नयाँ बजेटबाट ‘ब्रेक थ्रु’: अर्थमन्त्री महरा
विराटनगरः अर्थमन्त्री कृष्णबहादुर महराले आउने बजेटले अर्थतन्त्रमा ‘ब्रेक थु्र’ गर्ने दाबी गरेका छन्। महराले भने,‘पहिलो संघीय बजेट आउने भएकाले यसले अर्थतन्त्रलाई थप टेवा पुग्ने विशेषता लिएर आउने छ।’
मोरङ व्यापार संघको ६२ औं साधारण सभालाई विहीबार विराटनगरमा उद्घाटन गर्दै उनले आर्थिक नीति र करको विषयमा पनि बजेटमा नयाँ कुरा आउने बताए। चालू आर्थिक वर्षमा विगतको तुलनामा पूँजीगत खर्च बढ्ने बताउँदै अर्थमन्त्री महराले भने,‘हामीले अन्तिम चौमासिक अवधिमा हुने गरेको खर्चलाई घटाउने अगाडि नै खर्च गरिसक्नु पर्ने भन्ने प्रयास गरेपनि सकेनौं। तर, आउँदा वर्षहरुमा यसलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रयास गरिने छ।’ उनले परम्परागत भन्दा भिन्न बजेट आउने जानकारी गराउँदै निजी क्षेत्रको हितका लागि सरकार सँधै प्रयासरत रहेको पनि बताए।
१०/२० वर्ष निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशले आर्थिक विकास हाँसिल गर्न नसक्ने बताउँदै महराले भने,‘पूँजीवादलाई प्रोत्साहन गरेर हो समाजवादी अर्थव्यवस्थातर्फ अघि बढ्ने।’ उनले पछिल्ला आर्थिक सूचकहरुले बीस वर्षको अवधिमा पहिलो पटक मुलुकले ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुन लागेको बताए। देशमा राजनीतिक क्रान्तिको अवधि पूरा भएकाले अब आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप मुरारकाले उद्योग धन्दा सञ्चालन पूर्व र गरिसकेपछि पनि धेरै समस्या हुने गरेको बताए। उनले सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिए । महासंघका उपाध्यक्ष किशोर प्रधानले पूर्वी क्षेत्रको औद्योगिक विकासको लागि सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिए।
प्रतिक्रिया दिनुहोस !