अदालतले अन्याय गरेको भन्दै मौनजुलुस प्रदर्शन
चरीकोट : अदालतले अन्याय गरेको भन्दै जुगँु घटनाका पीडितहरु सदरमुकाम चरीकोटमा न्याय माग्न आइपुगेका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको क्रममा गत बैशाख २६ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता वीच भएको झडपमा परी ज्यान गुमाएका कुलबहादुर तामाङका परिवारले आफुहरुलाई जिल्ला अदालतले अन्याय गरेको आरोप लगाएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नम्वर १ हुप्पा घर भएका मृतक तामाङ वडा सदस्यका उम्मेद्धवार बुबा गोरे तामाङको निर्वाचनको प्रचारप्रसारमा हिडेका थिए । सुरुमा नेकपा माओवादी केन्द्रमै आवद्ध भएका तामाङका परिवार निर्वाचनको केहि समय अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए । मृतकका बुवा गोरेले आफ्नो छोरालाई राजनीतिक प्रतिशोध साँध्ने बदनियतले आक्रमण गरी हत्या गरेको भन्दै दोषी माथि कार्वाहीको माग गरेका छन् । घटनामा संलग्न रहेको आशंक्कामा प्रहरीले जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जेठ २६ गते साधारण तारेखमा अदालतले छोडेपछि मृतकका परिवार आफुलाई अन्याय भएको भन्दै सदरमुकाम चरीकोटमा आएका हुन ।
मृतकका बुबाले जारी गरेको अपिल पत्रमा घटनाको मुख्य योजनाकार नेकपा माओवादी केन्द्रका नेता एवंम पूर्व राज्यमन्त्री देवी खड्काको नेतृत्वमा आफ्नो छोरालाई मारेको भन्दै नेतृ खड्का सहित ३९ जनाको नाममा किटानी जाहेरी दर्ता गर्नु भएको थियो । उहाँले जिल्ला न्यायाधिश लालकाजी श्रेष्ठको इजलासले कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले आफुलाई विचलित बनाएको बताउनुभयो । अदालतको यस्तो आदेशले न्याय मरेको र न्यायको लागि पिडितहरुले सम्मानित अदालतको भरोसामा रहने दिन सकिएको अनुभुति आफुहरुले गरेको बताएका छन् । यस्तै अदालतले कर्तव्य ज्यान मुद्धामा भएको थुनछेकको आदेश पुर्वाग्रही र प्रभावित भएर गरिएको पाइएको बताउदै तत्कालै सञ्चाउन माग गर्दै पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् ।
अदालतले अन्याय गरेको भन्दै आइतबार सदरमुकाम चरीकोटमा मौन ¥यालि समेत निकालिएको थियो । सो ¥यालिले सातदोवाटो चोक हुदै जिल्ला अदालतको परिक्रममा गरेको थियो । हत्यारालाई तत्काल पक्राउ गर, न्याय मार्न पाइदैन र पिडितलाई न्याय गर लगाएतका नारा लेखिएको प्ले कार्ड बोकेर शान्तिपूर्ण विरोध जनाएका छन् ।
यसैवीच एक साता अघि मात्र नेकपा माओवादी केन्द्रले नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई फसाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दोलखा र जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाएको थियो । माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक गोपाल पाण्डेले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा दुई पार्टी वीच चुनावी प्रचारको क्रममा झडप हुदा घाइते भएका तामाङलाई एमाले कार्यर्ताहरुले नै मारेको बताएका छन् । निर्वाचन प्रचारको क्रममा भएको झडपमा मृत्यु भएका तामाङलाई सरकारले सहिद घोषणा गरीसकेको अवस्थामा फेरी पनि विभिन्न बाहनामा घटनालाई व्यूताउन खोज्नु गम्भिर षडयन्त्र भएको बताएका छन् ।