पर्यटक तान्न पोखरामा रोपाइँ महोत्सव

पर्यटक तान्न पोखरामा रोपाइँ महोत्सव

पोखरा : कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले यहाँ असारे रोपाइँ महोत्सवको तयारी गरिएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ गते हुने महोत्सवमा सहभागी हुन पोखरामा रहेका पर्यटकलाई त्यतिबेलासम्म पोखरामै बस्न पर्यटन व्यवसायीले आग्रह गरेका छन् ।

पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्ले विगत १३ वर्षदेखि रोपाइँको माध्यमबाट पर्यटकको बसाइँ लम्ब्याउन रोपाइँ महोत्सव गर्दै आएको छ । १४औं रोपाइँ महोत्सव पोखराको बाटुलेचौरको ठूलीबिसी फाँटमा गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागी हुन अमेरिकाको रोट्रेडम युनिभर्सिटीलाई पत्राचार गरिएको र त्यहाँबाट १५ जनाको टिम पोखरा आउँदै गरेको परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो ।

रोट्रेडम युनिभर्सिटीबाट विगत वर्षमा पनि यहाँको परम्परागत खेतीप्रणालीको अनुभव लिन विद्यार्थी र प्रोफेसरसहितको टोली आउने गरेको बताइएको छ । जापान, सिंगापुर, चीन, जर्मन, इटाली, फ्रान्सलगायत २२ भन्दा बढी देशका ५ सय विदेशी पर्यटक महोत्सवमा सहभागी हुने परिषद्का उपाध्यक्ष पराजुलीले बताउनुभयो । महोत्सवमा ३० हजारभन्दा बढी आन्तरिक पर्यटकको सहभागिता रहने उहाँले सुनाउनुभयो । पछिल्लो समय पोखराका फाँट कंक्रिट जंगलमा परिणत हुँदै गएपछि आन्तरिक पर्यटक पनि असारे महोत्सवमा हिलो खेल्न जानेको संख्या बढेको हो ।

हलो जोत्ने, कान्ला खन्ने, आली लगाउने र रोप्ने काममा पर्यटक स्वयं सहभागी हुने र यसले महोत्सवलाई थप रमाइलो बनाउने परिषद्का अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । नाचगान, पञ्चे बाजा र रंग रमाइलोका साथ दहीचिउरा खाएर रोपाइँ महोत्सव मनाउने तयारी गरेको छ । हिलो तथा साउने, असारे गीतसँगै रोपाइँ हुनेछ ।

विदेशी र नेपालीबीच रस्साकस्सी, माछा समाउने र हिलो दौडजस्ता आकर्षक प्रतियोगिता महोत्सवमा समेटिएको छ । हिलोमा खेलिने खेलमा पर्यटकले विगत वर्ष झैं उत्साहजनक सहभागिता जनाउने विश्वास आयोजकको छ । प्रतियोगिताका विजेतालाई पुरस्कारसमेत व्यवस्था गरिएको महोत्सवका संयोजक नवराज अधिकारीले बताउनुभयो । नेपालमा धान दिवसका रूपमा असार १५ लाई मनाइन्छ । असार १५ मा एक पटक हिलो छुनै पर्छ भन्ने पुरानो मान्यतालाई साकार पार्दै कृषकलाई सम्मान गर्ने कार्यक्रम छ ।

पर्यटकलाई हरेक मौसममा उत्तिकै रूपमा पोखरा भित्याउने र पोखरा हरेक मौसमका लागि भन्ने भनाइलाई चरितार्थ गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ । पोखरामा खेतीयोग्य जमिन नै मासिँदै गएकाले खेतीयोग्यभूमि जोगाउन पनि महोत्सवमा सचेतनामूलक कार्यक्रम गरिने अध्यक्ष शर्माले बताउनुभयो । पछिल्लो समय पोखरामा प्लटिङका कारण खेतीयोग्य जमिन मासिँदै गएको छ । पानीको प्रसस्त सुविधा भएका, सिमसार र दलदल खेतीयोग्यभूमि पनि प्लटिङ गरी घडेरी बनाइँदा वातावरणमा पनि प्रतिकुल असर पर्दै गएको छ।

धानखेतीको महत्व दर्शाउँदै अर्गानिक कृषि उत्पादनमा युवालाई परिचालन गर्ने, धान उत्पादनको स्रोत, खेतीयोग्य जमिनको संरक्षण, कृषकको सम्मान तथा पेसाप्रति उत्प्रेरित गर्दै कृषि पर्यटनको विकासलाई समेट्दै संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजक संस्थाका उपाध्यक्ष शर्माले बताउनुभयो । हलो जोत्ने, कान्ला खन्ने, आली लगाउने र रोप्ने काममा पर्यटक स्वयं सहभागी हुनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.