मरहट्टासहित सात सम्मानित
काठमाडौः अरूपण आर्ट ग्यालरीले कला क्षेत्रका विविध आयाममा रहेर योगदान दिइरहेका सातजनालाई नन्दादेवी खनाल ललितकला स्मृति अवार्डले सम्मानित गरेको छ । लाजिम्पाट खोलागालस्थित ग्यालरीमा शनिबार आयोजित कार्यक्रममा ग्यालरीका संस्थापक कला समीक्षक एवं कलाकार रमेश खनालले आफ्नी माता नन्दादेवी खनालको स्मृतिमा स्थापना गरेको उक्त अवार्ड अन्नपूर्ण पोस्ट्की संवाददाता विनीता मरहट्टासहित कला क्षेत्रसँग जोडिएका सातलाई प्रदान गरिएको हो ।
कार्यक्रममा प्रा. गोविन्दनारायण ज्यापूलाई लाइफटाइम स्पेसल अवार्ड, पौभा कलाकार समुद्रमानसिंह श्रेष्ठलाई क्रिएटिभ अवार्ड, कला समीक्षक देवेन्द्र थुम्केलीलाई आर्ट क्रिटिक अवार्ड, कला प्रवर्तक मोतीरत्न तुलाधरलाई आर्ट प्रमोट अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी कला डिजाइनर भरतकृष्ण महर्जन र मिथिला कलाकार पुनमकुमारी दासलाई पनि सम्मान गरिएको थियो ।
ग्यालरीका संस्थापक खनालले माताको स्मृतिमा हरेक वर्ष ललितकला क्षेत्रमा समर्पित भई लागेका सर्जक÷कलाकार, पत्रकारलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानित गर्ने परम्परा बनाएको जानकारी दिँदै हालसम्म २१ जनालाई सम्मान गरिसकिएको जानकारी दिनुभयो ।