चलचित्रका हिरो गाउँपालिका प्रमुख
पोखरा : वेदबहादुर गुरुङ श्यामको आजसम्मको परिचय कलाकार हो । उनी गुरुङ भाषा संस्कृतिमा आधारित थुप्रै चलचित्रका हिरो हुन् । भर्खरै उनको अर्को परिचय थपिएको छ । स्थानीय तह निर्वाचनबाट उनी गाउँपालिका अध्यक्ष बनेका छन् । स्थानीय तहको निर्वाचनमा उनले कास्कीको मादी गाउँपालिकामा विजय प्राप्त गरे ।
चलचित्र क्षेत्रमा कमाएको ख्यातिलाई भजाएर उनी गाउँपालिकाका उम्मेदवार बनेका होइनन् । चलचित्र दर्शकका लागि हिरो वेदबहादुर राजनीतिमा रुचि राख्नेका माझ नेताकै रूपमा चिनिन्थे । नेकपा एमालेको प्रदेश ४ कमिटी सदस्य वेदले चलचित्र क्षेत्रमा भन्दा पहिला पाइला टेकेको राजनीतिमै हो । ४७ वर्षे यी अध्यक्ष आफ्नो गाउँ नामार्जुङ ताङ्तिङमा स्कुल पढ्दै राजनीतिमा संलग्न थिए ।
स्कुलबाट सुरु भएको उनको राजनीतिक यात्रा पृथ्वीनारायण क्याम्पस हुँदै झ्यांगिँदै गएको हो । क्याम्पस पढ्दै उनी अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका थिए । २०५२ सालमा उनले पहिलोपटक गुरुङ भाषाको चलचित्र न्याम्सोन्योरी (कुहिरोभित्र)मा अभिनय गरेका थिए ।
चलचित्रमा अभिनयबाट प्रवेश गरेका उनले चलचित्र लेखन र निर्देशन पनि गरे । शोसक सामन्तको विरोध गर्ने र सर्वहाराको हित गर्ने कम्युनिस्ट स्कुलिङका उनले चलचित्रमा पनि निर्धा र सोझासादाको पक्षका सन्देश दिन्थे । स्थानीय तहको निर्वाचन घोषणा हुनुअघिसम्म पनि उनी चलचित्रमै व्यस्त थिए । ठेलो चलचित्र निर्देशनको तयारीमा जुट्दाजुट्दै उनी चुनावतिर होमिएका हुन् । अहिलेसम्म आठ चलचित्र निर्देशन र लेखन गरिसकेका उनी गुरुङ चलचित्र एसोसिएसन (जिफान)का अध्यक्ष पनि हुन् ।
गाउँपालिकाको चुनावमा वेदबहादुरले चार हजार ६ सय ३७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवीजंग गुरुङले भने एक हजार मत कम ल्याए । चलचित्रमार्फत भाषा संस्कृतिको सेवा गरेका वेदबहादुर भन्छन्, 'गाउँमा पूर्वाधार विकास र संस्कृति संरक्षण सँगसँगै गर्ने लक्ष्य छ ।'