बाढीपीडितलाई २५ हजार राहत
राजविराज: प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीको बाढी प्रभावित क्षेत्र अवलोकन गर्दै बाढीपीडित परिवारलाई २५ हजार रुपैयाँका दरले राहत दिने घोषणा गर्नुभएको छ ।
बाढीपीडितको अवस्था बुझ्न हेलिकोप्टरबाट सप्तरीको तिरहुत गाउँपालिका आउनुभएका प्रधानमन्त्री देउवाले बाढीले कटान गरेको बाँधको निरीक्षण र पीडितको अवस्थाको स्थलगत अवलोकनपछि यस्तो घोषणा गर्नुभएको हो ।
बाढीले जिल्लामा करोडौंको क्षति र पीडितहरूको बिचल्ली भएको एक सातापछि प्रधानमन्त्री देउवा, गृहमन्त्री जनार्दन शर्मा र जिल्लाका सांसद सम्मिलित टोली बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् । नगद सहयोगका साथै उहाँले बाढीले भत्काएको बाँध अविलम्ब पुनर्निर्माण गराउने प्रतिबद्धता गर्नुभयो ।
प्रधानमन्त्री देउवासहितको टोलीले दुई किलोमिटरसम्म पैदल हिँडेर महुली खोलामा आएको बाढीले भत्काएको लोहजारा भेडियास्थित बाँधको निरीक्षण गरेको थियो । प्रधानमन्त्री देउवाले बाँध पुनर्निर्माण कार्यमा खटिएका सेना, प्रहरी र स्थानीयलाई धन्यवादसमेत दिनुभयो । सो क्रममा बाढीपीडितले राहत सामग्रीभन्दा पनि आफूहरूलाई बर्सेनि बाढीले सताउने गरेको महुली र खाँडो खोला नियन्त्रणका लागि ठोस काम गरिदिन आग्रह गरे ।
बाढी नियन्त्रणका लागि दीर्घकालीन उपाय खोजिने आश्वासन दिँदै प्रधानमन्त्री देउवाले बाढीद्वारा भत्किएका बाँध तत्कालै मर्मत र पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो । बाढीग्रस्त क्षेत्र अवलोकनपश्चात् पीडितलाई सम्बोधन गर्नुहुँदै उहाँले पीडितलाई घर–टहरा छानाका लागि तत्काल प्रतिपरिवार २५ हजार नगद सहयोग तथा १५ लाखसम्म सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गर्नुभयो ।
गृहमन्त्री शर्माले सरकार पीडितको तत्काल राहतका लागि गर्नुपर्ने सबै कार्य सुरु गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाललाई बाढीबाट घरवारविहीन भएकाहरूलाई तत्कालै खाना, बास र स्वास्थ्योपचारको उचित व्यवस्थापन गर्न निर्देशनसमेत दिनुभयो ।
बाढीपीडितले बाँध निर्माणमा ठोस काम नगरी भ्रष्टाचार भएको गुनासो गरेपछि प्रधानमन्त्री देउवाले गुणस्तरहीन कामबारे संसदीय छानबिन समिति गठन गरिने र समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही गरिने आश्वासन दिनुभयो ।
बाढीले जिल्लाको भेडिया, रघुनाथपुर, रुपनी, रम्पुरा मल्हनिया, सकरपुरा, दिघवा, मैनाकडेरी, तिलाठी, मलेठ, वसविट्टि, लौनीयालगायत दर्जन गाउँ प्रभावित छन् । तीमध्ये एक हजार पाँच सय परिवार अझै बाढीको उच्च जोखिममा छन् । प्रधानमन्त्रीसहितको टोलीले बाढी प्रभावित अन्य गाउँको भने हेलिकोप्टरबाटै निरीक्षण गरेको थियो । टोली शुक्रबार नै काठमाडौं फर्केको छ ।