नेसनल ट्रेडिङका कर्मचारी वर्षाैंदेखि कामविहीन
नेपालगन्ज: नेसनल ट्रेडिङ लिमिटेड नेपालगन्जका कर्मचारी कामविहीन भएका छन् । उनीहरू कामविहीन भएको एक दशक भइसकेको छ । केही काम नै नगरी तलब मात्र खान लाज लाग्न थालेको त्यहीँका कार्मचारी बताउँछन् । कार्यालयमा विगत एक दशकदेखि कुनै काम नहुँदा दक्षता र क्षमतामा समेत ह्रास आएको उनीहरूको गुनासो छ ।
‘काम छैन, हामी त्यसै बसिरहेका छाैं’, नेसनल ट्रेडिङ लिमिटेड नेपालगन्जका प्रमुख नरबहादुर तामाङ भन्छन्, ‘काम नै नहुँदा हाम्रो क्षमता र दक्षतामा ह्रास आएको छ ।’ साधान, स्रोत र जनशक्ति प्रर्याप्त हुँदाहुँदै पनि आफूहरू कामविहीन भएको उनले बताए । नेसनल ट्रेडिङ नेपालगन्जमा एक अधिकृत, एकएक सुब्बा र खरिदार तथा ६ जना तहविहीन गरी नौजना कर्मचारी कार्यरत छन् । उनीहरू दिनभर गफ गरेर समय बिताइरहेका छन् । जाडो मौसममा घाम तापेर उनीहरूको दिन बित्छ ।
लामो समयदेखि काम नगरी तलब मात्र खानसमेत लाज लाग्न थालेको कार्यालय सहयोगी रामप्रसाद पुडासैनी बताउँछन् । ‘कामै छैन, आयो हाजिर गर्यो, गफ गर्यो, बस्यो । हाम्रो काम नै त्यही भएको छ, काम नगरी तलब खान लाज लाग्न थालेको छ’, पुडासैनी भन्छन्, ‘गफ पनि कति गर्ने, घाम पनि कति ताप्ने, ९/१० वर्षदेखि बसेर दिन बिताइरहेका छौं ।’
नेसनल ट्रेडिङको सम्पत्तिसमेत प्रशस्त छ । नेपालगन्जको विद्युत् रोडमा एक बिघा एक कट्ठा जग्गा नेसनल ट्रेडिङको नाममा छ । नेसनल ट्रेडिङको नाममा अर्बाैको सम्पत्ति भए पनि प्रयोगविहीन अवस्थामा रहेको कार्यालय प्रमुख तामाङ बताउँछन् । मर्मत नहुँदा भवन र गोदाम जीर्ण हुँदै गएका छन् । ‘जग्गा त प्रसस्त छ तर त्यो जग्गाले के गर्ने, यहाँ कार्यालयको सामान्य खर्च धान्न मुस्किल छ’, प्रमुख तामाङले भने ।
नेसनल ट्रेडिङका २ वटा गोदाममा ६ वटा कोठा छन् । ती गोदाममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुन, राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडले धानको बिउ तथा नेपाल टेलिकमले मोबाइलका उपकरण राखेको छ । ‘आफ्ना सामान केही छैनन्, सबै अरूले नै समान राखेका छन्’, प्रमुख तामाङले भने, ‘हाम्रा केही लिलाम गर्नुपर्ने सामान मात्र छन् ।’
२०१८ साल चैत १ गते स्थापना भएको नेसनल ट्रेडिङको अवस्था पछिल्लो समय दयनीय भएको खरिदार सुरेशकुमार न्यौपानेले बताए । बजारभाउ नियन्त्रण गर्न र विदेशी समान आयात गरेर सर्वसुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले स्थापना गरेको नेसनल ट्रेडिङको अवस्था अहिले दयनीय भएको छ । नेसनल ट्रेडिङले बजार मूल्यका साथै गुणस्तर नियन्त्रणसमेत गर्ने गरेका थियो ।
खरिदार न्यौपानेका अनुसार एक दशकअघिसम्म चिनी, सिमेन्ट, छडलगायत समान नेसनल ट्रेडिङले बिक्री वितरण गर्ने गरेको थियो । ‘६/७ वर्षअघिदेखि नेपालगन्ज कार्यालयमा एक ट्रक समान पनि आएको छैन’, खरिदार न्यौपानेले भने, ‘हामी कर्मचारी काम नभए त्यसै दिन काट्छाैं ।’ कर्मचारीहरूले नेसनल ट्रेडिङलाई नयाँ ढंगबाट चलाउन माग गरेका छन् ।