भेरी–बबई डाइभर्सन सुरुङ मेसिनले खन्ने

भेरी–बबई डाइभर्सन सुरुङ मेसिनले खन्ने

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) आइपुगेको छ । चीनबाट आयातीत यो मेसिन दुई महिना लगाएर निर्माणस्थलमा ल्याइएको हो । यससँगै अब आयोजनाको पहिलो र महत्वपूर्ण मानिएको सुरुङ निर्माणको कामले गति लिनेछ ।

हालसम्म मजदुरबाट डेढ सय मिटर सुरुङ खनिएको छ । सुरुङको बाँकी भाग अब मेसिनले नै खन्नेछ । भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सिमानामा रहेको बबईमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले यो आयोजनाको काम सुरु भएको हो । चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर लामो सुरुङ खनेर भेरीको पानी बबईमा खसाल्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ ।

 

मेसिनसहितको ५५ कन्टेनर सामान आयोजना निर्माणस्थलमा आइसकेको छ । मेसिनको मुख्य भाग पनि बुधबार बिहान आयोजनास्थलमा पुगेको छ । पाँचवटा ट्रकमा लोड भएको उक्त सामान ढुवानीका लागि मंगलबार रातिदेखि बुधबार बिहानसम्म रत्नराजमार्गअन्तर्गत कोहलपुरबाट बबईसम्मको खण्डमा अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । मेसिनको भार धेरै भएको र सडकको क्षमता कमजोर भएकाले मेसिनको ढुवानीमा असर नहोस् भनेर अन्य सवारी साधनलाई रोक लगाइएको हो । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार बुधबार बिहान मेसिनको मुख्य भाग पनि निर्माणस्थलमा पुगेको हो ।

सुरुङ निर्माणस्थलमा टीबीएम मेसिन स्थापनाका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । मुलुकमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गर्न लागिएको हो । ‘आयोजनाको मुख्य काम नै सुरुङ निर्माण हो', आयोजना प्रमुख बस्नेतले भने, ‘त्यसका लागि सबै पूर्वाधार तयार पारेका छौं । अब मेसिन पनि आइपुग्यो, यो जडान हुन कम्तीमा दुई महिना समय लाग्नेछ ।'

उनका अनुसार मेसिन जडानका लागि इटलीबाट प्राविधिक आउनेछन् । आउँदो मंसिर पहिलो सातादेखि मात्र मेसिनबाट काम सुरु हुनेछ । ‘मेसिनले मंसिरदेखि खन्ने काम गर्नेछ, सुरुङ निर्माणको काम अबको दुई वर्षभित्र सम्पन्न हुनेछ', उनले भने, ‘सुरुङ निर्माणपछि मात्र अन्य काम हुनेछन्, तब मात्र आयोजनामा विद्युत् उत्पादन र सिँचाइको काम हुनेछ ।'

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने लक्ष्य छ । बबईमा खसालेको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । त्यस्तै, बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ उपलब्ध गराइनेछ ।

आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने अनि तेस्रो चरणमा मात्र भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजना रहेको जानकारी दिए । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक)बीच आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको यो आयोजनामा १७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

यो आयोजनाको २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । शिलान्यासपछि आयोजना निर्माणको काम चलिरहेको छ । तर, मेसिन आउन समय लागेपछि सुरुङ निर्माणको काम रोकिएको थियो । अब सुरुङ निर्माणको गति बढ्ने र यो काम सकिनेबित्तिकै ड्याम र विद्युत्गृह पनि तयार हुने आयोजनाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.