जीवनजल बेच्न देश दौडाहामा औषधि लिमिटेड

जीवनजल बेच्न देश दौडाहामा औषधि लिमिटेड

नेपालगन्ज :  आठ वर्षपछि उत्पादन भएको जीवनजल बेच्नका लागि नेपाल औषधि लिमिटेडको टोली देश दौडाहामा निस्केको छ । जीवनजलको पोका बोकेर अहिले नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुसुम सुवेदीसहितको टोली देश दौडाहामा निस्केको हो । सोमबार धनगढीबाट लिमिटेडले जीवनजलको बिक्री प्रवद्र्धन थालेको थियो ।

मंगलबार नेपलगन्जमा आयोजित एक कार्यक्रममा महाप्रबन्धक सुवेदीले जीवनजल नपाएरै अकालमै कुनै पनि जनताले ज्यान गुमाउनु नपरोस् भनेर फेरि जीवनजलको उत्पादन थालिएको बताउनुभयो । ‘हामी सरकारी उद्योग सञ्चालन गरेको हैसियतले नाफामुखीमात्रै नभई सेवामुखी बिजनेस गर्न थालेका हौं', सुवेदीले भन्नुभयो, ‘सेवामुखी डिलरको खोजी गर्न हामी आफैं देशभरि बिक्री प्रवद्र्धन गरिरहेका छौं ।' नेपालगन्जमा मेडिकेम फर्मा, केयर मेडिकेम र प्रशान्त फर्माले मध्यपश्चिमका जिल्लामा जीवनजल पुर्‍याउने जिम्मेवारी पाएका छन् ।

नेपाल सरकारकै पूर्ण स्वामित्वमा रहेको औषधि लिमिटेडले उत्पादन गरेको जीवनजलको बजारमूल्य नौ रुपैयाँ कायम गरिएको छ । नेपाल औषधि लिमिटेडले उत्पादन छोडेपछि बजारमा पाइने यस्तो पुनर्जलीय औषधिको मूल्य दश रुपैयाँभन्दा बढी पर्छ । ‘हामी पहिला पनि क्वालिटीकै उत्पादन दिन्थ्यौं तर प्राविधिक कारणले उत्पादन बन्द भयो', उहाँले भन्नुभयो, ‘अहिले उद्योगमन्त्री ज्यूको सक्रियताले फेरि उत्पादन थालेका छौं ।'

उहाँका अनुसार दुर्गम तथा बिकट ठाउँमा जीवनजल पुर्‍याउन सक्ने बिक्रेतालाई बिक्रीको जिम्मेवारी दिइनेछ । अहिले दुर्गम र अत्यावश्यक ठाउँमा जीवनजल पठाउन स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको महाप्रबन्धक सुवेदीले बताउनुभयो । ‘हामीले जी टु जी प्रक्रियाअनुसार स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर प्रत्येक जिल्ला स्वास्थ्य कार्यालयमार्फत जीवनजल देशका सबै ठाउँमा पुर्‍याउने कोसिसमा छौं', उहाँले भन्नुभयो, ‘जीवनजल सरकारले घोषणा गरेको निःशुल्क औषधिमध्ये पर्छ ।'

विश्व स्वास्थ्य संगठनले तयार गरेको कुशल उत्पादन प्रक्रियाबाट नेपाल औषधि लिमिटेडले जीवनजलको फेरि उत्पादन थालेको हो । कुनै समय नेपालीमाझ जीवनजल निकै लोकप्रिय मानिन्थ्यो । योसँगै नेपाल औषधि लिमिटेडले चाँडै नै सिटामोलको पनि उत्पादन थाल्ने जनाएको छ । त्यसको प्रक्रिया लगभग पूरा भइसकेको पनि सुवेदीले जानकारी दिनुभयो । ‘औषधि उत्पादनको अनुमति हामीले लिइसकेका छौं', सुवेदीले भन्नुभयो, ‘हामी सकभर दसैंभन्दा अघि नै सिटामोल पनि बजारमा ल्याउने कोसिस गरिरहेका छौं ।'

सामान्य औषधि मानिने जीवनजल र सिटामोल पनि नपाएर कतिपय ठाउँमा आम नागरिकले अकालमै ज्यान गुमाइरहेका छन् । सामान्य औषधि पनि नपाएर आम नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर यी औषधिको उत्पादनलाई प्राथमिकता दिएको सुवेदीले बताउनुभयो । सुरुमा जीवनजल उत्पादन गर्दा कुनै पनि ‘फ्लेवर' प्रयोग गरिएको थिएन । अहिलेको नयाँ उत्पादनमा भने सुन्तलाको स्वाद मिसाइएको छ । नेपाल औषधि लिमिटेडले अहिले दैनिक करिब १० हजार प्याकेट जीवनजल उत्पादन गर्दै आएको छ । ‘यसको माग धेरै छ, किनकि हामी पहिलादेखि नै जनताको मनमनमा बसिसकेका छौं', सुवेदीले भन्नुभयो, ‘आवश्यकताअनुसार हामीले उत्पादनलाई बढाउँदै लैजानेछौं', त्यसका लागि देशैभरि क्षेत्रीयस्तरमा डिलर स्थापना गरिरहेका छौं ।'

इन्फोः दुर्गम तथा बिकट ठाउँमा जीवनजल पुर्‍याउन सक्ने बिक्रेतालाई बिक्रीको जिम्मेवारी दिइनेछ ।

तस्विर ः जीवनजलको बिक्रीका लागि नेपालगन्जमा आयोजित कार्यक्रम । गजेन्द्र बोहरा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.