पुस्तकमा तीन पुस्ता

पुस्तकमा तीन पुस्ता

बुटवलको मिलनचोकदेखि पश्चिम लाग्नासाथ एक गल्लीको मुखैमा भेटिन्छन् माधव गौतम, पुस्तकका र्‍याकले घेरिएका, कोही न कोहीसँग गफ चुटिरहेका । उनको अनुहारमा सदावहार मुस्कान हुन्छ । शैलीमा व्यापारिक सौहार्दता । धेरै ठूलो होइन, मध्यम आकारको ‘हिमालय बुक हाउस'का सञ्चालक उनै हुन् ।

दशक पुगेछ उनले बुटवलको यो गल्लीमा पुस्तक पसल राखेको । कोर्सबुकका सीमाबाट केही परसम्म अध्ययन गर्न चाहने स्थानीय र बुटवल छेउछाउका अधिकांशका लागि यो पसल अपरिचित छैन ।

तर, यदि तपाईं कोर्सबुक खोज्दै पसिहाल्नुभयो भने ‘माफ गर्नुहोला'को नमिठो जवाफ पाउनुहुनेछ । ‘कोर्सबुक बेच्दिनँ', कसम नै खाएका छन् उनले । गेसपेपर र गाइड पाउने त नचिताए नै भयो । यही फरकपन उनको परिचय बनेको छ । टेक्स्टबुक बाहिरका साहित्यिक र धार्मिक पुस्तक उनको पसलको विशिष्टता हो ।

बटौलीको इतिहास पुरानो भए पनि नयाँ हो आजको बुटवल सहर । खस्यौली भनेर कुनै बेला चिनिने तिनाउ नदी पूर्वको बस्ती नै आजको बुटवल उपमहानगरपालिकाको केन्द्र भाग बनेको छ । ०१६ सालमा नगरपालिका बने पनि सिद्धार्थ राजमार्ग र दुम्कलेज एवं विद्यालय बनेपछि बीसको दशकको सुरुबाट खस्यौलीले बुटवल सहरको रूप लिन थालेको बताउँछन् स्थानीय राजनीतिकर्मी देवेन्द्र घिमिरे । भन्छन्, ‘पूर्व­पश्चिम राजमार्ग निर्माणले यो सहरको विकासमा थप सघायो ।'

नयाँ सहर, वरिपरिका पहाडबाट झरेका मानिसले बनाएको बस्ती । सायद थिग्रिसकेको छैन अझै । २००४ सालमा स्थापित महावीर पुस्तकालयलगायत अन्य पुस्तकालय त छन् तर नियमित पाठक भेट्टाउन गाह्रैपर्छ । पुस्तक पसल नभएका भने होइनन् । कुनै बेला साहित्यिक पुस्तक पाउने पसल विस्तारै कोर्सबुक पसलमा रूपान्तरित भइरहेका छन् । कुनै बन्द भइसके । वामपन्थी पुस्तक बेच्ने ‘विश्वनेपाली पुस्तक सदन' अब किताबका पानामा लगाइएको छापामा मात्रै बाँकी छ । पठन प्रवृत्ति कमजोर छ बुटवलको ।

रैथाने पाठक र लेखक त पाउनै मुस्किल पर्छ । ‘पहिलेदेखि नै यही प्रवृत्ति हो बुटवलको', स्थानीय साहित्यकार एवं सह-प्राध्यापक ऋषिराम भुसाल भन्छन्, ‘नवधनाढ्यहरूको बोलवाला भएकाले हो कि ? बुटवल निर्माणाधीन नै छ ।' यो निर्माणाधीन सहरमा कोर्सबुक र गेसपेपर बेच्दिनँ भनेर अड्डी कस्नु जोखिम मोल्नु हो । त्यही जोखिमले बनाएको छ माधव गौतमको परिचय । सहरमा उनी एक्ला बृहस्पतिजस्ता देखिन्छन् । गौतमका लागि भने यो कुनै नयाँ पेसा होइन । बाजेले जग बसालिदिएको व्यवसायलाई बुटवलमा ल्याएर निरन्तरता दिएका मात्र हुन् उनले ।

जग सिलोङ

माधव गौतमको पुस्तक व्यवसायको पुस्तौनी कथा मेघालय प्रान्त, भारतको सिलोङबाट सुरु हुन्छ । गुल्मी बलेटक्सारका फूलराज गौतम भारतीय सेनामा भर्ती हुन पुगे । समयक्रममा आफ्नो परिवार पनि लिएर गए । हुर्केका छोरालाई व्यवसायमा लगाउनकै लागि उनले सिलोङमा पुस्तक पसल खोले । नाम राखे, ‘नेपाली सौभाग्य पुस्तकालय' । कहिले खुलेको हो ? ठ्याक्कै तिथिमिति सम्झना छैन । ‘भारत स्वतन्त्र हुनुभन्दा पहिले नै हो', गौतमका नाति अनिल हिमाल गौतम भन्छन् । अनिलको भनाइलाई आधार मानेर भारत स्वतन्त्र भएको सन् १९४७ लाई स्थापना मान्ने हो भने सात दशक पुगेछ सिलोङमा ‘नेपाली सौभाग्य पुस्तकालय' खुलेको ।

 सात दशकपहिले गुल्मीका फूलराज गौतमले सिलोङमा जग हालेको पुस्तक व्यवसायलाई उनको नाति पुस्तासम्मले देशका विभिन्न ठाउँमा निरन्तरता दिइरहेका छन् ।

बुबाले खोलिदिएको पुस्तक पसललाई राम्रै सञ्चालन गरे राधाकृष्ण गौतम र खेमराज गौतमले । नेपाली साहित्य चार खुट्टाबाट दुई खुट्टा टेक्दै गरेको समय थियो त्यो । धार्मिक पुस्तक नै बढी बेचे उनीहरूले । नाम कमाए । राधाकृष्ण स्वर्गवास भइसके । खेमराजका तीन भाइसँगै राधाकृष्णका छोरा मुक्तिराम गौतम सबै नै पुस्तक व्यवसायमा छन्।

छोरा पुस्तामा आउँदासम्म पसलले केही फरक रूप पनि पाएको छ। ‘नेपाली सौभाग्य पुस्तकालय' सँगै अहिले सिलोङमा उभिएको छ ‘हिमालय बुक हाउस' । धार्मिक पुस्तकसँगै अंग्रेजी, हिन्दी, नेपाली र स्थानीय खासी भाषाका किताब पनि पाइन्छ अचेल। खेमराजका जेठा छोरा विष्णुप्रसाद गौतमले सञ्चालन गरिरहेका छन् त्यहाँ । माइला (अनिल) र कान्छा (माधव) नेपाल फर्किएका छन् पुस्तौनी पेसा बोकेर।

सिलोङको माहोलले प्रेरित गरेको हो उनीहरूलाई यही पेसामा टिकिरहन । ‘त्यहाँ पुस्तक पसलेलाई सम्मान गरिन्छ,' अनिल सम्झन्छन् । पुस्तक पसले भएकैले शिक्षामन्त्रीसँग भेटेर केही विचार राख्ने मौका पाएका थिए उनले त्यहाँ । त्यसो त त्यहाँ पठन प्रवृत्ति पनि विकास भइसकेको थियो।

‘त्यहाँ पठन संस्कृति निकै राम्रो छ', माधव भन्छन् । गुल्मीबाट एसएलसी गरेपछि करिब ८ वर्ष सिलोङमा बिताएका उनी त्यहाँ पुग्दा भर्खरै मेघालय प्रान्त घोषणा भएको थियो । स्थानीय आदिवासी खासीमा पढ्नुपर्छ भन्ने चेतना पलाएको थियो । मेघालय विश्वविद्यालय स्थापना भइरहेथ्यो । पुस्तक पढ्ने, लेख्ने र बेच्ने तीनैलाई सम्मान गरिन्थ्यो।

त्यसैको प्रभावले पनि हो सायद, दुई भाइ नै नेपाल हान्निए । पुस्तक पसललाई निरन्तरता दिँदै । केवल व्यापार मात्र उनीहरूको उद्देश्य होइन । ‘पैसा त जसरी कमाए पनि भयो नि', अनिल भन्छन् । पुस्तक पसलको पछाडि पठन संस्कृति विकास गर्ने उद्देश्य पनि छ । त्यसैले नारा नै बनाएका छन्, ‘गृह पुस्तकालय सन्तानलाई वरदान हो ।' यो नारा सिलोङ, काठमाडौं र बुटवलसम्म देख्न सकिन्छ।

निरन्तरता काठमाडौं

‘२४ वर्ष भएछ', औंला भाँचे अनिल हिमाल गौतमले । काठमाडौं डिल्लीबजारको उकालोमा साढे दुई दशकपहिले उनले पुस्तक पसल थाप्दा नेपाली पुस्तक बजार कमजोर नै थियो । पाठ्यपुस्तकसँगै साहित्यिक र धार्मिक पुस्तक राखेर सुरु गरेका थिए उनले । निरन्तरता सिलोङकै थियो । नाम भने थोरै फरक, ‘हिमालय बुक स्टल'।

पठन संस्कृति बनिसकेको थिएन । उपत्यकामै नाम चलेका पुस्तक पसल थिए जो साहित्यिक पुस्तक बेच्थे । पाठ्यपुस्तक नै पढ्ने पनि कम थिए ।‘मेडिकल र इन्जिनियरिङ इन्ट्रान्स तयारी गर्नेहरू मात्र किताब पढ्थे', अनिल सम्झन्छन्, तैपनि गेसबुक र गाइड कहिल्यै बेचेनन् उनले।

अहिले त पठन संस्कृति फराकिलो बन्दै छ । टेक्स्टबुक पढ्ने मात्र होइन कोर्सको सीमाबाट बाहिर गएर वाङ्मयको विराट् संसारमा पस्नेहरू पनि बढेका छन् । त्यसैले सन्तुष्ट छन् अनिल । ‘बौद्धिक सर्कलसँग सम्पर्कमा भइन्छ, त्यसैले खुसी दिन्छ' उनी भन्छन् । किताब पसलेलाई गर्ने व्यवहारप्रति भने उनी खासै सन्तुष्ट छैनन् । किताब पसलको महत्वव अझै नबुझ्दा उदेक मान्छन्।

चाहिन्छ धैर्य

तीन पुस्ता, सात दशक एउटै पेसामा जोडिँदा अवश्य केही अनुभव थिग्रिएको छ । त्यो अनुभव काम लाग्न सक्छ पुस्तक व्यवसायमा आउन चाहने नयाँहरूका लागि।

आखिर के चाहिन्छ ?

‘प्यासन चाहिन्छ' अनिल भन्छन्, ‘अनि धैर्य पनि चाहिन्छ ।' उनका अनुसार बुझेर बजार अध्ययन गरेर मात्र यो पेसामा हात हाल्नु राम्रो हुन्छ । सबैभन्दा ठूलो आवश्यकता धैर्यकै हो किनभने यो रातारात मालामाल हुने पेसा भने होइन । ‘यो पेसा गरेर कार चढ्न त सकिएला तर मुस्किलले' अनिल भन्छन् ।फरक ठाउँको फरक अनुभव सायद माधव गौतम भने पुँजीको आवश्यकता पनि उत्तिकै देख्छन् । भन्छन्, ‘हनुमानको जस्तो जाँगर र कुबेरको जस्तो धन लिएर आउँदा राम्रो हुन्छ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.