कालीमार्सी जोगाउन रोपाइँ महोत्सव

कालीमार्सी जोगाउन रोपाइँ महोत्सव

जुम्ला : संसारकै अग्लो ठाउँमा फल्ने कालीमार्सी धान जोगाउनका लागि जुम्लामा राष्ट्रिय धान महोत्सव मनाइएको छ । यातायातको सहज पहुँचसँगै कर्णालीमा तराईको चामल आयात बढ्दै गएपछि स्थानीय कालीमार्सी जोगाउनका लागि किसानको आग्रहमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।

संसारकै उच्च ठाउँमा धान फल्ने साथै पौष्टिक दृष्टिकोणले पनि महत्ववपूर्ण मानिएको कालीमार्सी धानको उत्पादन घट्दै गएकोमा किसानले चिन्ता व्यक्त गरे । कर्णालीको पहिचानसँग जोडिएको कालीमार्सी धान रोप्ने दर कम हुँदै गएको र बाहिरबाट आयातित चामलको प्रयोग बढ्दै गएपछि किसानले कालीमार्सी बचाउनका लागि प्रत्येक वर्ष धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा शनिबार तातोपानी गाउँपालिका लाम्राको रानी जिउलोमा किसानको सहभागितामा रोपाइँ महोत्सव गरिएको थियो ।

महोत्सवमा किसानले पछिल्ला वर्षमा कालीमार्सीमा रोगकीराको प्रकोपका कारण उत्पादकत्व घट्दै गएकाले कृषिसँग सम्बन्धित निकायले यसको समाधानका लागि पहल थाल्न आग्रह गरेका छन् । तराईमा असार पन्ध्रलाई धान दिवसका रूपमा मनाउँदै आए पनि जुम्लीवासीले त्यसअगावै धान दिवस मनाउँदै आएका छन् । कर्णालीको कालिकोटबाहेक अन्य जिल्लामा जेठको पहिलो साताबाट रोपाइँ सुरु गरेर असार पहिलो सातासम्म सम्पन्न गरिन्छ । वर्षमा दुई बालीमात्रै पाक्ने कर्णालीमा धान पाक्नका लागि नौ महिना लाग्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताउनुभयो । उहाँले संसारकै उच्च भेगमा फल्ने धान कालीमार्सी सबैभन्दा पौष्टिक र नेपालमा फल्ने धानमा महंगो भएको दाबी गर्नुभयो ।

‘सहज रूपमा सस्तोमै चामल पाउन थालेपछि कालीमार्सीको खेती र उत्पादन घटेको हो,' कँडेलले भन्नुभयो, ‘तर यसको महत्वव र मूल्य धेरै नै छ । त्यसैले यसको संरक्षणका लागि सबै किसान लाग्न जरुरी छ ।' एकदशक अघिसम्म ९० प्रतिशत कालीमार्सी धान रोपाइँ हुने जुम्लामा अहिले निकै घटेको कँडेलको भनाइ छ । कृषि कार्यालयका अनुसार अहिले जुम्लामा रोपाइँ हुने कुल दुई हजार नौ सय ४० हेक्टर जमिनमध्ये ३० प्रतिशतमा मात्र कालीमार्सी धान रोपाइँ हुने गरेको छ । बिउ राख्नेदेखि धान काट्नेबेलासम्म नौ महिना लाग्ने भएका कारण किसानको यसप्रति आकर्षण घट्दै गएको उहाँले बताउनुभयो । रैथाने कालीमार्सी धान १.५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने गरेको छ ।

कर्णालीको सबैभन्दा धेरै धानखेती हुने जुम्लामा रोपाइँ अन्तिम चरणमा पुगेको छ । अधिकांश क्षेत्रमा नदीको पानीले सिँचाइ हुने भएकाले असारको दोस्रो सातासम्म सबै ठाउँमा रोपाइँ सम्पन्न भइसक्ने कृषि विकास कार्यालयका प्रचार अधिकृत बालकराम देवकोटाले बताउनुभयो । तर, उत्पादन वृद्धिका लागि जुम्लामा चन्दननाथ १, चन्दनननाथ ३, लेकाली १ र लेकाली ३ गरी चार उन्नत जातका धान रोपाइँ हुने गरेको छ । यी उन्नत जातको धानको विकास र गाडीको सहज पहुँचले बाहिरको आयातित चामलको प्रयोग बढ्नुले कालीमार्सी रोपाइँ घट्दै गएको छ । कालीमार्सी चामल पौष्टिक हुने भए पनि धेरै उत्पादन नहुने र महंगो भएका कारण यसको प्रयोग पनि घट्दै गएको छ ।

कर्णालीमा रोपाइँलाई पर्वको रूपमा लिने गरेका छन् । स्थानीय मौलिक संस्कृतिअनुसार यहाँका किसानले आफन्तजन जमघट र मागल गित गाउँदै रोपाइँ गर्छन् ।

कर्णालीमा रोपाइँलाई पर्वको रूपमा लिने गरेका छन् । स्थानीय मौलिक संस्कृतिअनुसार यहाँका किसानले आफन्तजनबीच जमघट र मागल गित गाउँदै रोपाइँ गर्छन् । गाउँमा एक अर्काको सहयोग (परिम) लगाउँदै किसानले गाउँभरिको रोपाइँ पालो गरेर गर्छन् । साथै रोपाइँको अवसरमा नवविवाहित जोडीलाई हिलोमा चोपेर दिर्घायुको आशिर्वाद समेत दिने पर्वका रूपमा कर्णालीका किसानले रोपाइँलाई लिने गरेको संस्कृतिविद रमानन्द आचार्यले बताउनुभयो । रोपाइँ मानो रोपेर मुरी उब्जाउने पर्वका साथै यहाँको संकृतिलाई जगेर्ना गर्ने र आफन्जन भेटघाट गर्ने पर्वका रूपमा लिइने संस्कृतिविद आचार्यको भनाइ छ ।

स्थानीय किसान पूर्णचन्द्र चौलागाईंले कालीमार्सी धानको लोप हुनु भनेको कर्णालीको पहिचान गुम्ने बताउनुभयो । उहाँले जुम्लाको इतिहाससँग जोडिएको धानखेती उत्पादन कम हुनुले स्थानीय मौलिक पहिचान नै हराउने चिन्ता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो केही दशकयता कालीमार्सीमा ब्लास्ट रोगको प्रकोपले धान उत्पादन घट्दै गएको भन्दै कृषि कार्यालयलाई यसको जगेर्ना गर्न आग्रह गर्नुभयो । करिब आठ सय वर्ष पुरानो इतिहास बोकेको कालीमार्सी जोगाउन प्रत्येक वर्ष रोपाइँ महोत्सवका साथै किसानलाई प्रोत्साहन गर्न कृषकले माग गरेका छन् ।

कालीमार्सी धान १३औं शताब्दीको सुरुवातमा बाबा चन्दननाथले भारतको कस्मिरबाट ल्याएर जुम्लाको लाछु जिउलामा खेती सुरु गरेको स्थानीय बताउँछन् । यहाँको माटो सुहाउँदो र अरु खाद्यान्नभन्दा बढी महत्वव बोकेको हुँदा यसको जगेर्नाका लागि राज्यको ध्यान जान आवश्यक रहेको किसानको माग छ । यस्तै, राणाकालीन समयमा जुम्लाबाट हुलाकमार्फत राणा प्रधानमन्त्री र राजाका लागि दैनिक दुई पाथी कालीमार्सी चामल जाने गथ्र्यो । तर अहिले सजिलोका लागि बाह्य चामलको प्रयोग बढ्दै गएपछि विश्वकै उच्च ठाउँमा फल्ने पहिचान बनाएको कालीमार्सी लोप हुन सक्ने चिन्तामा जुम्ली किसान छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.