पुस्तकमा तीन पुस्ता
बुटवलको मिलनचोकदेखि पश्चिम लाग्नासाथ एक गल्लीको मुखैमा भेटिन्छन् माधव गौतम, पुस्तकका र्याकले घेरिएका, कोही न कोहीसँग गफ चुटिरहेका । उनको अनुहारमा सदावहार मुस्कान हुन्छ । शैलीमा व्यापारिक सौहार्दता । धेरै ठूलो होइन, मध्यम आकारको ‘हिमालय बुक हाउस'का सञ्चालक उनै हुन् ।
दशक पुगेछ उनले बुटवलको यो गल्लीमा पुस्तक पसल राखेको । कोर्सबुकका सीमाबाट केही परसम्म अध्ययन गर्न चाहने स्थानीय र बुटवल छेउछाउका अधिकांशका लागि यो पसल अपरिचित छैन ।
तर, यदि तपाईं कोर्सबुक खोज्दै पसिहाल्नुभयो भने ‘माफ गर्नुहोला'को नमिठो जवाफ पाउनुहुनेछ । ‘कोर्सबुक बेच्दिनँ', कसम नै खाएका छन् उनले । गेसपेपर र गाइड पाउने त नचिताए नै भयो । यही फरकपन उनको परिचय बनेको छ । टेक्स्टबुक बाहिरका साहित्यिक र धार्मिक पुस्तक उनको पसलको विशिष्टता हो ।
बटौलीको इतिहास पुरानो भए पनि नयाँ हो आजको बुटवल सहर । खस्यौली भनेर कुनै बेला चिनिने तिनाउ नदी पूर्वको बस्ती नै आजको बुटवल उपमहानगरपालिकाको केन्द्र भाग बनेको छ । ०१६ सालमा नगरपालिका बने पनि सिद्धार्थ राजमार्ग र दुम्कलेज एवं विद्यालय बनेपछि बीसको दशकको सुरुबाट खस्यौलीले बुटवल सहरको रूप लिन थालेको बताउँछन् स्थानीय राजनीतिकर्मी देवेन्द्र घिमिरे । भन्छन्, ‘पूर्वपश्चिम राजमार्ग निर्माणले यो सहरको विकासमा थप सघायो ।'
नयाँ सहर, वरिपरिका पहाडबाट झरेका मानिसले बनाएको बस्ती । सायद थिग्रिसकेको छैन अझै । २००४ सालमा स्थापित महावीर पुस्तकालयलगायत अन्य पुस्तकालय त छन् तर नियमित पाठक भेट्टाउन गाह्रैपर्छ । पुस्तक पसल नभएका भने होइनन् । कुनै बेला साहित्यिक पुस्तक पाउने पसल विस्तारै कोर्सबुक पसलमा रूपान्तरित भइरहेका छन् । कुनै बन्द भइसके । वामपन्थी पुस्तक बेच्ने ‘विश्वनेपाली पुस्तक सदन' अब किताबका पानामा लगाइएको छापामा मात्रै बाँकी छ । पठन प्रवृत्ति कमजोर छ बुटवलको ।
रैथाने पाठक र लेखक त पाउनै मुस्किल पर्छ । ‘पहिलेदेखि नै यही प्रवृत्ति हो बुटवलको', स्थानीय साहित्यकार एवं सह-प्राध्यापक ऋषिराम भुसाल भन्छन्, ‘नवधनाढ्यहरूको बोलवाला भएकाले हो कि ? बुटवल निर्माणाधीन नै छ ।' यो निर्माणाधीन सहरमा कोर्सबुक र गेसपेपर बेच्दिनँ भनेर अड्डी कस्नु जोखिम मोल्नु हो । त्यही जोखिमले बनाएको छ माधव गौतमको परिचय । सहरमा उनी एक्ला बृहस्पतिजस्ता देखिन्छन् । गौतमका लागि भने यो कुनै नयाँ पेसा होइन । बाजेले जग बसालिदिएको व्यवसायलाई बुटवलमा ल्याएर निरन्तरता दिएका मात्र हुन् उनले ।
जग सिलोङ
माधव गौतमको पुस्तक व्यवसायको पुस्तौनी कथा मेघालय प्रान्त, भारतको सिलोङबाट सुरु हुन्छ । गुल्मी बलेटक्सारका फूलराज गौतम भारतीय सेनामा भर्ती हुन पुगे । समयक्रममा आफ्नो परिवार पनि लिएर गए । हुर्केका छोरालाई व्यवसायमा लगाउनकै लागि उनले सिलोङमा पुस्तक पसल खोले । नाम राखे, ‘नेपाली सौभाग्य पुस्तकालय' । कहिले खुलेको हो ? ठ्याक्कै तिथिमिति सम्झना छैन । ‘भारत स्वतन्त्र हुनुभन्दा पहिले नै हो', गौतमका नाति अनिल हिमाल गौतम भन्छन् । अनिलको भनाइलाई आधार मानेर भारत स्वतन्त्र भएको सन् १९४७ लाई स्थापना मान्ने हो भने सात दशक पुगेछ सिलोङमा ‘नेपाली सौभाग्य पुस्तकालय' खुलेको ।
सात दशकपहिले गुल्मीका फूलराज गौतमले सिलोङमा जग हालेको पुस्तक व्यवसायलाई उनको नाति पुस्तासम्मले देशका विभिन्न ठाउँमा निरन्तरता दिइरहेका छन् ।
बुबाले खोलिदिएको पुस्तक पसललाई राम्रै सञ्चालन गरे राधाकृष्ण गौतम र खेमराज गौतमले । नेपाली साहित्य चार खुट्टाबाट दुई खुट्टा टेक्दै गरेको समय थियो त्यो । धार्मिक पुस्तक नै बढी बेचे उनीहरूले । नाम कमाए । राधाकृष्ण स्वर्गवास भइसके । खेमराजका तीन भाइसँगै राधाकृष्णका छोरा मुक्तिराम गौतम सबै नै पुस्तक व्यवसायमा छन्।
छोरा पुस्तामा आउँदासम्म पसलले केही फरक रूप पनि पाएको छ। ‘नेपाली सौभाग्य पुस्तकालय' सँगै अहिले सिलोङमा उभिएको छ ‘हिमालय बुक हाउस' । धार्मिक पुस्तकसँगै अंग्रेजी, हिन्दी, नेपाली र स्थानीय खासी भाषाका किताब पनि पाइन्छ अचेल। खेमराजका जेठा छोरा विष्णुप्रसाद गौतमले सञ्चालन गरिरहेका छन् त्यहाँ । माइला (अनिल) र कान्छा (माधव) नेपाल फर्किएका छन् पुस्तौनी पेसा बोकेर।
सिलोङको माहोलले प्रेरित गरेको हो उनीहरूलाई यही पेसामा टिकिरहन । ‘त्यहाँ पुस्तक पसलेलाई सम्मान गरिन्छ,' अनिल सम्झन्छन् । पुस्तक पसले भएकैले शिक्षामन्त्रीसँग भेटेर केही विचार राख्ने मौका पाएका थिए उनले त्यहाँ । त्यसो त त्यहाँ पठन प्रवृत्ति पनि विकास भइसकेको थियो।
‘त्यहाँ पठन संस्कृति निकै राम्रो छ', माधव भन्छन् । गुल्मीबाट एसएलसी गरेपछि करिब ८ वर्ष सिलोङमा बिताएका उनी त्यहाँ पुग्दा भर्खरै मेघालय प्रान्त घोषणा भएको थियो । स्थानीय आदिवासी खासीमा पढ्नुपर्छ भन्ने चेतना पलाएको थियो । मेघालय विश्वविद्यालय स्थापना भइरहेथ्यो । पुस्तक पढ्ने, लेख्ने र बेच्ने तीनैलाई सम्मान गरिन्थ्यो।
त्यसैको प्रभावले पनि हो सायद, दुई भाइ नै नेपाल हान्निए । पुस्तक पसललाई निरन्तरता दिँदै । केवल व्यापार मात्र उनीहरूको उद्देश्य होइन । ‘पैसा त जसरी कमाए पनि भयो नि', अनिल भन्छन् । पुस्तक पसलको पछाडि पठन संस्कृति विकास गर्ने उद्देश्य पनि छ । त्यसैले नारा नै बनाएका छन्, ‘गृह पुस्तकालय सन्तानलाई वरदान हो ।' यो नारा सिलोङ, काठमाडौं र बुटवलसम्म देख्न सकिन्छ।
निरन्तरता काठमाडौं
‘२४ वर्ष भएछ', औंला भाँचे अनिल हिमाल गौतमले । काठमाडौं डिल्लीबजारको उकालोमा साढे दुई दशकपहिले उनले पुस्तक पसल थाप्दा नेपाली पुस्तक बजार कमजोर नै थियो । पाठ्यपुस्तकसँगै साहित्यिक र धार्मिक पुस्तक राखेर सुरु गरेका थिए उनले । निरन्तरता सिलोङकै थियो । नाम भने थोरै फरक, ‘हिमालय बुक स्टल'।
पठन संस्कृति बनिसकेको थिएन । उपत्यकामै नाम चलेका पुस्तक पसल थिए जो साहित्यिक पुस्तक बेच्थे । पाठ्यपुस्तक नै पढ्ने पनि कम थिए ।‘मेडिकल र इन्जिनियरिङ इन्ट्रान्स तयारी गर्नेहरू मात्र किताब पढ्थे', अनिल सम्झन्छन्, तैपनि गेसबुक र गाइड कहिल्यै बेचेनन् उनले।
अहिले त पठन संस्कृति फराकिलो बन्दै छ । टेक्स्टबुक पढ्ने मात्र होइन कोर्सको सीमाबाट बाहिर गएर वाङ्मयको विराट् संसारमा पस्नेहरू पनि बढेका छन् । त्यसैले सन्तुष्ट छन् अनिल । ‘बौद्धिक सर्कलसँग सम्पर्कमा भइन्छ, त्यसैले खुसी दिन्छ' उनी भन्छन् । किताब पसलेलाई गर्ने व्यवहारप्रति भने उनी खासै सन्तुष्ट छैनन् । किताब पसलको महत्वव अझै नबुझ्दा उदेक मान्छन्।
चाहिन्छ धैर्य
तीन पुस्ता, सात दशक एउटै पेसामा जोडिँदा अवश्य केही अनुभव थिग्रिएको छ । त्यो अनुभव काम लाग्न सक्छ पुस्तक व्यवसायमा आउन चाहने नयाँहरूका लागि।
आखिर के चाहिन्छ ?
‘प्यासन चाहिन्छ' अनिल भन्छन्, ‘अनि धैर्य पनि चाहिन्छ ।' उनका अनुसार बुझेर बजार अध्ययन गरेर मात्र यो पेसामा हात हाल्नु राम्रो हुन्छ । सबैभन्दा ठूलो आवश्यकता धैर्यकै हो किनभने यो रातारात मालामाल हुने पेसा भने होइन । ‘यो पेसा गरेर कार चढ्न त सकिएला तर मुस्किलले' अनिल भन्छन् ।फरक ठाउँको फरक अनुभव सायद माधव गौतम भने पुँजीको आवश्यकता पनि उत्तिकै देख्छन् । भन्छन्, ‘हनुमानको जस्तो जाँगर र कुबेरको जस्तो धन लिएर आउँदा राम्रो हुन्छ।'
प्रतिक्रिया दिनुहोस !