राजनीतिमा अदालत

 राजनीतिमा अदालत

सर्वोच्च न्यायालय यता आएर विभिन्न कारणले विवादमा घेरिएको छ । न्यायको शैली, न्यायिक निष्पादनमा फरक मान्यता र विरोधाभास, पछिल्लो चरणमा पहिलेका फैसला उल्टाउन बृहत् संवैधानिक इजलासको अति प्रयोग र देखिने गरी इजलासको दलीयकरणका कारण सर्वोच्च न्यायालयप्रति जनताको विश्वास घट्दो छ । यसैबीच अवकाशको केही साता मात्र बाँकी रहँदा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आएको ‘महाभियोग' प्रस्ताव फिर्ता भएको छ । प्रस्ताव दर्ता र फिर्ताको शैली र नियत दुवै राजनीतिक या दलीय प्रकृतिको भएको स्पष्ट भएको छ । अझ दुःखद् र दुर्भाग्यपूर्ण विषय यो महाभियोग फिर्ता गराउन सर्वोच्चका वर्तमान र केही पूर्व न्यायाधीशहरूले अन्तर्राष्ट्रिय ‘फोरम' मा गरेका ‘लबिङ' हुन् ।

०६३ यता न्यायपरिषद्को संरचनामा परिवर्तनसँगै न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको प्रवेशले दलीय आशीर्वाद या आबद्धता अनिवार्य सर्त बनेको छ, न्यायाधीश नियुक्तिमा । नियुक्ति समयको दलीय साँठगाँठ र समीकरण पछि फेरिन पुग्दा कतै त्यसका आधारमा फैसला त प्रभावित हुँदैन पछि गएर ? आशंका त्यत्तिकै बढेको छ ।

न्यायपालिका र न्यायाधीशबाट हुने यस्ता त्रुटि सच्याउन कठोर संरचनात्मक परिवर्तनसँगै न्यायपरिषद्मा दलीय भागबन्डा र संसदीय सुनुवाइ पद्धतिको अन्त्य, रिक्त न्यायाधीश पदमा तत्काल पूर्ति आवश्यक कदम सावित हुन सक्छन् । बदलाको भाव र नियतबाट प्रेरित महाभियोगले अदालतलाई ‘ब्ल्याकमेल' को निशाना बनाउन सक्ला, तर त्यसको चरित्र, विश्वसनीयता र स्तरीयतामा सुधार ल्याउन सक्तैन । अर्कोतिर महाभियोगजस्तो दुलर्भ अस्त्र एकपछि अर्को यो रूपमा आउने र त्यसको प्रयोजन कुनै न्यायाधीश, प्रधानन्यायाधीश या कुनै संवैधानिक अंगका पदाधिकारीलाई कामबाट रोक्न ल्याइने परम्परा स्थापित भएमा त्यो ‘ब्ल्याकमेल' को शैली बन्न जान्छ ।

दुर्भाग्य हिजो लोकमानसिंह कार्की र आज सुशीला कार्की त्यो अस्त्रको दुरुपयोगको निशाना बनेका छन् । अख्तियार प्रमुख कार्कीलाई महाभियोग दर्ता गर्नेहरूले सर्वोच्च न्यायालयको आदेश देखाउँदै प्रस्ताव अगाडि नबढाउनु र अर्कोतिर सर्वोच्चको अपमान गरेको आरोप सदनमा लगाउँदै महाभियोग प्रस्ताव छापामार शैलीमा दर्ता गरिनु त्यत्तिकै बचपना र हास्यास्पद विषय हुन् । त्यसरी कुनै पनि संसद्मा महाभियोग ल्याइँदैन । राजनीतिक मामिलामा या राजनीतिक सन्देश जाने मुद्दाहरूमा सर्वोच्च न्यायालयले धेरै नै सक्रियता देखाएको छ यता । सर्वोच्चमा २२ हजार मुद्दा थुप्रिएका र तिनलाई टुंग्याउन निर्धारित संख्यामा न्यायाधीशहरू नियुक्त हुनुपर्ने अडानका साथ सुशीला कार्कीले नेतृत्व सम्हाल्नुभएको हो ।

तर यसबीचमा कतिजना न्यायाधीशहरूको ‘उपयोग' भयो ती संख्या कम गर्नमा ? या केही ‘हाइ प्रोफाइल' मुद्दाहरूले मात्र बढी प्राथमिकता पाए ? त्यो पनि आम चासोको विषय बनेको छ ।जे होस्, महाभियोग प्रस्ताव फिर्ता गरेर राज्यका प्रमुख अंगहरूबीच ‘ब्ल्याकमेल' र राजनीतिक ‘प्रतिशोध' का आधारमा आउने तीक्तताको सम्भावना घटेको हुन सक्छ, तर यसले दुवै संस्था र प्रमुख राजनीतिक दलको नेतृत्व तहमा अपरिपक्कता देखा परेको छ । महाभियोग फिर्ता भए पनि सर्वोच्च ‘लेनदेन' को राजनीतिमा प्रवेश गरेको या अमूक दलको विस्तारित स्वरूप बन्न पुगेको सन्देश नै न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र तटस्थताको लागि सबभन्दा बढी घातकसिद्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.