बन्दीपुरका होटेलमा ३० करोड लगानी थपियो

बन्दीपुरका होटेलमा ३० करोड लगानी थपियो

बन्दीपुर : तनहुँको पर्यटकीय नगरी बन्दीपुरका होटल व्यवसायमा ३० करोड रुपैयाँ लगानी थपिएको छ। यस नगरमा फस्टाउँदो पर्यटन व्यवसायमा अहिले लगानीसमेत बढिरहेको छ।

 

स्वदेशमात्र नभएर विदेशी पर्यटकमाझ प्रसिद्ध बन्दीपुर बजार सांस्कृतिक ग्रामीण पर्यटनका दृष्टिले महत्वपूर्ण छ। पृथ्वी राजमार्गबाट करिब १५ मिनेटको सहज यातायात पहुँचबाट पुग्न सकिने बन्दीपुरमा पछिल्लो समय होटल थपिने क्रम बढेको छ। यसले बजारमा चहलपहल बढाउन थालेको छ।

पुरानो मौलिक भवनमा लगानीकर्ताको रुचि

पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले बन्दीपुरमा पछिल्लो एक वर्षभित्रमा उल्लेख्य मात्रामा लगानी भित्रिएको बताए। ‘पर्यटकको रुचि बढेका कारण यहाँ पुराना शैलीमा भवन बनाउने र होटल चलाउने क्रम बढेको छ', गुरुङ आफैलेसमेत झण्डै दुई करोड लागतमा यसै वर्षबाट सेवा थाल्ने गरी होटल बनाइरहेका छन्। बजारमा ठूला लगानीका मात्र झण्डै पाँच नयाँ होटल यसै वर्ष सञ्चालनमा आउँदैछन्। प्राचीन नेवारी संस्कृतिका कारण धनी बन्दीपुर बजारमा भक्तपुरे शैलीका नेवारी घर विदेशी पर्यटकको विशेष रुचिमा परेकाले पुराना भवनको मर्मत तथा नयाँ भवनको निर्माणमा लगानी विस्तार भएको गुरुङले बताए।

आधुनिक भवनमा प्रतिबन्ध

साँघुर बजार बाहेक आसपासका क्षेत्रमा समेत लगानी वृद्धि भैरहेको छ। बन्दीपुर बजार साँघुरो बन्दै जान थालेपछि अहिले आसपासका क्षेत्रमासमेत ‘मिनी बन्दीपुर'को अवधारणामा काम भैरहेको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए। गाउँपालिकाले बजारको पहिचान मेटिन नदिनका लागि पुराना शैलीमै मात्र घर बनाउनुपर्ने नियम बसालेको छ। गाउँपालिकाले मौलिकता नभएका भवनको जाँचपास समेत नदिने नीति लिएर बजारको पहिचान जोगाउन लागेको पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले बताए। ‘बन्दीपुरको पहिचान जोगाउन सकिए मात्र पर्यटकको संख्यालाई अझ विस्तार गर्न सकिन्छ', उनले भने। गाउँपालिकाले तीन तलाभन्दा अग्लो भवन बनाउन समेत नदिने नीति लिएको छ।

विश्व सम्पदा सूचीमा पर्ने प्रसंग बेला बेलामा चल्ने बन्दीपुर बजार हल्लाखल्ला र कोलाहलमुक्त छ। बजारमा सवारीसाधनको प्रवेश बर्जित रहेको बन्दीपुर साँच्चिकै सफा र मनमोहक छ।

पूर्वाधार विकासको तयारी

बन्दीपुरको विशेषता सांस्कृतिक त छ नै ऐतिहासिक हिसाबले समेत महत्वपूर्ण छ। प्राचीन सेनवंशीय राजाको प्रिय सहर बन्दीपुरबाट देखिने प्राकृतिक दृश्यावलीसमेत धेरैका लागि मनमोहक छ। यस ठाउँको प्रचार प्रसारका कारण पछिल्लो समय पर्यटक आउने क्रम बढेको छ। ‘यहाँको पर्यटनमा आशालाग्दो अवस्था छ', बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरु भन्छन्।

पर्यटनबाटै आफूलाई जोगाउन सफल पुरानो बन्दीपुर बजार क्षेत्रसँगै अहिले आसपासमासमेत पर्यटकीय पूर्वाधार विकासको काम भैरहेको छ। कृत्रिम तालदेखि भ्यु टावर र केबलकारसम्मका अवधारणाबारे काम भैरहेको बन्दीपुर गाउँपालिकाको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.