दुर्भाग्यपूर्ण त्रुटि

दुर्भाग्यपूर्ण त्रुटि

संविधान नीति र कानुनसम्मत रूपमा राज्य सञ्चालनलाई निर्देशित गर्ने दस्ताबेज हो । त्यसको आधिकारिक व्याख्याता सर्वोच्च अदालत हो । आगामी तीन दिनपछि सर्वोच्च न्यायालयले नयाँ नेतृत्व पाउनुपर्ने हुन्छ, किनकि वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश पाउनु हुनेछ । तर संविधानको मुख्य व्याख्याता नै नयाँ नेतृत्व छनोटबारे उदासीनता देखा परेको छ, जुन दुर्भाग्य हो ।

अपवादको अवस्थामा यस्ता त्रुटिहरू हुन सक्छन् तर कानुनमा स्पष्ट व्याख्या भएको विषयमा किन न्यायपरिषद् तथा त्यसका प्रमुख या प्रधानन्यायाधीश चुके ? न्यायपरिषद्को बैठक नबोलाइनु र कार्यवाहकको रूपमा वरिष्ठतमले पदभार सम्हाल्ने परिस्थिति किन उत्पन्न भयो ? अहिलेको सर्वोच्च अदालत या न्यायालयलाई खासगरी त्यसको नेतृत्वलाई विभिन्न राजनीतिक दलहरू र तिनीहरूसँगको सम्बन्धका आधारमा नागरिक समाज तथा सञ्चारमाध्यमले पूर्वाग्रही तरिकाले हेर्ने गरेको पाइन्छ । संवैधानिक तहको रिक्तताले उत्पन्न गर्ने परिस्थितिको मूल्यबारे कतै चिन्ता देखिँदैन । अझ दलहरूको र अन्तर्राष्ट्रिय दाताहरूको प्रभावमा सर्वोच्च अदालत विभाजित भएको मान्यता सर्वत्र फैलिँदा यस्तो रिक्तताको मूल्य अझ चर्को बन्न जान्छ ।

के बाहिरिन लाग्नुभएकी प्रधानन्यायाधीश र उत्तराधिकारको लागि रोलक्रम या वरिष्ठतम हिसाबले सबभन्दा माथि रहेका न्यायाधीशबीचको तीक्त सम्बन्धका कारण यो रिक्तता जानीजानी लादिएको हो मुलुकमाथि ? के प्रधानन्यायाधीश र न्यायपरिषद् आफ्नो संवैधानिक दायित्व पूरा गर्न बाध्य छैनन् ? न्यायपालिका नेतृत्व र न्यायपरिषद्सँग जानीजानी संवैधानिक त्रुटि गर्ने छुट हुँदैन ।

'भ्रष्टाचार' प्रति शून्य सहनशीलताको नाममा र सम्भवतः एउटा योजनाअन्तर्गत अहिलेको सर्वोच्च नेतृत्वले केही गम्भीर न्यायिक त्रुटि गरेको छ, पूर्वका फैसलाहरूमा भएको 'गम्भीर त्रुटि' सच्याउने नाममा । त्यसमा पुनरावलोकनको बाटो छेक्न एकपछि अनेक 'बृहत्पूर्ण इजलास' गठनको बाटो अपनाइएको छ । त्यस्तै व्यापक जनसरोकारका मुद्दा उठाउँदा 'प्रक्रिया' बाधक नबनोस् भनी संविधानमा उल्लेख गरिएको 'पब्लिक इन्टरेस्ट लिटिगेसन' पनि अब राजनीतिक औजार बन्न पुगेको छ । विगत केही महिनामा सर्वोच्च अदालतले अनेक प्रतिशोधात्मक र त्रुटिपूर्ण तरिकाले फैसला दिएको छ । पूर्वमा प्रधानन्यायाधीशहरूले नै दिएको फैसलालाई हास्यास्पद तरिकाबाट उल्टाइएको छ । त्यति मात्र हैन, राजनीतिमा प्रयोग हुने 'कोटरी' या 'किचन क्याबिनेट' संस्कृति न्यायपालिकामा भित्रिएको छ । त्यो कोटरीको प्रभाव 'इजलास' निर्माणमा समेत देखिएको सर्वत्र अनुभूति भएको छ ।

नयाँ प्रधानन्यायाधीशको छनोटले विधिवत्रूपमा कार्कीको अवकाशपूर्व नै औपचारिकता पाएको भए एउटा स्वस्थ परम्पराको निर्माणमा सघाउ पुर्‍याउँथ्यो त्यसले, तर दुर्भाग्य त्यो हुन सकेन । यसले भावी प्रधानन्यायाधीशको भूमिकालाई अझ महत्वपूर्ण र चुनौतीपूर्ण बनाएको छ । सर्वोच्च अदालतले विगतमा केही मामिलामा न्याय सम्पादनका विधि, प्रक्रिया र सर्वमान्य सिद्धान्तको अवमूल्यन गरेको छ । त्यसको निराकरणसँगै न्यायपालिका राजनीतिक दलहरूको विस्तारित अखडा हैन र हुनु हुँदैन भन्ने सन्देश आगामी दिनमा सर्वोच्चबाट जानु जरुरी छ । उसको फैसलाका आधार प्रमाण, निष्पक्षता र नजिर हुनुपर्छ, मनोगत र भावनात्मक टिप्पणी तथा दलीय हित हुनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.