रभ्नालाई मिस इन्डिजेनियसको उपाधि
काठमाडौं : आफ्ना ४१ प्रतियोगीलाई उछिन्दै काठमाडौंकी २२ वर्षीया रभ्ना तन्डुकारले 'मिस इन्डिजेनियस हेरिटेज नेपाल २०१७' को उपाधि चुमेकी छन् । रभ्नाले उपाधिसहित २५ हजार रुपैयाँ पुरस्कार हात पारेकी छन् । प्रतियोगितामा काठमाडौंका अर्चना प्रधान फस्ट रनरअप घोषित भइन् भने मल्लिका बम्जन तामाङले मिस पिक्चर पर्फक्ट र पब्लिक च्वाइससहित सेकेन्ड रनरअपको उपाधि हात पारिन् । अर्चना र मल्लिकाले क्रमशः १५ र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्यासिफिट इभेन्ट्स प्रालिको आयोजनामा भएको कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङका साथै भरत आचार्य, तेन्जिङ उक्याप, विपना थापामगर, अशोकप्यासी राई, प्रदीपमान प्रधान, उज्ज्वलकृष्ण श्रेष्ठ, नीरू आङबुङ र मञ्जु श्रेष्ठ निर्णायकका रूपमा रहेका थिए । प्रतियोगितामा प्रिया लिम्बू मिस ट्यालेन्ट, सिमरन श्रेष्ठ मिस बेस्ट अट्टायर, सजना बुढामगर मिस चार्मिङ, निशा लिम्बू मिस पर्सनालिटी घोषित भए । त्यसैगरी मीना श्रेष्ठ मिस फ्रेन्डसिप, फुरु शेर्पा मिस डिस्सिप्लिन, ममता गुरुङ मिस बेस्ट स्किन, स्मृति राई मिस बेस्ट स्माइल, बबिता श्रेष्ठ मिस बेस्ट हेयर र पुनम श्रेष्ठ मिस एलिगेन्टको उपाधि पाउन सफल भए ।
कार्यक्रममा दीपक लिम्बू, रुकमान लिम्बूको गीत निशा पोमूलगायतको नृत्यले दर्शकलाई मनोरञ्जन दिएको थियो । तेह्रथुमे ढाका बुटिकले तयार गरेको परिहनमा प्रस्तुत भएका प्रतियोगी निकै आकर्षक देखिएका थिए । सहभागीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साताभन्दा बढी प्रशिक्षण दिएका थिए । प्रतियोगिताको यो दोस्रो संस्करण हो । 'आदिवासीका मौलिकता र प्रतिभावान् युवतीको प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो', आयोजक संस्थाका अध्यक्ष फुपूतेन्जिङ शेर्पाले भने ।