टेलिमेडिसिन अप्रभावकारी

टेलिमेडिसिन अप्रभावकारी

काठमाडौः सुविधासम्पन्न विशेषज्ञ डाक्टरको सेवा दुर्गमसम्म पुर्‍याउने लक्ष्यले आठ वर्षअघि सुरु गरिएको टेलिमेडिसिन सेवा नाममात्रको साबित भएको छ । स्वास्थ्य सेवा विभागले २०६५ सालदेखि हिमाली र दुर्गम गरी २५ जिल्लामा यो सेवा विस्तार गरे पनि स्थापनाकालदेखि नै प्रभावकारी सेवा पुर्‍याउन सकेको छैन ।

२५ जिल्ला अस्पतालसँग सहकार्य गरी विभागले रोगको प्रकृतिअनुसार पाटन अस्पतालका विशेषज्ञ डाक्टरबाट परामर्शसहित उपचार दिने लक्ष्यले २०६५ देखि यो सेवा सुरु गरेको थियो । सुरुदेखि नै रोल्पा र कालीकोट जिल्लामा सेवा विस्तार हुन नसकेको र टेलिमेडिसिन सेवा प्रभावकारी रूपमा दिन नसकिएको कार्यरत जनस्वास्थ्य निरीक्षक काशी रिमालले बताए । इन्टरनेट जोड्न नसकिएको र मर्मत हुन नसकेपछि सेवा दिन नसकेको उनको भनाइ छ ।

यता विभाग र पाटन अस्पतालबीच विशेषज्ञ डाक्टर उपलब्ध गराउने सहमति भए पनि डाक्टरले बेवास्ता गरी समय नदिने गरेकाले समस्या भएको उनको भनाइ छ । जिल्ला अस्पतालका डाक्टरसँग बिरामीले विशेषज्ञ डाक्टरबाट दृश्यमा सेवा लिन पाउनेछन् भने बिरामीको समस्याको फाइल खडा गरी पठाएपछि डाक्टरले सल्लाह दिएर उपचार गर्ने गरेको थियो । तर विभागले करोडौं लगानी गरी २५ वटै जिल्लामा कम्प्युटर, टीभी, क्यामरा वितरण गरी सेवा विस्तार गरेको छ । चौबीसै घन्टा सेवा दिने भनिए पनि यो सेवाका बारेमा जानकारी नभएको र बिरामीको पहुँच पुग्न नसकेको संखुवासभाका बद्री सापकोटाले बताए ।

अहिले पनि वार्षिक रूपमा एक अस्पताललाई डेढ लाखका दरले ३७ लाख ५० हजार वितरण गरे पनि यो सम्पर्क व्यक्तिको गोजीमा पुग्ने गरेको पाइएको छ । विभागले टेलिमेडिसिन सेवा कार्यक्रमअन्तर्गत वार्षिक इन्टरनेट खर्चमात्र २५ लाख र पाँचजना कर्मचारी खटाएको छ । वार्षिक करोडभन्दा बढी खर्चेर कार्यक्रम सञ्चालन गरे पनि यसमा राज्यले चासो नदिएको, अनुगमन नहुँदा प्रभावकारी बन्न नसकेको कर्मचारीको आरोप छ ।

जिल्लाका अस्पतालमा एकमात्र डाक्टर हुँदा समय नदिने, सम्पर्क व्यक्ति हेल्थ एसिस्टेन्ट कम्प्युटरमा दक्ष नहुने, दुर्गममा डाक्टर र कर्मचारी नबस्ने, तालिम दिए पनि सरुवा हुँदा सम्पर्क व्यक्ति नहुने समस्या छ । पाटन अस्पतालका विशेषज्ञ डाक्टरले समय नदिएको कर्मचारीको भनाइ छ । छ महिनादेखि मेसिन बिग्रिएर थन्किएको छ । आठ वर्षमा सयजनाले पनि सेवा पाएका छैनन् । स्वास्थ्य विभागअन्तर्गत आपूर्ति व्यवस्था विभाग महाशाखाले टेलिमेडिसिन सेवा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नभएपछि थप व्यवस्थित गरी विस्तार गर्नुपर्ने सेवाग्राहीको माग छ ।


स्वास्थ्य सेवा विभागले २०६५ सालदेखि हिमाली र दुर्गम गरी २५ वटा जिल्लामा टेलिमेडिसिन सेवा विस्तार गरे पनि स्थापनाकालदेखि नै प्रभावकारी सेवा पुर्‍याउन सकेको छैन ।

जुन उद्देश्य पूरा गर्न खोजिएको हो त्यो नसकिएको विभागले स्वीकार गरेको छ । रोल्पा र कालीकोट अस्पतालमा ल्यान्डलाइन फोन नहुँदा इन्टरनेट अभाव भएर सुरुदेखि नै सेवा विस्तार गर्न सकिएको छैन । विभागले दार्चुला, बझाङ, बाजुरा, अछाम, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट, रुकुम, रोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्दुपाल्चोक, दोलखा, सिन्धुली, सोलुखुम्बु, खोटाङ, संखुवासभा, ताप्लेजुङ र ओखलढुंगामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसैसँग जोडेर सञ्चालनमा रहेको ‘हेल्लो स्वास्थ्य सेवा' भने प्रभावकारी भएको पाइएको छ । स्वास्थ्य समस्या १११५ मा डायल गरेर सीधा डाक्टरसँग सम्पर्क गरी सल्लाह लिन पाइने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.