गाविस सचिवले काम छोडेर छाप बुझाए
डोटी : गाउँ विकास समिति (गाविस) सचिवले आफ्ना माग पूरा नभएसम्म काम नगर्ने भन्दै छाप तथा लेटरप्याड जिल्ला विकास समितिमा बुझाएका छन् । गाविस सचिव हकहित केन्द्र डोटीले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै छाप बुझाएका हुन्।
विभिन्न चार वटा माग राख्दै गाविस सचिव आन्दोलित भएका हुन् । गाविस सचिव हकहित केन्द्र डोटीको विज्ञप्तिमा सचिवको सरुवा माथिको प्रतिबन्ध खुला राख्नुपर्ने, संघीय कर्मचारीको समायोजन समितिमा प्रतिनिधित्व हुनुपर्ने र स्थानीय चुनाव तत्कालै गर्नुपर्ने लगायत माग समेटिएको छ।
‘बिगत १५ बर्षदेखि जनप्रतिनिधी रिक्त रहेको अवस्थामा गाविस सचिवले गाविस अध्यक्षको समेत भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा सरकारले कुनै किसिमको अतिरिक्त रुपमा प्रोत्साहन नगरेकाले आन्दोलित भएका हौं’, गाविस सचिव हकहित केन्द्र डोटीका अध्यक्ष दीपेन्द्र शाहले भने, ‘हामी सरकारबाट पीडित र अपहेलित भएका छौँ।’