नाफा कमाउने नाममा नुनदेखि सुनसम्म ठगी

नाफा कमाउने नाममा नुनदेखि सुनसम्म ठगी

मंगलसेन : उपभोक्ताको स्वास्थ्यजस्तो गम्भीर विषयमा खेलबाड गर्दै व्यापारीले म्याद नाघेका खाद्यवस्तु पनि बिक्री गर्ने गरेको पाइएको छ। जिल्ला सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्र साँफेबगर, जयगढ, विनायक, कमलबजारलगायत व्यापारीबाट उपभोक्ता व्यापक रूपमा ठगिने गरेको पाइएको हो।

व्यापारीले मसलादेखि मदिरासम्म म्याद गुज्रिएका सामग्री बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन्। जिल्ला अनुगमन समितिले गरेको बजार अनुगमनका क्रममा व्यापारीले दिन महिना मात्र होइन, वर्षौंअघि म्याद गुज्रिएका खाद्यवस्तु पनि बिक्रीका लागि राखेको पाइएको हो।

 

दैनिक खानामा प्रयोग हुने मसलादेखि मदिरासम्म म्याद नाघेको भेटिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले जानकारी दिए। ‘यतिसम्म कि २०६९ सालमै म्याद सकिएको (अफिसर च्वाइस ब्रान्ड) मदिरासमेत बिक्रीवितरणका लागि पसलमा सजाएर राखिएको पाइयो’, काउचाले भने, ‘कतिपयले फर्म नै दर्ता नगरी मदिरालगायत खुद्रा व्यापार गरिरहेका पनि भेटियो।’ काउचाले उपभोक्ताले किन्ने हरेक वस्तुमा ठगी भइरहेको बताए।

अनुगमन समितिले साँफेबगरबाट मात्र एक गाडी म्याद गुज्रिएको (अखाद्य) सामग्री बरामद गरी नष्ट गरेको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच पेटी मदिरासहित, खैनी, मिट मसला, दालमोठ, अचार, सुर्ती, जिरा सेन्चुरी, सनपापडी मिठाइ, चिउरा, भुजा, पापड, बिस्कुट, लोसन आदि अखाद्य सामग्री भेटिएको हो। यस्तै ७० केजी भानु नुन, पाँचवटा ढक तराजु र तीनवटा सुन तौलिने डिजिटल तराजु भने मुचुल्का बनाई प्रशासनमा राखिएको छ। उक्त सामान गुणस्तर तथा नापतौल विभाग र साल्ट ट्रेनिङ कर्पोरेसनसँग समन्वय गरी जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। यसअघि जिल्ला सदरमुकाम मंगलसेनमा गरिएको बजार अनुगमनका क्रममा तीन गाडी म्याद गुज्रिएका खाद्यपदार्थ बरामद गरी नष्ट गरिएको थियो।

व्यापारीले सबैभन्दा बढी ढक तराजुमार्फत उपभोक्तालाई ठग्ने गरेका छन्। वर्षौं पहिलेदेखि प्रयोग भइरहेका ढकतराजुमार्फत तौलमा कमी गरी सामान बिक्री गर्ने गरेको अनुगमन समितिको भनाइ छ। खिया लागेका प्रयोग नै गर्न नमिल्ने खालका ढक तराजु प्रयोग गरेर उपभोक्ता ठगिने गरेका छन्। समितिले साँफेबगरबाट मात्रै पाँचवटा ढक तराजु जफत गरेको छ भने प्रयोग गर्नै नमिल्ने तीनवटा सुन तौलिने डिजिटल काटा जफत गरेको छ।

सुन तौलिन प्रयोग हुने डिजिटल काटामा व्यवसायीले बढी बदमासी गर्ने गरेको पाइएको छ। गुणस्तर तथा नापतौल विभागले प्रमाणित नगरेका डिजिटल तराजुबाट दैनिक उपभोक्ता ठगिने गरेका हुन्। नापतौलमा ठगी गर्नेमा सबैभन्दा बढी मंगलसेन र साँफेबगरका व्यापारी छन्। सुनचाँदी, खाद्यान्न तथा किराना पसलमा यस्ता खाले बदमासी बढी हुने गरेको अनुगमनकर्ताले बताएका छन्। व्यापारीले डिजिटल काटाबाट पनि केही ग्राम तलमाथि गर्दै सुनमासमेत उपभोक्तालाई व्यापक ठग्ने गरेको सहायक प्रजिअ काउचाले बताए।

यस्तै उपभोक्ता ठगी गर्ने व्यापारीलाई गुणस्तर तथा नापतौल विभागले मुद्दासमेत चलाएको छ। साँफेबगर र मंगलसेन बजारका १३ जना व्यापारी उपभोक्ता ठगीको अभियोगमा विभागबाट मुद्दा खेपिरहेका छन् भने यसअघि ढक तराजुमा तलमाथि गर्ने मंगलसेनका ११ जना व्यापारीलाई पनी कारबाही गरिसकिएको छ। जिल्ला प्रशासन कार्यालयमा अहिले एक व्यापारी अखाद्य वस्तु बिक्री गरेर उपभोक्ता ठगेको मुद्दामा मुद्दा खेपिरहेका बजार अनुगमन समितिले जनाएको छ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.