मध्यरातमा बाढीले खुसी खोस्यो

मध्यरातमा बाढीले खुसी खोस्यो

खिम्ती (रामेछाप) : लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा हुनुहुन्छ । श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ ।

विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थप्नुभएको थियो । उहाँको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ । विमानले खेतबाट मकैसमेत भाँचेर ल्याउनुभएको थियो । साँझ खाना खाएपछि भने उहाँ छट्पटाइरहनुभएको थियो । राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो । उहाँ भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र-बाहिर गर्दै हुनुहुन्थ्यो । छिमेकीले 'सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ' भने पनि उहाँ मान्नुभएको थिएन ।

राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो । उहाँले श्रीमतीलाई 'कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्‍यो' भन्नुभयो । कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भन्नुभयो । तर, उहाँले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गर्नुभयो ।

उहाँले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भन्नुभयो । उहाँले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराउनुभयो । 'हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्कनुभएन, हामी आत्तियौं', कृष्णाले गहभरि आँसु पार्दै भन्नुभयो, 'छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रै'छ । हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो ।'

एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो । टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो । 'घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडांैमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं', श्रीमान्ले भनेको सम्झना गर्दै कृष्णाले भन्नुभयो, 'अब मलाई कसले उपचार गराउला ? बरु छोरीको साटो म आफैं जानुपर्ने रै'छ । म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ ।'

उहाँहरूकी जेठी छोरी सुनमतीको विवाह भइसकेको रहेछ । एक छोरा र दुई छोरी साथमा छन् । छोरा विकास कक्षा १२, छोरीहरू सुनिता र मनमाई कक्षा २ मा पढ्छन् । बन्धकीमा कमाउँदै आएको खेतसमेत बाढीले बगाएको छ । साथमा केही मकैबाहेक अन्य नभएको कृष्णाको भनाइ छ । दाजु र छोरीको शव दिनभर खोजी गर्दा पनि नभेटिएको भाइ शम्भु तामाङले जानकारी दिनुभयो ।

सोही वडाको लहरेनीमा माछापालन गर्दै आउनुभएका ५८ वर्षीया देवीकुमारी केसीको घर पनि बाढीले बगाएको छ । बाढीले देवीकुमारीसँगै गेलु घर भएका ५६ वर्षीय वासुदेव कार्कीलाई बगाएको छ । वासुदेवको शव फेला परेको रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो । श्रीमान्ले कान्छी भित्र्याएपछि देवीकुमारी छुट्टिएर खोला किनारामा घर बनाएर बस्दै आउनुभएको थियो । उहाँको घरको निशानासमेत छैन । देवीकुमारी सात वर्षअघि सो स्थानमा घर बनाएर बस्न थालेको श्रीमान् इन्द्रले जानकारी दिनुभयो । बाढीले ६ रोपनी खेतसमेत बगाएको उहाँले बताउनुभयो । वासुदेव चार दिनअघि गेलुबाट रोपाइँका लागि सो ठाउँमा झर्नुभएको थियो ।

सोही वडाको गोकुलगंगा र लिखुको सिमानामा रहेको छतिउने गाउँमा बाढी पस्दा एक जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७२ वर्षीया बालकुमारी खत्री रहेको स्थानीय टंक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घरनजिकै रहेको छतिउनी खोला पुलमा थुनिएर बस्तीमा बाढी पस्दा चार घरमा क्षति पुर्‍याउनुका साथै एक घर बगाएको छ । बालकुमारीको शव घरनजिकै भेटिएको हो । दुई छोराकी आमा बालकुमारी बुहारीसँगै बस्दै आउनुभएको थियो ।

उहाँका बुहारी कुमारी र नातिनीहरू भगवती, सुन्तली, लक्ष्मी र प्रमिसा घाइते हुनुहुन्छ । कुमारीसहित दुई जनालाई बिहान ६ बजेतिर पुरिएको अवस्थामा खनेर उद्धार गरिएको स्थानीय भरत खत्रीले जानकारी दिनुभयो । शनिबार राति धेरै ठूलो पानी परेकाले माथिल्लो गाउँबाट पहिरोसहितको बाढी आएपछि पुलमा रूखले खोला थुनेपछि बाढी बस्तीतिर मोडिएको देखिन्छ । बाढीले करिब ७० रोपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ ।

घाइतेको उपचार ट्रमा सेन्टरमा

बाढीमा परी घाइते भएका नौ जनाको उपचार राजधानीको ट्रमा सेन्टरमा भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको रामेछापका प्रहरी नायव उपरीक्षक ढुंगेलले जानकारी दिनुभयो । घाइतेमा कुमार खत्री, भगवती खत्री, राधा खत्री, प्रनिसा खत्री, लक्ष्मी खत्री, रुद्र गुरुङ, सुन्तली खत्री, विशाल थापा र बालिका प्रमिसा खत्री हुनुहुन्छ ।

बेपत्ता तीन जनाको खोजी कार्य भइरहे पनि पानीको सतह नघटेकाले समस्या भएको उहाँले बताउनुभयो । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी लागिपरेका छन् । नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुग्न नसकेपछि श्री एयरलाइन्सको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरिएको थियो ।

'भूकम्प आएजसरी जमिन थर्कियो'

-चन्द्रबहादुर सुनुवार, प्रत्यक्षदर्शी

पानी परिरहेको थियो । दिनभर सडकको काम गरेर थकाइ लागेकाले होला हामी खाना खानेबित्तिकै निदायौं । हामी २० जना पुलनजिकै बस्दै आएका थियौं । राति ११ बजेतिर भूकम्प आएजसरी जमिन थर्कियो । हामी सबै तर्सियौं, बाहिर निस्केर हेर्दा पहाड नै थर्काएर बाढी आएकाले हामी केही ओढ्ने लुुगा लिई आत्तिँदैै सबैलाई उठाएर सुरक्षित स्थान खोज्दै भागेर बाच्यौं ।

केही समय मात्र त्यहाँ बसेको भए सबैलाई बगाउने रै'छ । हामी भाग्दासमेत पुल राम्रै थियो, केही साथीहरुले पुलमा बसौं भने तर हामीले मानेनौं । वारिको बस्तीमा हामी गयौं, बस्तीमा गएको केही समयभित्रै बाढीले पुल बगायो । बस्तीमा बाढी पस्यो, साथमै रहेको साथी विशाललाई बाढीले बगायो । हामी धेरै आत्तिएर बस्तीभन्दा माथिको पाखोमा पानीमा भिजेरै बस्यौं । बस्तीमा धेरै मान्छे चिच्याइरहेका थिए । हामी त्यहाँ जान सक्ने अवस्था थिएन । राति १ बजेतिर केही मात्रामा बाढी कम भएपछि हामी साथीलाई खोज्न लाग्यौं । घाइते अवस्थामा उद्धार गर्‍यौं । खोला फेरि बढेको आभास भयो । हामी पाखोमा गयौं । घाइते साथीलाई उपचारका लागि अस्पताल लैजान सक्ने अवस्थामै थिएनौं ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.