युवालाई स्वदेशमा नै रोजगारी दिन वाइसिएलको माग
काठमाडौँ नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिइल नेपालले युवालाई स्वदेशमा नै रोजगारीको प्रबन्ध गर्नुपर्नेमा जोड दिएको छ ।
वाइसिएलको आइतबार सम्पन्न दोस्रो महाधिवेशनले आर्थिक समृद्धिका लागि स्वदेशमा नै रोजगारी, सीपमूलक शिक्षा तथा अधिकारसम्पन्न युवा आयोग गठनलगायत राजनीतिक प्रतिवेदन पारित गरिएको नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
वाइसिएलले संविधानको मर्मअनुसार नै आगामी माघ ७ गतेभित्रै संघ र प्रदेशको निर्वाचन गराउन, राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न तथा स्वदेशी श्रम र सीपको नै प्रयोग गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको छ ।
महाधिवेशनले सापकोटाको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा लालेन्द्र मण्डल, सुमन देवकोटा, गंगा कार्की, विरु तामाङ, रतन सिंह र यशोदा न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा सुबोधराज शेर्पाली, सचिवमा गणेश शाही, पूर्ण भुजेल, ज्ञानेन्द्रबहादुर गुरुङ, दिवस पाण्डे, विनय थापा, रञ्जित अधिकारी, सुवित ढुंगाना, मञ्जु बम, विष्णु महत, गोगनबहादुर मल्ल, सियाराम कुसहवा, नवराज ढुंगाना, केयरसिंह कुँवर, उमेश घोरासैनी, राजकुमार विक, अरुण घिसिङ, धिरण शेर्पाली र प्रकाश पाण्डे निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा मिङ्मा डण्डु शेर्पा निर्वाचित भएका छन् । रासस