आयात १० खर्ब नाघ्ने संकेत

आयात १० खर्ब नाघ्ने संकेत

काठमाडौं :  चालू आर्थिक वर्ष आयात व्यापार १० खर्ब नाघ्ने सम्भावना देखिएको छ । आर्थिक वर्षको पहिलो १० महिनामा विभिन्न मुलुकबाट आठ खर्ब सात अर्ब २७ करोडका वस्तु भित्रिएपछि यस्तो शंकेत देखिएको हो । भन्सार विभागको १० महिनाको आयात तथ्यांक केलाउँदा औसतमा मासिक ८० अर्ब ७२ करोड रुपैयाँको वस्तु भित्रिएको देखिन्छ । यही अनुपातमा आयात बढ्दै गए एक वर्षमा १० खर्बभन्दा बढीको वस्तु आयात हुने देखिएको हो । नेपालमा आयात डरलाग्दो गरी उकालो लागिरहेको छ ।

गत वर्षको तुलनामा यस वर्ष आयात ३५ प्रतिशतले बढेको छ । गत वर्षको १० महिनामा पाँच खर्ब ९९ अर्ब ३५ करोडको वस्तु भित्रिएको थियो । आयात उछालिँदा निर्यात वृद्धि निरासाजनक छ । गत वर्ष १० महिनामा ५४ अर्ब ९३ करोड बराबरको वस्तु निर्यात भएकामा यस वर्ष ६० अर्ब ९५ करोडको वस्तु निर्यात भएको छ । यो गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

कुल व्यापारमा आयातको हिस्सा ९३ प्रतिशत र निर्यातको हिस्सा सात प्रतिशत छ । निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि व्यापार घाटा ३७ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाउँछ । यस अवधिमा नेपालको व्यापार घाटा सात खर्ब ४६ अर्ब ३२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा पाँच खर्ब ४४ अर्ब ४१ करोड थियो । मुलुकको व्यापार घाटा बर्सेनि उच्च दरले बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । यस अवधिमा सबैभन्दा बढी भारतबाट पाँच खर्ब २४ अर्ब २० करोडको वस्तु नेपाल भित्रिएको छ । भारततर्फ जम्मा ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

-औसतमा मासिक ८० अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात ।
गत वर्षको तुलनामा यस वर्ष आयात ३५ प्रतिशतले वृद्धि ।
नेपालले १० महिनाको अवधिमा एक सय ६३ मुलुकसँग व्यापार गरेको छ ।
भारतसँगको व्यापार घाटा चार खर्ब ८८ अर्ब ६६ करोड पुगेको छ ।

यस अवधिमा भारतसँगको व्यापार घाटा चार खर्ब ८८ अर्ब ६६ करोड पुगेको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यपारीक साझेदार मुलुक हो । नेपालको कुल वैदेशिक व्यापारको दुई तिहाइ हिस्सा भारतसँग हुने गरेको छ । चीन दोस्रो ठूलो व्यापारी साझेदारका रूपमा रहँदै आएको छ । चीनबाट नेपालमा एक खर्ब ६ अर्ब १६ करोड रुपैयाँको सामान भित्रिएको छ । सोही अवधिमै नेपालबाट चीनमा मात्र एक अर्ब ४२ करोडको वस्तु निर्यात भएको देखिन्छ ।

चीनसँगको व्यापार घाटा बढेर एक खर्ब चार अर्ब ७३ करोड पुगेको छ । चीनबाट भएको आयातको तुलनामा निर्यात नगन्य देखिन्छ । यसैगरी, युनाइटेड अरब इमिरेट्स (यूएई)बाट २६ अर्ब १९ करोडको समान भित्रिँदा नेपालले आठ करोडको मात्र वस्तु यूएई निर्यात गर्न सकेको छ । युरोपेली मुलुक फ्रान्सबाट १२ अर्ब ९८ करोडको वस्तु आयात भएको छ भने ९९ करोडको वस्तु फ्रान्स निर्यात भएको छ । भन्सार विभागका अनुसार इन्डोनेसियाबाट नौ अर्ब ४५ करोडको समान नेपाल भित्रिएको छ ।

नेपालबाट इन्डोनेसियामा २६ लाखको मात्र वस्तु निर्यात भएको देखिन्छ । नेपालले १० महिनाको अवधिमा एक सय ६३ मुलुकसँग व्यापार गरेको छ । नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिलजन्य उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीवुटी प्रमुख रहेका छन् ।

यस्तै, आयात भएका प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पाटपुर्जा, अन्न, दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, सुन, चाँदी, प्लास्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेटलगायत छन् । नेपालको निर्यात व्यापारमा भारत, चीन, अमेरिका, टर्की, जर्मनी, यूके, फ्रान्स, इटाली, जापान, क्यानडा, बंगलादेश, अस्ट्रेलिया, नेदरल्यान्ड्स, भियतनाम प्रमुख छन् । आयात व्यापारमा भने भारत, चीन, यूएई, फ्रान्स, इन्डोनेसिया, थाइल्यान्ड, अर्जेन्टिना, अमेरिका, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानडा, जापान, मलेसिया, भियतनामलगायत प्रमुख छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.