देउवाका चुनौती

 देउवाका चुनौती

शेरबहादुर देउवाले मुलुकका चालीसौं, ०४६ को परिवर्तनपछिका पच्चीसौं र २०६३ को ‘आमूल परिवर्तन' पछिका दसौं प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ । विगत २३ वर्षमा उहाँले चौथोपटक मुलुकको कार्यकारी प्रमुख बन्ने दुर्लभ अवसर पनि पाउनुभएको छ । कुनै पनि जिम्मेवारी जवाफदेहिता र चुनौतीबिना आउँदैन । त्यसैले भविष्यमा देउवाको यसपटकको नेतृत्वको सफलता र असफलता केही महत्ववपूर्ण मुद्दालाई यो सरकारले कुन रूपमा सम्बोधन गर्‍यो या त्यसको लागि प्रयास गर्‍यो, त्यसबाट जाँचिनेछ । त्यसको गणना विश्लेषणको प्रक्रिया आजैबाट सुरु भएको छ, शीतलनिवासमा शपथ लिएलगत्तै ।

यो गठबन्धन सरकार हो, त्यसैले एकल दलको सरकारले जसरी सहजरूपमा निर्णय लिन कठिन हुनेछ, प्रधानमन्त्रीको लागि । तर सरकार र संसदभित्र र बाहिर रहेका सबै दलहरू नेपालको संविधानसँगै मुलुकको सार्वभौमसत्ता तथा स्वतन्त्रताप्रति बफादार हुनैपर्ने हुन्छ । त्यसैले यो सरकारको पहिलो दायित्व मुलुकको आन्तरिक राजनीतिबाट बाह्य शक्तिलाई बाहिर राखी त्यसको स्वतन्त्र सञ्चालन देउवा नेतृत्वको सरकारको पहिलो दायित्व हो । आन्तरिक रूपमा स्थायी, स्वतन्त्र र स्वाभिमानी सरकार र जनताले मात्र विदेशसँगको नीति र सम्बन्धलाई सन्तुलित राख्न सक्छन् ।

पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले जाँदाजाँदै नेपाल सरकारले दुई विशाल छिमेकीसँग सन्तुलित र समदूरीको सम्बन्ध स्थापित गरेको स्वागतयोग्य दाबी गरे पनि भावी दिनमा सरकारका व्यवहार र कारबाहीबाट त्यसको पुष्टि हुन आवश्यक छ । सरकार गठन र संविधान कार्यान्वयनको लागि विदेशी दूतावास धाउने परम्परामा ब्रेक लाग्नु त्यो दाबीको सफलताको पहिलो प्रयास हुनेछ ।

सरकारको नेतृत्व राष्ट्रियता र प्रजातन्त्रका वाहक शक्तिहरूबीचको सहकार्यमा विश्वास राख्ने नेपाली कांग्रेसले गरेको छ । त्यसले अर्को चुनौती थप गरेको छ देउवामाथि । संविधानको स्वरूप सुनिश्चित गर्न र त्यसको स्वीकार्यता स्थापित गर्न राष्ट्रियता र प्रजातन्त्रका शक्तिहरूलाई फराकिलो पार्नु र मुलुकमा सबै क्षेत्र, वर्ग, लिंग, जातजाति र भाषाभाषीलाई सम्मानित र समान नागरिक भएको अनुभूति गराउनु हो ।

राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबीच अन्योन्याश्रित सम्बन्ध छ । तर राजनीति तथा सत्ता केही नेताहरूको एकाधिकारमा रहेको अनि शान्ति प्रक्रिया अगाडि नबढेको अवस्थामा दुई प्रक्रियाबीच असन्तुलन बढेको छ । राजनीति सत्तासँग जोडिएको छ र सत्ता दुई दलको नियन्त्रणमा आएको छ । त्यससँगै राज्यका संवैधानिक निकायहरू नेपाली जनताभन्दा केही नेता, दल र दाताहरूको नियन्त्रणमा पुगेको अवस्था छ । ती संस्थाहरूलाई नेपाली जनताको बृहत् हितमा नल्याएसम्म राज्य र राज्यका संस्थाहरूको विश्वसनीयता स्थापित हुन सक्दैन ।

भूकम्पपछिको पुनर्निर्माण, विकास परियोजनाको समयमै कार्यान्वयन, भ्रष्टाचारमाथि देखिने नियन्त्रण शैक्षिक तथा सामाजिक हिसाबले पछाडि परेकाहरूका लागि सकारात्मक कार्यक्रम र राजनीतिमा कोही निषेधित नभएको सन्देश पठाउनु देउवाको चुनौती र अवसर पनि हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.