यार्सा टिप्न विद्यार्थी पाटनमा : विद्यालय रित्तै
जाजरकोट : बर्षदिनभरको पढाई खर्च र नुनतेलको जोहो गर्न जाजरकोटको उत्तरपूर्वी क्षेत्रका अधिकांश विद्यार्थी यार्सा टिप्न कर्णालीका पाटन तिर लागेपछि यस क्षेत्रका विद्यालय रित्तै भएका छन्। बहुमुल्य जडिबुटी यार्सागुम्वा टिप्न ६ कक्षादेखि माथिका सबै विद्यार्थी पाटनतिर लागेपछि विद्यालय विद्यार्थी विहिन भएका हुन्।
ठूला कक्षाका सबै विद्यार्थी यार्सा खोज्न लेकतिर गएका कारण पठनपाठन सुरु हुन नसकेको वीरेन्द्र ऐश्वर्य उच्च माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिनुभयो।
‘विद्यार्थी नै आउँदैनन् के पढाउनु’, उहाँले भन्नुभयो ‘एक महिना दुःख गर्दा बर्ष दिनभरको पढाई तथा घरखर्च टर्र्ने भएकाले अधिकांश विद्यार्थी यार्सा टिप्न कर्णालीका जुम्ला, डोल्पा, मुगुका पाटनमा जाने गर्दछन्। यतिबेला जिल्लाका नायकवाडा, रामीडाँडा, रोकायगाउँ, पैक, सक्ला, रग्दा, भगवती, लहाँ, खगेनकोट लगायतका गाविसका करिब ५ हजार स्कुले विद्यार्थी यार्चा खोजेर पैसाको जोहो गर्न पाटनतिर लागेका छन्।’ पहिले चुनावका कारण विद्यालय खुलेनन्, चुनाव सकिने वित्तिकै अहिले विद्यार्थी यार्सा टिप्न गएकाले पढाई हुन सकेन उहाँले भन्नुभयो, ‘यो यस जिल्लाको बर्षेनी समस्या हो।’
वीरेन्द्र हिमालय उच्च मावि रग्दामा १० कक्षामा अध्ययनरत अर्जुन मल्ल पढाई खर्च र घरको गर्जो टार्न विगत ४ बर्षदेखि यार्सा टिप्न जाने गरेको र यसपाली पनि यार्सा टिप्न पाटनतिर जान थालेको बताउँनुहुन्छ। उहाँले भन्नु भयो, ‘राम्रो सिजन भयो भने एक लाखसम्म आम्दानी हुन्छ। बर्षदिन भरीको पढाई खर्च टर्छ।’ म मात्र होइन विद्यालयका १२÷१३ बर्षमाथिका सबै विद्यार्थी यार्सा टिप्ने जाने गरेका छन्। सबै विद्यार्थी यार्सा टिप्न गएपछि विद्यालयमा जेठ महिना भरी पढाई हुदैन अनि ढुक्क हुन्छ। उताबाट आएपछि पढ्ने गरेको मल्लको भनाइ छ।
यार्सा टिप्ने सिजनमा पढाई नुहँदा कोर्स पुरा नहुने र पठनपाठनमा विद्यार्थी कमजोर हुने गरेका छन्। सबै भन्दा बढी एसईई का विद्यार्थी बढी मारमा पर्ने गरेका छन्। गरीवी नै मुख्य समस्या हो त्रिवेणी नलगाड नगरपालिका ५ का अभिभावक अर्जुन सिहले भन्नुभयो, ‘यार्सा टिप्ने समयमा यस क्षेत्रका सकै विद्यालय बन्द हुन्छन्। यसकेलाको सट्टा अरु समयमा पठनपाठनको व्यवस्था मिलाउनु पर्छ।’
गरिबी र आर्थिक अभावका कारण यस क्षेत्रका विद्यार्थीको प्रमुख आम्दानीको स्रोतको रुपमा यार्सा रहेको छ। स्थानीय सामुदायिक वनले बुधवारबाट यार्चा टिप्नका लागि पाटनहरु खुला गरेका छन्। एउटा यार्सालाई ५ सय रुपैयाँमा सोही ठाँउमा ठेकेदारले खरिद गर्ने गरेका छन्। राम्रो सँग खोज्न सक्नेले एक जना विद्यार्थीले ३ लाखसम्म कमाउने गरेका छन्। विद्यालय निरीक्षक यज्ञश्वर खत्री यार्सा संकलनका कारण बर्षेनी त्रिवेणी नलगाड नगरपालिकाका र बारेकोट गाँउपालिकाका पाँच दर्जन विद्यालयका हजारौ विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको बताउनुहुन्छ। हामीले रोकेर पनि रोकिँदैनन्। बर्षदिनभरको कमाई गर्ने बेला कसरी रोक्नु बरु यस बेला बन्द भएका विद्यालयलाई बर्षे विदाको बारेमा सोच्नु पर्ने भएको छ उहाँले भन्नुभयो। सरोकारवाला सँग छलफल गरेर के गर्ने भन्ने निर्णय गछौ।
गाँउ सुनसान
विद्यार्थी मात्र होइन कामको खोजी गर्न बर्षेनी भारत (कालापार) जाने यहाँका वेरोजगार युवायुवतीहरु समेत भारत जान छोडर यार्सा खोज्न पाटनतिर जाने गरेका छन्। यार्सा खोज्न खाद्यन्न लत्ता कपडासहित गाँउका अधिकांश मानिसहरु पाटनतिर हिडेपछि गाँउहरु सुनसान भएको रामीडाँडा ६ का चन्द्रबहादुर खड्काले बताउनुभयो। गाँउमा अहिले वृद्धवृदा र केटाकेटी मात्र रहेको उहाँले सुनाउनुभयो। चुनाव सकेर, खेतीपाती लगाएर धेरै युवायुवा युवती यार्सा खोज्न पाटनतिर लागेका छन्। यार्सा संकलनका कारण यस क्षेत्रको आयश्रोत समेत बढ्ने गरेको छ। यार्सा संकलन गरेर यहाँका मानिसले लाखौं रकम जिल्लामा भित्र्याउने गरेका छन्।
जुम्लाः यतिबेला कर्णालीका हिमाली क्षेत्रका विद्यालयहरु सुनसान बनेका छन्। जुम्ला, मुगु, हुम्ला र डोल्पाका अधिकांश हिमाली क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी नहुँदा विद्यालय बन्द भएका छन्। जीवन बुटीका नामले परिचित बहुमूल्य जडीबुटी यार्सा टिप्ने सिजन सुरु भएसँगै यहाँका विद्यार्थीहरु यार्सा टिप्नका लागि पाटनतिर लागेका छन्।
आफ्ना अभिभावकका साथमा स्कुले विद्यार्थीहरु पाटनतर्फ लागेपछि हिमाली क्षेत्रका विद्यालयमा पढाइ ठप्प भएको छ।
कर्णालीका हिमाली क्षेत्रका सामुदायिक विद्यालयहरु बन्द हुने यसपटक मात्रै होइन। प्रत्येक वर्ष जेठ महिनामा यसरी नै विद्यालयमा ताला लगाएरै विद्यार्थीहरु एक महिनाका लागि यार्सा टिप्न पाटन छिर्ने गर्दछन्। उनीहरु वर्षको एक सिजनमा मात्रै पाइने बहुमूल्य यार्सा संकनल गरी वर्षभरीको खाना खर्चका साथै पढाईखर्चको समेत जोहो गर्छन। माध्यमिक तहमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु यार्सा संकलनका लागि कर्णालीका विभिन्न पाटनमा जाने गरेका छन्।
जुम्ला जिल्लाका डोल्पा जिल्लासँग सिमाना जोडिएका गोठीचौर गाउँपालिका र पातारासी गाउँपालिकामा रहेका विद्यालयहरु हिजो आज विद्यार्थी विहीन बनेका छन्। यस्तै विद्यार्थी नहुँदा शिक्षकहरु पनि फुर्सदिला बनेका छन्। सबै विद्यार्थीहरु यार्सा संकलनका लागि पाटनतर्फ गएपछि कोही शिक्षकहरु पनि साथमै गएका छन् भने कोही शिक्षकहरु फुर्सद कटाउन सदरमुकाम झरेका छन्। कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु सबै पाटनतर्फ गइसकेको जिल्ला शिक्षा कार्यालय जुम्लाले बताएको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार गोठीचौर पातारासी क्षेत्रका २७ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरु यार्सा संकलनका लागि पाटनर्फ गइसकेका छन्।
एक त आधा कोर्ष पढाइ हुने कर्णालीका विद्यार्थीहरुको यार्सा संकलन गर्ने समयमा एक महिना जति पढाइ बन्द हुने गर्दछ। माथिल्लो तहका विद्यार्थीहरु पाटन गएपनि तल्लो तहका विद्यार्थीहरुलाई समेत नपढाएरै विद्यालय बन्द हुने गरेका छन्। पाटनमा जाने विद्यार्थीहरु कक्षा ८ भन्दा माथिका हुन्छन् तर शिक्षकहरु पनि सोही बाहाना बनाउँदै कोही यार्सा संकनलका लागि पाटनतर्फ जाने र कोही यही मौकामा तराइमा घुम्न समेत निस्कने गरेका छन्।
यतिबेला गोठीचौरका १२ र पातारासी गाउँपालिकाका १५ वटा विद्यालयका शिक्षकहरु विद्यालय बन्द भएपछि त्यहाँका शिक्षकहरु फुर्सदिला भएका छन्। एउटा बुटीको स्थानीय स्तरमै पाँचसयदेखि एकहजारसम्म पर्ने भएकाले यस क्षेत्रका विद्यार्थीहरु आफ्ना अभिभावकसँग एक महिनाका लागि पाटनतिर जाने गर्दछन्। ‘गरिबी र न्युन आयस्तर भएका कारण वर्षभरीको खर्च जोहो गर्न विद्यार्थीहरु पाटनतिर लाग्ने गर्छन,’ खड्कदेव मावि गोठीचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार महताराले भन्नुभयो, ‘अभिभावकसँग आपफ्ना आवश्यकता पुरा गर्न जाने भएकाले हामीले पनि कसरी रोक्ने भन्ने विषयमा सोच्न सक्दैनौं।’ तर माध्यमिक तहका विद्यार्थीहरु पाटन गएपनि शिक्षकहरु पनि बाहिर निस्केकाले तल्लो तहका विद्यार्थीहरु विद्यालय बन्द हुँदा पढाइ नभएको अध्यक्ष महताराको भनाइ छ।
यस्तै कक्षा ६ देखि १० सम्मका सबै विद्यार्थीहरु पाटनतर्फ गएपछि शिक्षकहरु विद्यालयमा आउने र हाजिर लगाएर फर्किने गरेको झारज्वाला स्रोत केन्द्रका स्रोत व्यक्ति जंगबहादुर शाहीले बताउनुभयो। यी विद्यालयमा अध्ययनरत करिब ८५ प्रतिशत विद्यार्थीहरु हरेक वर्ष यार्सा संकलनका लागि पाटन जाने गरेका छन्। जसका कारण शैक्षिक उपलब्धी घट्दै गएको शाहीको भनाइ छ। यता जिल्ला शिक्षा कार्यालयले भने यार्सा टिप्न गएको समयमा छुटेको पढाइको जिम्मेवारी अभिभावक र विद्यार्थी आफैले लिनुपर्ने बताएको छ। उक्त एक महिनाको अवधिमा छुटेको कोर्ष पुरा गर्न आफुहरुले केही गर्न नसक्ने भएकोले त्यसको जिम्मेदवारी अभिभावक र विद्यार्थीले नै लिनुपर्ने जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले बताउनुभयो।
तर माथिल्लो तहका विद्यार्थीहरु पाटन गएपछि तल्लो तहका विद्यार्थी र छात्राहरुको लागि भने पढाइ नहुने गरेको छ। शिक्षकहरुले पछि विद्यार्थी फर्किदा कोर्ष दोहोर्याउनुपर्ने भन्दै हाल नपढाउने गरेको झारज्वालामा कक्षा १० मा अध्ययनरत एक छात्राले बताउनुभयो। ‘यार्सा टिप्नको लागि सबै केटाहरु जाने गर्दछन्,’ छात्राले भन्नुभयो, ‘तर तल्लो कक्षाका भाइबहिनी र यहाँ रहेका हामी छात्राहरुलाई त पढाउनुपथ्र्यो नी रु, पछि कोर्ष दोहोर्याउनुपर्छ भन्ने वाहाना गर्दै हामीलाई पढ्ने अधिकारबाट बञ्चित गरिएको छ। हरेक वर्ष यस्तो क्रम चलिरहेको छ। एक त कर्णालीमा विभिन्न वाहानामा आधा कोर्ष पढाउने प्रचलन रहेको अवस्थामा यार्सा संकलनको समयमा विद्यार्थीहरु सबै पाटनतर्फ जाँदा तोकिएअनुसारको अध्यापन नहुने गरेको छ। पुरा कोर्ष पढाई हुन नसक्दा विद्यार्थीहरुले परीक्षामा राम्रो अंक प्राप्त गर्न नसक्नुका साथै शैक्षिक उपलब्धी पनि सोचेअनुसारको प्राप्त हुन सकिरहेको छैन।
प्रतिक्रिया दिनुहोस !