि सोलार प्यानल प्रयोग गरेर पूर्ति गरिएको छ । अहिले करिब बाईस हेक्टर जमिनमा लगाइएको सोलार प्यानेलहरूबाट दस मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भएको तर निर्माणको यो चरणमा सबै ऊर्जा खपत नहुने हुँदा तीन मेगावाट भन्दा बढी ऊर्जा अन्य ठाउँमा आपूर्तिको लागि लगिएको छ ।

गर्मी महिनामा करिब ५० डिग्री सेल्सियस तापक्रम हुने यस क्षेत्रमा सहरलाई चिस्याउनका लागि परम्परागत प्रविधिलाई आधुनिकीकरण गरेर प्रयोग गरिन्छ । जस्तै घरहरू नजिक बनाउने, ताकि एउटा घरको छायामा अर्को घर परोस् । छानामा सोलार प्यानलका साथसाथै पानी चिस्याउने प्रविधि पनि जडान गरेर तापक्रम न्यूनीकरण गर्नेलगायतका प्रयोग भइरहेका छन् ।

जोडले बहने हावालाई जम्मा गरेर त्यसलाई पनि चिस्याउने कामको लागि प्रयोग गरिन्छ । त्यहाँ काम गर्नेहरूका अनुसार अहिले मस्दार सिटीको बीच भागको तापक्रम अबुधावीको अन्य सहरको भन्दा दस डिग्री सेल्सियस कम छ र भविष्यमा तापक्रमलाई अझ बढी घटाउन सकिने त्यहाँका प्राविधिक बताउँछन् । यसले स्वाभाविक रूपमा ऊर्जाको प्रयोगलाई घटाउँछ कार्बन उत्सर्जनको न्यूनीकरणलाई शून्य बिन्दुमा झार्न सघाउँछ ।

मस्दार सिटीका निर्देशक ‘युसुब बेसलेब' ले एउटा अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘यो कुनै ड्रइङ बोर्डमा कोरिने अभ्यास होइन, यो निरन्तर सिक्ने, रिसर्च गर्ने र निरन्तर रूपमा सफल बाटो पहिल्याउने आयोजना हो । त्यसैकारणले हामीले पहिला इन्स्टिच्युट बनाएका हौं जसबाट हरेक सम्भावित र सकारात्मक विषयको परीक्षण गर्न सकियोस् ।

हामीले मस्दार सिटीलाई विश्वकै सबभन्दा ठूलो प्रयोगशाला बनाउन चाहन्छौं । हामी विश्वको हरेक कम्पनीहरूसँग सहकार्य गर्न चाहन्छौं, जसले नयाँ प्रविधिको निर्माण गरेको छ । हामी उनीहरूलाई जमिन र काम गर्नका लागि आवास दिन्छौं, उनीहरूको प्रविधिलाई हामीले हाम्रो आवश्यकतासँग सन्तुलन मिलाएर यो बिग्रिरहेको वातावरण सुधार्न जे गर्नुपरे पनि तयार छौं ।'

यो सहर निर्माणको क्रममा प्रयोग हुने सम्पूर्ण सामग्री वातावरणमैत्री छन् । ती सामग्री आपूर्ति गर्ने स्थानीय र अन्तर्राष्ट्रिय बजारलाई पनि आवश्यक निर्देशन दिएर त्यसैअनुसारको प्रविधि प्रयोग गर्न लगाइएको छ । निर्माणकार्यमा प्रयोग हुने सामग्री ढुवानी गर्न पनि जैविक इन्धन प्रयोग नहुने खालका साधन प्रयोग गरिएको छ ।

हरेक दिन राजनीतिक खिचातानी सुनेर कान पाक्ने र त्यो देखेर आँखा दुख्ने नेपालीको नियत बनिरहेको बेलामा देशबाहिर बनिरहेका यस्ता मेगा स्ट्रक्चरको बारेमा अध्ययन, अनुसन्धान, सहभागिता र प्रविधिको आयात गर्ने कुरा समृद्धि हासिल गर्नको लागि सकारात्मक आशा जगाउने घटना हुन् ।

लामो समयसम्म प्रधानमन्त्री स्तरीय भ्रमण नभएको मुलुकमा भएको उच्चस्तरको यो भ्रमणबाट हामीले कुरा सिक्न सक्छौं । छुद्र राजनीतिको तहबाट माथि उठेर विकास र समृद्धिको दिशामा जान यस्ता अवसर धेरै महत्वपूर्ण हुने गर्छन् ।

भर्खर विकास पथमा लम्किएको नेपालको अबको बाटो भनेको विश्वस्तरीय आयोजना निर्माण र परिचालन नै हो । तसर्थ राजनीतिक र सामाजिक इमान्दारिता प्रयोग गरेर आफूलाई सबल र सक्षम बनाउन सबैतिरबाट पहल गरौं ।

विकासका सपना बाँडेर मात्र भोट बटुल्ने राजनीति गर्न जानेका नेताहरूले देशबाहिर भएका समृद्धिका कामको बारेमा अध्ययन-अनुसन्धान गर्न हरेक पार्टीहरूभित्र एउटा संरचना बनाउन जरुरी छ । नेपाल सरकारले पनि हाम्रा विद्यार्थीलाई यूएई सरकारसँग कुनै न कुनै रूपमा आग्रह गरेर मस्दार इन्स्टिच्युटमा अध्ययनका लागी पठाउन सक्ने हो भने, केही वर्षमा नेपालमा पनि विश्वस्तरको दक्ष जनशक्ति उपलब्ध हुने थियो ।

अब हरेक राजनीतिक दलमा समृद्धिलाई सम्बोधन गर्ने गरेर एउटा संरचना निर्माण गर्नु र कतिपय अवस्थामा दलहरूकै पहलमा र कतिपय अवस्थामा सरकारको पहलमा विश्वभर बनिरहेका यस्ता मेगा स्ट्रक्चरको निरीक्षण र त्यसबाट प्राप्त हुने ज्ञानको आयात जरुरी छ र यस सम्बन्धमा सबै दलबाट तत्काल धारणा आउनु जरुरी छ ।

अन्त्यमा, बदलिँदो विश्वको राजनीतिलाई प्रभाव पार्ने एउटा महत्वपूर्ण अस्त्रको रूपमा ऊर्जा रहेको छ । अबको केही दसकमा हाम्रो विश्व ऊर्जासंकट समाधानमा धेरै अघि बढिरहेको हुनेछ र मस्दार सिटीजस्ता अरू पनि भविष्यका सहर निर्माण हुनेछन् ।

भर्खर विकास पथमा लम्किएको नेपालको पनि अबको बाटो भनेको विश्वस्तरीय आयोजना निर्माण र परिचालन नै हो । हामीले सिक्नुपर्ने कुरा धेरै छ, तसर्थ राजनीतिक र सामाजिक इमान्दारिता प्रयोग गरेर आफूलाई सबल र सक्षम बनाउन सबैतिरबाट पहल गरौं ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.