संसदमा तमासा

संसदमा तमासा

एकपछि अर्को असामान्य राजनीतिक गतिविधि मुलुकमा भइरहँदा राजनीतिक व्यवहार र चरित्र पनि त्यत्तिकै दुर्भाग्यपूर्ण देखिएका छन् । मुलुकमा झन्डै दुई दशकको पहिलो चरणको स्थानीय तह निर्वाचन सामान्यतया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भए पनि भरतपुर महानगरपालिका मतगणना घटनाले त्यसमा चिसोपानी खन्याएको छ । एउटा वडा (२० नं) को मतगणना पूरै र अर्को (१९) को आंशिक बाँकी छँदा स्थानीय दुई माओवादी कार्यकर्ताले करिब ९० मतपत्र च्यातेपछि उत्पन्न तनावको स्थितिलाई नजिर र कानुनसम्मत तरिकाबाट सम्बोधन गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । अर्थात् बुथ नं १९ मा पुनः मतदान हुनेछ र तत्पश्चात् स्थगित मतगणनालाई निरन्तरता दिइनेछ ।

मतगणना जसरी अवरोध भयो, त्यो दुःखद् र गैरकानुनी कार्य हो र त्यसका कारक दण्डको भागी बन्नैपर्छ, कानुनअनुसार । मतगणना स्थगित हुँदासम्म केही झीनो मतले अगाडि रहेको एमालेले आयोगको यो निर्णयविरुद्ध नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रियासहित संसद्को कारबाहीमा अवरोध पुर्‍याउने निर्णय लियो र विगत दुई सातायता उसले प्रदर्शन गर्दै आएको मुढेबल प्रदर्शनलाई निरन्तरता दियो भने त्यो एमालेको राजनीतिक विचलन मानिनेछ र प्रमुख प्रतिपक्षको हैसियतमा रहेको उक्त दलको गैरराजनीतिक चरित्र पनि । निर्वाचन आयोगले यो कठिन र सबैको चित्त बुझाउन गाह्रो निर्णय लिँदा यसअघिका त्यस्ता घटना र आयोगका निर्णयसँगै संविधानको प्रावधानबाट निर्देशित भएको छ । यसबाट दलहरूले एउटा सकारात्मक सार अथवा मतदान अवरोध नगर्ने र मतपत्र नष्ट नगर्ने निर्णय लिए भने भविष्यमा यस्ता प्रजातन्त्रविरोधी घटना दोहेरिने छैनन् ।

तर यो घटनालाई बनाएर एमालेले सदन अवरोध गर्ने दुष्कर्मलाई निरन्तरता दिने निर्णय गर्‍यो भने त्यो दुर्भाग्यपूर्ण त हुने नै छ, त्योसँगै प्रजातान्त्रिक अभ्यासमा एउटा असभ्य र जंगली भनिन सक्ने अध्याय जोडिनेछ । विगत केही सातामा एमालेले आफ्नो राजनीतिक दुनो सोझिने गरी सदन आफ्नो सर्त र हितमा मात्र चल्न दिएको छ । सदनको कारबाही संविधान, प्रक्रिया विधि र परम्पराबाट निर्देशित हुन्छ, कुनै दलको 'मस्सल' मुढेबल प्रदर्शनबाट हैन । अतीतमा पनि एमालेले यस्ता अभ्यासबाट राजनीतिक छवि गुमाएको छ र त्यसबाट सिकेन भने उसले यसपटक धेरै बढी गुमाउनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन 'अवरोध' स्थगित गर्‍यो एमालेले केही मिनेटको लागि, जुन सराहनीय काम थियो । तर लगत्तै उसले त्यहीं गैरसंसदीय चरित्र प्रदर्शन गर्‍यो । राष्ट्रपतिको राजनीतिक या दलीय पृष्ठभूमिका कारण मात्र एमाले त्यसबेला पछि हटेको संकेतका रूपमा हेरिएको छ यसलाई । त्यसलगत्तै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग फिर्ता हुनैपर्ने बहाना राखी उसले सदन रोक्यो र प्रस्तावका पक्षधर माओवादी र नेपाली कांग्रेसको आश्वासनपछि पूर्व घोषणाविपरीत राष्ट्रपतिको सम्बोधनको लागि धन्यवाद प्रस्तावको मतदानमा सहभागी बन्न पुग्यो दल ।

महाभियोगको राजनीतिक दुरुपयोग एमाले, माओवादी र कांग्रेस तीन दलले गरेका छन्, पहिला लोकमानसिंह कार्की प्रकरण र अहिले सुशीला कार्की प्रकरणमा । तर त्यसबारेको आत्मसमीक्षा, प्रायश्चित्त या त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने जिम्मा संस्थागत रूपमा र विधिवत् हिसाबले संसद्को बन्न जान्छ । एउटा दलले मुड्की बटारेर त्यससम्बन्धी प्रक्रिया रोक्नु गैरसंसदीय चरित्र हो । दुर्भाग्य सदनमा तीन-तीनवटा पूर्व प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षमा रहेको एमालेले त्यो पटके अपराध प्रवृत्ति प्रदर्शन गरेको छ । यसलाई निरन्तरता दिनु संसद्को अपमान र मतदाताको अपमान मानिनेछ । प्रधानमन्त्रीको निर्वाचन मात्र हैन, त्यसपछिका दिनमा पनि बिनाव्यवधान सदनका निर्धारित कारबाही त्यसैअनुसार चल्न सक्नुपर्छ । जनता आफ्नो सर्वोच्च प्रतिनिधि संस्था कुनै दलको 'ब्ल्याकमेल' को सिकार भएको हेर्न चाहँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.