जङ्गली च्याउ खाएर चार जना बिरामी
बर्दिवास: महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-५ गणन्तामा आज एकै परिवारका चार जना जङ्गली च्याउ खाएर बिरामी भएका छन्। गणन्ता बस्तीका खिलबहादुर मिश्रको घरका चार जना जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका हुन्।
आज मध्याह्नतिर घर नजिकैको वनबाट ल्याएको च्याउ खाएर उहाँकी पत्नी ५५ वर्षीया कौशिला मिश्र, छोरी २२ वर्षीया तिलकुमारी मिश्र, १३ वर्षीया रेणु मिश्र र छोरा १७ वर्षीय धर्मराज मिश्रसहित चार जना बिरामी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
चारै जनाको अहिले बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो।
सिकिस्त अवस्थामा अस्पताल ल्याइएका चारैजनालाई सघन उपचार कक्षमा उपचार गरिएको अस्पतालले जनाएको छ। चारैजनाको अवस्था अब खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सक डा सीताराम पराजुलीले जानकारी दिनुभयो।
जिल्लाको पुरानो माइस्थान गाविसमापर्ने हालको बर्दिवास-४ र ५ मा बर्सेनि जस्तो जङ्गली च्याउ खाएर बिरामी हुने घटना बाक्लै हुने गरेको छ। यो क्रम रोक्न स्थानीय समुदाय, सामाजिक सङ्घसंस्था र स्वास्थ्य संस्थाले संयुक्त पहल गर्न आवश्यक रहेको यहाँका स्वास्थ्यकर्मीले बताएका छन्। रासस
प्रतिक्रिया दिनुहोस !