दर्शकमाथि कब्जा जमाउन सफल 'बाहुबली : दी कन्क्लुजन'
भारतीय चलचित्रको विश्व मुहार बलिउड हो । तर, परिस्थिति फेरिने क्रममा छ । भारतका क्षेत्रीय चलचित्रहरूले बलिउडलाई चुनौती दिँदै अगाडि बढ्ने रफ्तारले यसलाई इंगित गर्छ । तेलेगु चलचित्रका एसएस राजामौलीले दुई वर्षअघि 'बाहुबली : दी बिगनिङ' बाट स्पष्ट संकेत दिइसकेका पनि छन् । चलचित्रले पर्दामा दर्शकको कल्पनाशीलतालाई चुनौती दिँदै मन जित्यो । चलचित्रको अन्तिम शृंखलाले त्यसलाई अर्को उचाइ दिएपछि बलिउडका लागि चलचित्रको वर्तमान घेरा बढाउनुपर्ने चुनौती खडा गरिदिएको छ ।
'कटप्पाले बाहुबलीलाई किन मार्यो ? ' भन्ने प्रश्न छोड्दै दोस्रो शृंखलालाई दर्शकको पर्खाइको व्यग्रतालाई ह्वात्तै बढाएका राजामौली निर्देशित चलचित्रको दोस्रो शृंखलाले सीधै दर्शकको मनोविज्ञानमा हमला गर्छ, त्यो पनि दर्शकलाई पूरै नतमस्तक बनाएर । दोस्रो शृंखला पहिलो भाग जहाँ टुंगिएको हो त्यहीँबाट सुरु हुन्छ । चलचित्रले 'महिशमती' साम्राज्यमा अमरेन्द्र बाहुबली किन र के कारणले कटप्पाद्वारा मारिन बाध्य हुन्छन् भन्ने रहस्य खोतल्दै सत्ताका लागि हुने दरबारिया षड्यन्त्रका तानाबाना चलचित्रमा देखाइन्छ ।
चलचित्रका लागि राजामौलीले अधिकतर महाभारतका घटनाक्रम प्रयोग गरेका छन् । चलचित्रले पात्रका चरित्रहरूमा 'मिथकीय' महाभारतका पात्रहरू देखाउँछ । चलचित्रमा बाहुबली (प्रभाष) पाण्डव र कृष्णका 'कम्बो' हुन् भने भल्लालदेवा (राना दगुबत्ती) कौरव र कर्णका । चलचित्रमा भीष्मपितामह, गान्धारी, धृतराष्ट्र सबै मुखरित हुन्छन् । राजामौलीले तिनमा भरेको कल्पनाशीलताले नै दर्शकको मनमा कब्जा जमाउँछ । चलचित्र सिनेम्याटिक छ ।
करिब तीन घन्टा लामो चलचित्रलाई राजामौलीले दर्शकको नस छामेर बनाएका छन् । दर्शकलाई उनले चलचित्रसँगै लैजान्छन् । यही कारण उनको निर्देशन तारिफलायक छ । हालसम्म ११ चलचित्र बनाएका राजामौलीले यस चलचित्रबाट आफ्नो सुपरहिट चलचित्र शृंखलालाई उचाइमा लगेका छन् भन्न सकिन्छ । चलचित्रमा उनले कल्पनाशीलता कुन हदको छ भनेर प्रस्तुत गरेका छन् । उनले हलिउडको मध्यम बजेटका चलचित्रमा लाग्ने खर्चमा एउटा 'मास अपिलिङ' चलचित्र दिएका छन् । चलचित्रमा उनको निर्देशन उत्कृष्ट छ ।
चलचित्रको अर्को उल्लेखनीय र प्रशंसनीय पक्ष भनेको प्रविधिको प्रयोग मान्नुपर्छ । उनले हलिउड गुणस्तरको 'कम्प्युटर जेनेरेटेड इमेजरी' (सीजीआई) प्रयोग गरेका छन् । पहिलो शृंखलामा यो केही कमजोरी थियो । यसपटक त्यसलाई उनले गतिलो जवाफ दिएका छन् । 'महिशमती' राज्य तथा एक्सन दृश्यहरूलाई सीजीआईले सजीव बनाएको छ । कलाकारहरूको अभिनयले पनि चलचित्रलाई एउटा तहमा उठाएको छ । बाहुबली बनेका प्रभाषले 'म्याकाभेली'ले 'द प्रिन्स'मा परिभाषित गरेजस्तो युवराजको भूमिकालाई पर्दामा स्वाभाविक बनाएका छन् ।
उनको हिरोइजमले पर्दामा चलिरहँदा दर्शकको ताली र हुटिङ बटुलिरहन्छ ।
नायकको कीर्तिलाई खलनायकको भयानकत्वले स्थापित गर्छ । खलनायक जति ठूलो र भयंकर हुन्छ, नायकको नायकत्वको उचाइ उति नै बढ्छ । 'भल्लादेव' बनेका राना चलचित्रमा भयंकर छन् । राजकुमारी 'देवसेना'मा अनुष्का शेट्टी, 'कटप्पा' बनेका सतयराज, 'राजमाता शिवगामी' रमया कृष्णन, 'बिज्जलादेवा' नस्सारले गतिलो काम गरेका छन् । सबै आफ्नो भूमिकामा पृथक् छाप छोड्न सफल छन् ।
चलचित्रको एक्सन कोरियोग्राफी सर्वोत्कृष्ट छ । एक्सनमा दक्षिण भारतीय चलचित्रको आधारभूत 'ग्रामर'लाई छोडिएको छैन । युद्धका दृश्य तथा क्लाइमेक्स फाइटमा पिटर हेइनको एक्सन कोरियोग्राफी ताली दिन लायकको छ । ब्याकग्राउन्ड स्कोरले चलचित्रको ज्यान थप्ने काम गरेको छ । के के सेन्थिल कुमारको सिनेम्याटोग्राफीले चलचित्रलाई सिनेम्याटिक बनाएको छ ।
चलचित्र पूर्ण रूपमा कमजोरीमुक्त भने छैन । पहिलो शृंखलामा ठूलै स्क्रिन स्पेस पाएकी तमन्ना भाटियाको यसमा नाममात्रको अभिनय छ । चलचित्रमा उनी थपनाजस्ती भएकी छन् । चलचित्रले बलिउड फर्मुला शैलीलाई यसमा पनि कायम राख्नु अर्को कमजोरी हो । भारतीय दर्शक नभड्काउने राजामौलीले यसो गरेको देखिन्छ । उनले खतरा मोल्न नचाहेको देखिन्छ ।
चलचित्र हेरिरहँदा दर्शकका लागि यी कमजोरी गौण बन्छन् । पर्दामा राजामौलीले 'लार्जर देन लाइफ' पदावलीलाई अक्षरश: पालना गरेका छन् । उनको चलचित्र पर्दामा चलचित्रका हिसाबले 'म्यागनम ओपस' प्रतीत हुन्छ । दर्शकको मनोरञ्जनको अपेक्षालाई चलचित्रले दर्शक सन्तुष्ट हुने गरी पूरा गर्छन् । तीन घन्टासम्म राजामौलीले चलचित्र हेर्दा दर्शकलाई झिमिक्क गर्न दिँदैनन् ।
दर्शकको मनोविज्ञानमा कब्जा जमाउँदै कथा भन्ने राजामौलीको शैलीले तारिफमात्र बटुल्छ । चलचित्रले 'इन्टरटेनमेन्ट', 'इन्टरटेनमेन्ट', 'इन्टरटेनमेन्ट' मूलमन्त्रलाई आद्योपान्त बोकेको छ । चलचित्र मास अपिलिङ छ ।