महावीर र महादान
महावीर पुनले देखेको सपना नेपालको आर्थिक समृद्धिको हो । दुनियाँलाई उनले दुई कित्तामा बाँडेका छन् ः आर्थिक रूपमा विकसित या समृद्ध र अविकसित या विपन्न । नेपालसँग त आर्थिक रूपमा सम्पन्न र विश्वका विकसित मुलुकमा उक्लिने हरेक सम्भावना भएको उनको मान्यता छ । नेपाल सरकारसँग निराश, दुःखी र आक्रोशित हुनुपर्ने थुप्रै कारण छन्, महावीरसँग । तर उनी त्यसबाट हतोत्साहित नभई आफ्नो अभियानमा जुटेका छन्।
उनको सपनाको नेपाल निर्माणमा खाडी मुलुकमा सामान्य मजदूरी गर्नेदेखि लिएर विदेश र स्वदेशमा रहेका सामान्य नेपालीहरूसमेतले योगदान पुर्याएका छन्, उनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग पुर्याएर । त्यति मात्र हैन, सरकारले उनको अभियानलाई नीतिगत रूपमा गम्भीरताका साथ नलिए पनि प्रशासनतन्त्रको ठूलो हिस्साले निजी हैसियतमा उनको आह्वानलाई सकारात्मक रूपमा लिँदै केन्द्रलाई सहयोग पुर्याएको छ ।
एकजना स्वप्नदर्शी नागरिकको यत्रो प्रयास र लगनमा सरकारको उदासीनता दुर्भाग्यपूर्ण हो, तर यस्ता उदासीनताले त्यो अभियानलाई दुरुत्साहित गरेको मानी अभियानलाई बीचैमा छोडेमा महावीर पुन अरू 'स्वप्नदर्शी' भन्दा फरक साबित हुने छैनन् । तर सौभाग्य महावीर पुनः स्वयंले यो कुरा अरूभन्दा बढी बुझेका छन् र अर्जुनदृष्टि' र अठोटका साथ उनले आफ्नो यात्रा अगाडि बढाएका छन् । त्यो यात्राको सफलताको लागि उनले प्राप्त गरेका 'म्यागासेसे अवार्ड', राष्ट्रदीप पदकसँगै अन्य आधा दर्जनजति पुरस्कारलाई लिलाममा राखी त्यसबाट आएको रकमसमेत गाउँगाउँमा वैज्ञानिक आविष्कारमा सघाउ पुर्याई तिनीहरूको प्रयोगबाट उत्पादकत्वमा सघाउ पुर्याउने र ती सबै गतिविधिमा सहयोग जारी राख्न निश्चित आय सुनिश्चित गर्नु सानो आकारको जलविद्युत् परियोजना सुरु गर्ने उनको अठोट छ ।
ग्रामीण र दुर्गम क्षेत्रमा आकस्मिक 'मेडिकल आपूर्ति' को लागि सस्तोमा 'ड्रोन जहाज' को निर्माण प्रक्रिया सुरु भइसकेको र त्यस्तै प्रदूषणरहित टुकटुक तथा त्यसको लागि ब्याट्री निर्माणका काममा प्रशस्त विज्ञहरूलाई रोजगार दिन सक्ने उनको अध्ययनको निष्कर्ष छ ।
करिब ५० करोड रकम एकत्र भएमा उनको सपनाले साकार र विनाब्रेकको गति लिने विश्वास छ पुनको । जुन आकार र गतिमा उनले समस्त नेपालीहरूको सहयोग प्राप्त गर्न थालेका छन्, त्यो साँच्चै उत्साहजनक मान्यता तथा अनुमोदन हो, एउटा वैज्ञानिक र समाज परिर्वतनको लागि अगाडि बढेको नेताको सपनाको । गत साता यस दैनिकसँगको अन्तरक्रियामा पाठकहरूको प्रत्यक्ष संलग्नता र उनीहरूबाट सहयोग कसरी गर्न सकिन्छ भन्ने चासो पुनको लागि ताजा अक्सिजन सावित हुने आशा गर्न सकिन्छ । सरकारले पुनको सोच, चिन्तन र सपनालाई समर्थन गला या नगर्ला, त्यो उसको संवेदनशीलतामा भरपर्ने कुरा हो, तर त्यो सपनालाई व्यवहारमा ल्याउन हरेक किसिमको सहयोग पुर्याउन र पुनको उत्साह मर्न नदिन अब सबै नेपालीहरूको दायित्व बन्नुपर्छ ।