विमान खरिद प्रक्रियामा शंका

विमान खरिद प्रक्रियामा शंका

काठमाडौं : नेपाल वायुसेवा निगमले २६ सेप्टेम्बर २०१६ मा दुईवटा वाइड बडी जहाज (३३०-२२०) खरिदका लागि बोलपत्र आह्वान गर्‍यो, तर सेकेन्ड ह्यान्ड । निगमले बढीमा एक हजार घन्टा उडान गरेको, जनवरी २०१४ भन्दा पुरानो हुन नहुने, अधिकतम ‘टेक अफ वेट' (उड्ने बेला हुने तौल) दुई लाख ४२ हजार किलो हुनपर्ने सर्त राखेको थियो । बोलपत्रमा सहभागी कम्पनी अन्तर्राष्ट्रिय स्टक मार्केटमा सूचीकृत हुनुपर्ने, विमानको स्वामित्व प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी कम्पनीकै हुनुपर्ने सर्त थियो । विमान डेलिभरीको समय सेप्टेम्बर २०१७ र मार्च २०१८ भनिएको थियो ।

निगमले किन सेकेन्ड ह्यान्ड विमान किन्न लाग्यो भनेर शंका उब्जिएका थिए । सेकेन्ड ह्यान्ड किन्दा बिचौलियामार्फत बढी कमिसनको लोभमा यस्तो गर्न थालिएको अड्कल काटिएको थियो । नयाँ विमान सोझै उत्पादक (एयरबस)सँग किन्न दबाब पर्ने, यसो गर्दा कमिसन कम पाइने भएकाले लगभग नयाँ सेकेन्ड ह्यान्ड विमान किन्ने तयारी गरिएको आरोप लाग्यो । उक्त बोलपत्रमा १० कम्पनीले सहभागिता जनाए । एएआर (अमेरिका), जर्मन एभिएसन क्यापिटल (जर्मनी) र हाई फ्लाई ट्रान्सपोर्ट (पोर्चुगल) को कन्सोर्टियम उपयुक्त ठहर्‍याइयो । तर बोलपत्रमा भनिएअनुसार विमान आएन । निगमले त्यही कन्सोर्टियमसँग नयाँ विमान किन्ने प्रक्रिया अघि बढायो ।

विमान खरिदबारे अख्तियार, संसदीय समितिमा प्रश्न उठाइएको छ । ‘सार्वजनिक खरिद ऐनका कारण विमान सीधै कम्पनीसँग खरिद गर्न सक्ने अवस्था थिएन', निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘चाँडै दुईवटा विमान थप्नकै लागि सेकेन्ड ह्यान्ड विमान भए पनि हुने भनेर बोलपत्र गरिएको थियो ।' एयरबससँग सम्पर्क गर्दा उसले २०१८ अघि विमान डेलिभरी गर्न नसक्ने जवाफ दियो । ‘हामी हतारमा थियौं, यसैले सेकेन्ड ह्यान्ड भए पनि विमान ल्याइहालौं भनेर बोलपत्र गरियो', उनी भन्छन्, ‘उचित मूल्यमै नयाँ विमान पाउने अवस्था भएकाले नयाँ विमान ल्याउने प्रक्रिया सुरु गरिएको हो ।' उनका अनुसार बोलपत्रमा एक हजार घन्टासम्म उडेको जहाज दिने गरी सस्तोमा प्रस्ताव आएको भए सेकेन्ड ह्यान्ड जहाज नै खरिद गर्नुपर्ने अवस्था हुन्थ्यो ।

तर, बोलपत्रमा नयाँ जहाज फेरि सबैले भन्दा सस्तोमा दिने गरी प्रस्ताव आएपछि खरिद प्रक्रिया अगाडि बढेको कंसाकारले बताए । खरिद प्रक्रियामा शंका गर्नेले चाहिँ पहिले सेकेन्ड ह्यान्ड विमानको बोलपत्र गरी त्यही प्रक्रियामा छनोट भएका कन्सोर्टियममार्फत नयाँ विमान ल्याउने सम्झौतामै कैफियत देखेका छन्।

जहाज उपलब्ध गराउने भन्दै प्रस्ताव पेस गर्ने एएआरबाहेक अन्य कम्पनीको प्रस्तावमा भने नेपाली लोकल एजेन्ट थिए । उनीहरूले खरिदको काम नपाएपछि विवादास्पद बनाउन खोजेको कंसाकारको आरोप छ । एएआरको उच्च पदमा नेपाली मूलका ब्रिटिस नागरिक दीपक शर्मा पनि कार्यरत छन्, उनले कन्सोर्टियमसँग छलफलमा प्रतिनिधित्व पनि गरेका थिए ।

‘शर्मालाई नै एजेन्ट भनेर पनि भनियो', उनी थप्छन्, ‘तर उनी मासिक ७० हजार डलरजति तलब खाने अधिकारी हुन् ।' एएआरमा कुनै लोकल एजेन्ट रहेको ठहर भए कम्पनी खारेजीसँगै शर्माको पनि जागिर जाने व्यवस्था रहेको उनले बताए । निगमले नाम चलेका तीनवटा कम्पनीको कन्सोर्टियमसँग सहमति गरे पनि तेस्रो कम्पनीसँग खरिद सम्झौता गरेपछि आशंका गर्ने थपिएका छन् ।

हामी हतारमा थियौं, यसैेले सेकेन्ड ह्यान्ड भए पनि विमान ल्याइहालौं भनेर बोलपत्र गरियो । उचित मूल्यमै नयाँ विमान पाउने अवस्था भएकाले नयाँ विमान ल्याउने प्रक्रिया सुरु गरेका हौं । तर सस्तो मूल्यमा पुरानै जहाज दिने प्रस्ताव आएको भए त्यही किन्ने थियौं । सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेवानि

निगमले आयरल्यान्डमा दर्ता भएको हाई फ्लाई एक्ससँग सम्झौता गरेको छ । उसैको नाममा आठ अर्ब रुपैयाँ बैना पठाइएको छ । हाई फ्लाई एक्स निगमले विमान किन्ने सहमति गरिसकेपछि बल्ल आयरल्यान्डमा २१ फेब्रुअरी २०१७ मा आयरल्यान्डमा दर्ता भएको थियो । यो १ डलरको अफसोर कम्पनी हो । कन्सोर्टियमले नै आफ्नो सुविधाका लागि आयरल्यान्डमा कम्पनी दर्ता गरेको र त्यसलाई उसले बोलपत्रमै उल्लेख गरेको कंसाकार बताउँछन् । टेन्डर आफ्नो पक्षमा भए चौथो कम्पनी खोल्ने उल्लेख गरेका थिए । सोहीअनुरूप उनीहरूले एसपीभी (स्पेसल प्रपोज भेहिकल) नामको संस्था एक पाउन्ड डलरमा खोलेको र त्यहीमार्फत निगमले पहिलो किस्ता रकम पठाएको हो । अब बाँकी रकम जहाज नेपाल आएपछि पठाउने कंसाकारले बताए ।

‘हो, निगमलाई विमान आपूर्ति गर्नकै लागि त्यो कम्पनी दर्ता भएको हो', उनी भन्छन्, ‘विमान काठमाडौंमा अवतरण गरेपछि त्यो कम्पनी बन्द हुन्छ ।' कन्सोर्टियमले कर आदिको सुविधाकै लागि आयरल्यान्डमा त्यो कम्पनी दर्ता गरेको कंसाकार लुकाउँदैनन् । तर त्यसले निगमलाई विमान आपूर्ति गर्नेमा कुनै समस्या खडा नगर्ने उनको दाबी छ । निर्धारित समयमै विमान काठमाडौं अवतरण हुनेमा उनी ढुक्क छन् । उनका अनुसार बोलपत्रमा मेक्सिमम टेकअफ वेट उल्लेख भएकै थिएन, सम्झौता हुँदा निगमले दुई लाख ३० हजार किलोलाई उचित ठहर गर्दै सम्झौता गरेको हो ।

पुरानो विमान खरिद गर्ने बोलपत्रमा पनि ‘प्राइस स्कालेसन'को प्रावधान राख्नुले पहिलो बोलपत्र देखाउन मात्र थियो भन्ने पनि छन् । सेकेन्ड ह्यान्ड विमान त मोल मिलेपछि पैसा दिएर अवतरण गराइहाल्ने हो, किन प्राइस स्कालेसनको प्रावधान भन्ने अख्तियार आदिमा परेको उजुरीमा उल्लेख छ । एएआरसँग निगमले विमान अवतरण हुँदासम्म बढीमा प्रतिथान एक सय नौ मिलियन डलर मात्रै तिर्ने सर्त भएको कंसाकार बताउँछन् । फेरि अहिले नै प्राइस स्कालेसनमा मूल्य बढी हुन्छ भन्न सकिन्न । कहिलेकाहीँ कम हुन पनि सक्ने उनको भनाइ छ ।

विभिन्न उजुरीमा शंका गरिएको अर्को हाई फ्लाई एक्सले एयर बससँग विमान अर्डर गरेकै छैन, यसकारण निगमको पैसा जोखिममा छ भन्ने पनि छ । विमान अहिले फ्रान्सको टुलुस सहरमा बनिरहेको र निरीक्षणमा जाने तयारीमा रहेको कंसाकार बताउँछन् । जहाजको उत्पादन मोडल नम्बर १८७२ र १८७८ हो । विमान निर्माण भइरहेको समयमा शंका गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ ।

निगमले भुक्तानी ढिलो गरे आपूर्तिकर्तालाई ०.८ प्रतिशतका दरले ब्याज तिर्नपर्ने प्रावधान भए पनि आपूर्तिकर्ताले विमान निर्धारित समयमा डेलिभरी गर्न नसके के गर्ने भन्ने उल्लेख नहुनुलाई पनि खरिद प्रक्रिया नरुचाएकाले शंका गरेका छन् । जहाज समयमै डेलिभरी नभएको अवस्थाका सम्झौतामा एएआरसँग पनि पेनाल्टी रकम लिने प्रावाधन रहेको कंसाकारको दाबी छ । ‘हामीले समयमै रकम भुक्तानी गर्न नसकेको अवस्था पनि थय ब्याज तिर्ने उल्लेख भएको सत्य हो', उनले भने ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.