गुरुयोजना कार्यान्वयनमा जोड

गुरुयोजना कार्यान्वयनमा जोड

भक्तपुर : भक्तपुरका पर्यटन व्यवसायीहरुले जिल्लालाई प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले नेपालको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा स्थापित गर्ने पर्यटन विकास तथा व्यवस्थापन गुरुयोजना कार्यान्वयन गर्न माग गरेका छन् ।भक्तपुर पर्यटन विकास समितिको एघारौं वार्षिक साधारणसभामा उनीहरुले पर्यटन क्षेत्रलाई समग्र जिल्लाको आर्थिक गतिविधिको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्ने उक्त गुरुयोजना कार्यान्वयन गर्न माग गरेका हुन् ।

समितिले २०६७ सालमा तत्कालीन भक्तपुर जिल्ला विकास समितिसँगको सहकार्यमा उक्त गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजनाले जिल्लाको पर्यटनलाई दिगो रुपमा विकास र व्यवस्थापन गरी पर्यटनबाट हुने लाभका क्षेत्रहरु विस्तार गर्दै स्थानीय समुदायमा पुर्‍याउने मुख्य लक्ष्य मानेको छ । प्राकृतिक, सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक स्थलहरुको संरक्षण गर्दै पर्यटन विकासका लागि आवश्यक वातावरण सृजना गर्ने र स्थानीय वासिन्दाहरुको जीविकोपार्जनमा सुधार ल्याई समावेशीमूलक आर्थिक विकासमा योगदान पुर्‍याउने अर्को लक्ष्य गुरुयोजनाको रहेको छ ।

गुरुयोजना कार्यान्वयनमा आएपछि जिल्लामा दिगो पर्यटन विकास हुने भएकाले साधारणसभाका सहभागीहरुले जिल्लाका चार वटा नगरपालिकासँग सहकार्य गरी उक्त गुरुयोजना कार्यान्वयन गर्नुको विकल्प नभएकोमा जोड दिए । साधारणसभा उद्घाटन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले पर्यटन उद्योगलाई स्थानीय जनतासँग एकाकार गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो । पर्यटन उद्योग नेपालको मुख्य क्षेत्र भएको हुँदा यसको प्रतिफल सर्वसाधारण जनासम्म पुग्नुपर्ने उहाँको भनाइ थियो ।

‘पर्यटन उद्योगलाई स्थानीय जनतासँग एकाकार गर्दै लानुपर्छ', अध्यक्ष बिजुक्छेले भन्नुभयो, ‘पर्यटन उद्योग प्रवद्र्धन गर्न स्थानीय तहको सरसफाईमा पनि ध्यानु दिनुपर्छ ।' भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योगको आधार सम्पदा संरक्षणलाई नगरपालिकाले प्राथमिकताका राख्ने बताउनुभयो । पर्यटन सेवा शुल्कबाट उठेको रकमबाटै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र शिक्षा क्षेत्रमा प्रगति गरेको उहाँको भनाइ थियो । ‘पर्यटनहरुबाट उठ्ने शुल्क भक्तपुर नपाको प्रमुख आम्दानी हो', उहाँले भन्नुभयो, ‘त्यसैले हामीले पर्यटन प्रवद्र्धनसँगै सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै जानेछौं ।'

त्यस्तै नवनिर्वाचित उपप्रमुख रजनी जोशी श्रेष्ठले भूकम्पबाट थलिएको पर्यटन उद्योग र सम्पदा संरक्षणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगर पर्यटकीय र सांस्कृतिक नगर भएकाले भूकम्पपछिको पुनर्निर्माण सोहीअनुसार गर्नुपर्र्नेतर्फ भक्तपुर नगरवासी पनि सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।कार्यक्रममा इतिहासविद् एवं समितिका सल्लाहाकार प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा र पर्यटन एउटै सिक्काका दुई पाटा भएकाले सम्पदा संरक्षण तथा त्यसको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भक्तपुरको पाँचतले मन्दिर मात्र ६ महिनाभित्र निर्माण पूरा भएको तर यसको प्रचार हुन नसकेको गुनासो गर्नुभयो । ‘पाँचतले मन्दिर जम्मा ६ महिनामा निर्माण पूरा भएको हो', इतिहासविद् प्रा.डा. श्रेष्ठले भन्नुभयो, ‘यो विश्वका सात आश्चर्यमध्ये पहिलो आश्चर्य हो तर हामीले त्यसको प्रचारप्रसार गर्न सकेका छैनौं । भक्तपुरका यस्ता आश्चर्य बोक्ने सयौं सम्पदा छन् । तिनीहरुको प्रचारप्रसार गरौं । अनि पर्यटक नओइरिने कुरै छैन ।'

कार्यक्रममा भक्तपुरका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, समितिका संस्थापक अध्यक्ष नीलकृष्ण ताम्राकार, पूर्वअध्यक्षहरु नवलकिशोर राजभण्डारी र दिवानचन्द्र धौभडेलले समितिको पहलमा बनेको पर्यटन गुरुयोजना कार्यान्वयन गर्दै पर्यटनलाई जिल्लाको समग्र आर्थिक विकासको मुख्य माध्यम बनाउनुपर्ने बताउनुभयो ।

समितिको अध्यक्षमा भेले

शनिबार नै सम्पन्न साधारणसभाले भक्तपुर पर्यटन विकास समितिको अध्यक्षमा रामसुन्दर भेले निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा कृष्णसुन्दर खाइतू र महासचिवमा दीपेशराज शर्मा पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा रवीन्द्रकुमार श्रेष्ठ, दीपेश वेंजू, सिद्धिलक्ष्मी मुल्मी, रमिला दुवाल र अरविन्द्र प्रजापति निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको विधानअनुसार साधारणसभाले अध्यक्ष, उपाध्यक्ष र महासचिवसहित आठ जना पदाधिकारी निर्वाचित हुनेछन् । निर्वाचित कार्यसमितिले दुईजना सदस्य मनोनयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.