लोकतन्त्रमा भाला-जुलुस ?

लोकतन्त्रमा भाला-जुलुस ?

आज गौतमबुद्धको शान्तिभूमि भाला, जुलुसले आक्रान्त छ । यो पनि त्यस्तो समयमा भइरहेको छ, जुन बेला दलहरूले पञ्चायतकालीन कालरात्रिसँग लड्दै दुई शताब्दीभन्दा पुरानो सामन्तवादको प्रतीकका रूपमा मानिने राजतन्त्र अन्त्य गरः लोकतन्त्र स्थापनाको गर्व गरिरहेका छन् । यो लाठी र भाला-जुलुस त्यसको विरुद्धमा गरिँदैछ, जसले हिजो देशको अँध्यारोसँग लड्यो, जेल र नेलको यातना बेहोर्‍यो र लोकतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेल्यो । रमाइलो त के भने यस्ता लाठी र भाला-जुलुस लोकतन्त्र नआउन्जेलसम्म कहिल्यै देखिएको थिएन । अर्थात् निरंकुश शासनविरुद्ध लड्ने बेलामा समेत कतै देखिएनन् । यस्ता भाला-जुलुसको समेत संरक्षण गर्ने लोकतन्त्र ल्याउनेहरू नै भाला-जुलुसबाट पीडित बन्नुपरेको छ ।

भाला-जुलुसको प्रयोग पहिलोपटक जुलुसको रूपमा कैलालीमा राष्ट्र र समाजको रक्षा गर्न २४ सै घन्टा खट्ने वरिष्ठ प्रहरी अधिकृतसहितका अधिकारीको हत्याका लागि प्रयोग भयो । अहिले फेरि एमालेविरुद्ध यसको प्रयोग गरिएको छ, तराईका विभिन्न भूभागहरूमा मेचीमहाकाली अभियान रोक्नको लागि । त्यसैले यो जुलुस र यसले भावी दिनमा पार्ने प्रभावका बारेमा यहाँ चर्चा गर्नु सान्दर्भिक छ ।

भाला-जुलुस गैरकानुनी

सबैभन्दा पहिला हामीले र खासगरी राज्यले सोच्नैपर्ने कुरा के हो भने लोकतन्त्रमा शान्तिपूर्वक विरोधका कार्यक्रम गर्न पाइन्छ भन्दैमा शान्तिपूर्ण कार्यक्रमका नाममा यस्ता हतियारसहितका जुलुस गर्न पाइन्छ ? सरकार र यसको शान्तिसुरक्षाको जिम्मा लिएका मानिस र लोकतन्त्रमा नेतृत्व गर्न तम्सिएका नेतागणसँग गरिने पहिलो प्रश्न हो । शान्तिपूर्ण कार्यक्रमको परिभाषा के ? भाला-जुलुसलाई शान्तिपूर्ण कार्यक्रमका रूपमा लिने हो भने खुकुरी जुलुस र पेस्तोल जुलुसलाई पनि शान्तिपूर्ण कार्यक्रमको रूपमा लिनुपर्ने दिन नजिकिँदै जानेछन् । विगतमा व्यवस्थाकै विरुद्धमा लड्दा पनि राँके जुलुसलाई शान्तिपूर्ण कार्यक्रम नमानेर धरपकड गर्ने र त्यसमा संलग्न सयौं जनालाई वारेन्ट र धरपकड गरिन्थ्यो । तर आज भाालाजस्तो खतरा हतियारसहितको प्रदर्शन हुँदा एकजना पनि राज्यले गिरफ्तार गर्न सक्दैन र वारेन्टसमेत जारी गर्न सक्दैन । के राज्यले भाला-जुलुसलाई शान्तिपूर्ण कार्यक्रमका रूपमा स्वीकार गरेको हो ?

आज एमाले त जिम्मेवार पार्टी भएका कारण त्यही रूपमा प्रदर्शन र भिडन्त गर्ने मनसाय नराख्ने पार्टी भएकाले भिडन्त निम्तिएन । तर कल्पना गरौं, दुइटा उस्तै समूह त्यही मनस्थितिका साथ भाला-जुलुस लिएर आम्नेसाम्ने हुँदा त्यो स्थान र नेपालको हालत के हुन्छ होला ? यो हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । भाला हाम्रो परम्परागत हतियार हो र हतियारको प्रदर्शन शान्तिपूर्ण हुनै सक्दैन । त्यसैले भन्न सकिन्छ- भाला-जुलुस शान्तिपूर्ण कार्यक्रम होइन ।

राज्य किन निरीह बन्दै छ ?

यदि शान्तिपूर्ण कार्यक्रम होइन भने त्यो नेपालको संविधानले वर्जित गरेको कार्य हो । यस्तो संविधानले वर्जित गरेको कामलाई समेत नियन्त्रण गर्न सक्दैन भने त्यो सरकारको निरिहता हो । सरकारले चाहेर नियन्त्रण गर्न नसकेको होइन कि नचाहेकै हो । कतिसम्म भने यस्तो खालको कार्यक्रम गर्नु गैरकानुनी हो भनेर भन्नसमेत चाहेन ।

जुनसुकै राजनीतिक पार्टीलाई यहाँ जान पाउन्नस् र यो राजनीतिक काम गर्न पाउन्नस् भन्नु हुँदैन । यस्ता व्यवहारले दीर्घकालमा ठूला दलहरूलाई भन्दा साना दलहरूलाई बढी असर पर्नेछ ।

संविधानले नै प्रत्येक व्यक्तिले शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउने हकलाई स्थापित गरेको छ (हेर्नुस्ः धारा १७ को उपधारा २ख) । एमालेले चाहँदा आफ्ना कुरा जनतासँग पुग्नु के अपराध गरेको छ र ? अपराध गरेको छैन र शान्तिपूर्ण कार्यक्रम हो भने त्यस्ता कार्यक्रम बिथोल्ने गरी गरिने सबै कार्यक्रम गैरसंवैधानिक हुन् । त्यस्ता गैरसंवैधानिक कार्यक्रम निस्तेज पार्न पहलसम्म नगर्नु वास्तवमै यो सरकारको निरिहता हो । सरकार यसरी निरिह बन्ने कुराले राज्यलाई कमजोरसिवाय केही बनाउँदैन । यसो हुँदा सरकारमा बस्नेहरूको शिर ठाडो कहिल्यै हुँदैन, बरु निहुरिन्छ ।

लोकतन्त्रमा शक्ति के हो ?

कतिपय राजनीतिक शक्तिको व्यवहार हेर्दा लाग्छ, उनीहरू लोकतन्त्रको शक्ति के हो भन्नेमा अनभिज्ञ जस्तै छन् । लोकतन्त्रमा जनमतमा विश्वास नगर्ने दलहरू व्यवहार त निरंकुश बन्छन् या त अराजक बन्छन् । सानो झुन्डले अनेक डर र त्रासका भरमा ठूलो समूहलाई प्रभाव पार्ने प्रवृत्ति अराजक हो र यस्तो प्रवृत्तिको आयु लोकतन्त्रमा अर्को निर्वाचन नभएसम्मको लागि मात्र हो । यही कुरा बुझेरै उनीहरू कहिल्यै निर्वाचनको लागि तयार बन्दैनन् । जति देश अस्थिर भयो उति राज्यकमजोर बन्छ, जति राज्य कमजोर बन्यो उति यस्ता समूहहरू बढी अराजक बन्छन् । यस्ता पात्रहरू हिजो पनि देखिन्थे तर विस्तारै जनमतबाटै त्यस्ता शक्ति विस्थापित बन्दै जान्छन् र गएका पनि छन् । त्यसैले लोकतन्त्रका शक्ति भनेको जनमत नै हो न कि भाला जुलुस ।

समस्या एमालेभन्दा अरू दललाई बढी छ

त्यसो त संविधान घोषणा भएपछि एमाले मात्र त्यस्तो दल हो, जसले एकपटक होइन, पटकपटक तराईमा कार्यक्रम लिएर गएको छ । उसको विशाल सांगठनिक नेटवर्कका कारण पनि ऊ एक मात्र प्रमुख दल बनेको छ, जसको हिमाल, पहाड र तराईमा उत्तिकै सशक्त कार्यक्रम गर्न सकेको छ । पछिल्लो समयमा मेचीमहाकाली अभियान त्यसैको पुष्टि हो । यही परिस्थितिमा देशका अन्य दलहरू तराईमा एउटा कार्यक्रम गर्ने शाहस गरेका छैनन् । एमालेले यसमा गर्व गरे पनि उसले तराईमा अन्य दलले पनि कार्यक्रम गर्न सक्ने वातावरण बनोस् भन्ने नै चाहेको छ किनकि उसले अवलम्बन गरेको जनताको बहुदलीय जनवादको अभ्यासको लागि पनि एमाले एक्लै दौडन चाहँदैन ।

एमालेले त वास्तवमै आफ्नो स्वस्थ प्रतिस्पर्र्धीको खोजीमा छ । त्यसैको लागि उसले अगुवाइ गरेको छ । यसका निम्ति उसको अटल मान्यताले काम गरेको छ र त्यो मान्यता भनेको राष्ट्र, राष्ट्रियता, एकता, सद्भाव, बहुदलीयता र स्वच्छ प्रतिस्पर्धाको मान्यता हो । यसमा अडिग भएर नेपाली भूभाग मागएर कार्यक्रम गर्न पाउनु त एमाले मात्र होइन, मधेसवादी दलहरूको पनि अधिकारको कुरा हो । यही अधिकारको लागि आधा शताब्दीभन्दा बढी लडेको राजनीतिक पार्टीलाई यहाँ जान पाउन्नस् र यो राजनीतिक काम गर्न पाउन्नस् भन्नु लोकतन्त्रमा सुहाउने विषय होइन । यस्ता व्यवहारले दीर्घकालमा ठूला दलहरूलाई भन्दा साना दलहरूलाई बढी असर पर्नेछ । लोकतन्त्रमा कुनै पनि दललाई गैरकानुनी रूपमा झमेला उत्पन्न गरिनु अशोभनीय हो ।

मधेस आन्दोलनको समीक्षा मधेसले नै गर्दैछ

गत वर्ष संविधान जारी भएपछि मधेसवादी दलहरूले गरेका व्यवहार लोकतन्त्रलाई सुहाउने खालका छैनन् । निःसन्देह भन्न सकिन्छ, यो आन्दोलनले समग्र देशलाई त हानि गरेकै छ, तर त्यसभन्दा बढी मधेसलाई नै गरेको छ । साँचो अर्थमा भन्ने हो भने मधेस आन्दोलनको राजधानी भनेर चिनिने प्रदेश नम्बर २ को वीरगन्ज नाकाका व्यापारीहरू नै मधेसवादी दलका नेताहरूका व्यवहारबाट आजित बनेका छन् । यसैका कारण उनीहरूको व्यापार त्यहाँबाट अन्यत्र सर्दै पनि छन् र उनीहरू यस खालका व्यवहारबाट आजित बनेर दोस्रो दिनमै बन्दको विरोधमा उत्रिए ।

वीरगन्जमा मात्र मेची-महाकाली अभियान हाललाई नपुर्‍याउनु एमाले नेतृत्वको संयमता हो । तर तराईका प्रत्येक सभा र त्यससँग सम्बन्धित कार्यक्रममा तराईवासीको जुन खालको सहभागिता भएको छ, त्यो ऐतिहासिक छ । त्यसैले प्रस्ट पार्दैछ, मधेसवादी दलहरूले गरेको मधेसको आन्दोलनको समीक्षा मधेस स्वयंले गर्दैछ, त्यसैको परिणाम हो एमालेको मेचीमहाकाली अभियानमा दिनप्रतिदिन देखिएको बढ्दो जनसहभागिता । त्यसैले त भन्ने गरिन्छ, जनता नै लोकतन्त्रका जननी र संरक्षक हुन् ।

भाला-जुलुसका सन्दर्भमै तराईवासीले राम्रैसँग बुझेका छन्, तराईको विकासमा सबैभन्दा संवेदनशील राजनीतिक दलकै विरुद्धमा प्रयोग भएबाट उनीहरू दुखित छन् । यो अभियानमा अधिकांश मधेसीहरूको उपस्थितिले यही कुराको संकेत गरेका छन् । त्यसैले त तराईमै यो खालको जनसहभागितामा सञ्चालन भएको यो पहिलो कार्यक्रम बनेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.