फुर्ती बढाउँदै इनर्जी ड्रिङ्क्स

फुर्ती बढाउँदै इनर्जी ड्रिङ्क्स

गोठाटारकी दीक्षा थापा प्रायः दिउँसो पानी प्यास लाग्दा इनर्जी ड्रिङस पिउने गर्नुहुन्छ। शक्तिवद्र्धक यस्ता पेय पदार्थ पिउँदा आनन्द आउनुका साथै थकान मेटिने उहाँको अनुभव छ ।'म प्रायः घरमा भएका बेला काम गरेर थाक्छु, त्यतिबेला इनर्जी ड्रिङस पिउँदा आनन्द आउँछ,' थापाले भन्नुभयो। बाहिर हिँड्दा पाएसम्म पानीको सट्टा इनर्जी ड्रिङस पिउने गर्छु, यसले थकान मेटाउनुका साथै काम गर्ने उत्साह पैदा गर्छ।'

अनामनगरकी १० वर्षीया प्रसिद्धी बास्कोटालाई झगडा गर्दा फुलाउने माध्यम नै इनर्जी ड्रिङस बनेको छ ।'दुई वर्ष अघिसम्म प्रसिद्धीले दिनकै दुई÷तीन बट्टा यस्ता पेय पदार्थ पिउने गर्थिन्,' उहाँकी ममी अप्सरा पौडेलले भन्नुभयो'अहिले पनि बाहिर हिँड्दा उनको आहार र पानी भनेकै इनर्जी ड्रिङस हो।'

यस्ता पेय पदार्थले स्वास्थ्यमा खराब असर पर्छ भने थाहा पाएपछि छोरीको नियमिततालाई कटौती गर्नुभएको छ । तैपनि अहिले तीन सातामा एउटा भने उनलाई इनर्जी ड्रिङस पिउनै पर्छ।'

केटाकेटीदेखि बूढाबूढीसम्मको मन जित्न सफल यस्ता ड्रिङस बजारमा आउन थालेको धेरै भइसकेको छ । नेपालमा यस्ता शक्तिवद्र्धक पेय पदार्थ उत्पादन नभए पनि विदेशी उत्पादनले बजार ढाकेको छ । विशेष गरी यस्ता ड्रिङसको प्रयोग सवारी चालकले बढी गर्ने गरेको पाइन्छ। पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी चलाउन प्रतिबन्ध लगाएपछि शक्तिवद्र्धक भनी बजारमा स्थापित भएका यस्ता पेय पदार्थको प्रयोग बढ्दो रूपमा देखिएको छ।

सवारीचालक प्रायः दिनभरि गाडीमा यताउता भौंतारिनुपर्ने र आफूले चाहेका बेला पानी पनि पिउन नपाउने भएकाले पानीको प्रतिस्थापनमा इनर्जी ड्रिङस पिउने गरेको सिन्धुपाल्चोकका ट्याक्सीचालक टेकबहादुर तामाङले बताउनुभयो।'पानी किनेर खानुभन्दा यस्ता पेय पदार्थ पिएपछि शरीरमा फुर्ती पैदा हुनाका साथै रिफ्रेस पनि गराउने हुनाले मैले दिनहुँ दुई वटा इनर्जी ड्रिङस पिउने गरेको थिए,' तामाङले भन्नुभयो।

अहिले पत्थरी भएपछि भने चिसो पेय पदार्थ फ्यान्टा, कोक, मिरिन्डा, सेभेनअप, ड्यु, पेप्सीका साथै इनर्जी ड्रिङस पनि पिउन छाडेको उहाँले बताउनुभयो । यस्तो पेय पदार्थ पिउँदा आनन्द आउने तामाङले बताउनुभयो।

लैनचौर मेला रेस्टुराँका प्रबन्ध-निर्देशक प्रमोद जैसवालका अनुसार मदिरा सेवन नगर्ने ग्राहकको रोजाइ चिसो पेय पदार्थ पर्ने गरेको छ । त्यसमध्ये कतिपयले इनर्जी ड्रिङसको माग गर्न थालेका छन्। उहाँहरूको रोजाइ र स्वादअनुसारको इनर्जी ड्रिङस हामीले उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । सबैको रुचिको विषय बनेको यस्ता पेय पदार्थको माग प्रतिदिन बढ्दो छ।

आर्थिक वर्ष ०७२/७३ मा एक अर्ब ८४ करोडको इनर्जी ड्रिङस आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ। सो आयात अघिल्लो आर्थिक वर्षको भन्दा ६६ करोडले बढी हो। अघिल्लो आर्थिक वर्षमा एक अर्ब १८ करोडको यस्तो पेय पदार्थ आयात भएको थियो।

करिब ६ वर्षअघि नेपाल भित्रिएको कोरियन इनर्जी ड्रिङस'हट सिक्स' ले विस्तारै बजार विस्तार गर्दै आएको छ। अन्य यस्ता ड्रिङसले स्वास्थ्यमा असर पार्ने बजारमा हल्ला आए पनि यसले भने विभिन्न रोगसँग लड्ने क्षमता बढाउने हट सिक्सका आधिकारिक बिक्रेता केएनके ग्रुपका अध्यक्ष कृष्णबहादुर शाहीले बताउनुभयो।'यो इनर्जी ड्रिङसमा प्राकृतिक जडीबुटी मिसिएको छ,' उहाँले भन्नुभयो,'कोरियामा यो ड्रिङस हस्पिटलमा बिक्री हुन्छ।'

यो ड्रिङस ६ वटा जडीबुटीको समि श्रणबाट बनेको छ।' त्यसैले कोरियामा यसलाई पावर सिक्स रिसोर्सका रूपमा लिने गरिन्छ ।' यो ड्रिङस औषधिको जस्तो बोटलमा २५० एमएलमा पाइन्छ। र, यसको बजारमूल्य ८० रुपैयाँ पर्छ। नेपालमा यो ड्रिङस ६६ वटा डिलरमार्फत बिक्री–वितरण भइरहेको छ भने सय जनाले रोजगारी पाएका छन्।

मेचीदेखि महाकालीसम्म यो ड्रिङस उपलब्ध भए पनि यसको मुख्य बजार भनेको मेची, कोसी र सगरमाथा नै हो।नेपालमा प्रतिमहिना २३ करोड मूल्य बराबरको एक लाख ५० हजार कार्टुन इनर्जी ड्रिङस खपत हुने गरेको छ। सोमध्ये हट सिक्सको हिस्सा १० प्रतिशत छ। बजार विस्तार गर्न यस्ता उत्पादन समय समयमा ग्राहकलाई आकर्षण गर्न विभिन्न स्किम ल्याउने गरेको शाहीले बताउनुभयो।

कुल बजारमध्ये रेडबुलको हिस्सा ६५ र अन्य इनर्जी ड्रिङसको २५ प्रतिशत छ। बजारमा विभिन्न देशका २०÷२५ प्रकारका इनर्जी ड्रिङस पाइन्छन्। रेडबुल ब्रान्डको इनर्जी ड्रिङसको बिक्री-वितरण गर्दै आएको जीवी मार्केटिङले अन्य इनर्जी ड्रिङसको तुलनामा आफ्नो बजार हिस्सा राम्रो रहेको बताएको छ।

काठमाडौं उपत्यकामा रेडबुल ब्रान्डका इनर्जी ड्रिङसको बजार अंश सबैभन्दा बढी रहेको उक्त कम्पनीको दाबी छ। तुलनात्मक रूपमा प्रतिस्पर्धामा कमजोर देखिएका ब्रान्डले भने उपत्यकाबाहिर आफ्नो व्यापार दरिलो बनाउँदै लगेका छन्। रेड टाइगर, रेडस्टार, रेड इगल, रेड लायन र वाइल्ड बफेलोजस्ता ब्रान्ड मोफसलमा बढी बिक्री-वितरण भइरहेका छन्। नेपालमा सबैभन्दा बढी थाइल्यान्ड र भियतनामबाट जापान, भारत, बेलायत र सिंगापुरबाट पनि केही मात्रामा यस्ता पेय पदार्थ आयात हुने गरेको छ।

हालसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट २५ वटा कम्पनीले इनर्जी ड्रिङस आयातको अनुमति लिएका छन्। आयात अनुमतिपत्र दिँदा उल्लेख गरिएको सर्त पूरा नगरेका इनर्जी ड्रिङस बजारमा बिक्री-वितरण गर्न पाइँदैन। केही वर्षअघिसम्म खुला रूपमा बिक्री–वितरण हुँदै आएका यस्ता पेय पदार्थ अहिले भने बजारमा प्रवेश पाउनका लागि अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ।

आवश्यकताभन्दा बढी इनर्जी ड्रिङस पिउँदा स्वास्थ्यमा हानि
आजकाल मानिस तिर्खाएको समयमा पानीभन्दा बढी इनर्जी ड्रिङस पिउने गर्छन्। तर, ती व्यक्तिले ख्याल गर्दैनन् इनर्जी ड्रिङस यतिसम्म खतरनाक हुन्छ भन्ने कुरा।

थकाइ या कमजोर महसुस हुँदा इनर्जी ड्रिङस पिउने गरे पनि नियमितभन्दा बढी पिउँदा यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छ । इनर्जी ड्रिङसमा चिनीको मात्रा बढी हुने भएकाले डायबिटिज हुन सक्छ।

दैनिक २५० एमएलभन्दा बढी मात्रामा इनर्जी ड्रिङस सेवन गरे मुटु रोगको सम्भावना हुन सक्छ । यसको सेवनले मुटुको धड्कन बढाउँछ । मुटुको गति तेज हुन्छ, चिसो पसिना आउने र हात काँप्नेलगायत समस्या देखिन्छन् । विशेष गरी किशोर÷किशोरीमा यो खतरा बढी हुने गर्छ । इनर्जी ड्रिङसमा क्याफिनको मात्रा बढी हुने भएकाले टाउको दुखाइ र माइग्रेन तथा उच्च रक्तचाप हुने खतरा बढ्छ।

यस्ता, पेय पदार्थको सेवनले शरीरमा कफिन र सुगरको कुलत बढाउँछ। निद्रामा समस्या ल्याउँछ । आवश्यकताभन्दा बढी इनर्जी ड्रिङस सेवन गर्नाले मानसिक रोग लाग्न सक्छ। डिप्रेसन, नर्भस, स्ट्रेसलगायत समस्या उत्पन्न हुन सक्छ। यसको सेवनले गर्दा दाँतको इनामेल जाने जस्ता समस्या आइपर्न सक्छन् । खाली पेटमा इनर्जी ड्रिङस पिउँदा बान्ता हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.